बिहीबार बिहान रूपन्देहीको तिलोत्तमास्थित दुर्गादत्त क्याम्पसमा पुग्दा लक्ष्मी परियार १२ दिनको छोरा काखमा लिएर दुध चुसाउँदै थिइन्।
तीन र चार वर्षका दुई छोरी पनि उनीसँगै बसेर बिस्कुट खाँदै थिए। उनका श्रीमान मनोज खाजा लिने लाइनमा उभिएका थिए।
तेल मालिस गरेर घरमा आराम गर्नुपर्ने बेला लक्ष्मीको शरीरमा तेल नपरेको पाँच दिन भइसक्यो।
आराम र पोषिलो आहार नपाएर होला कटकटी फुटेका ओठले उनको शारिरीक अवस्थालाई प्रष्ट देखाउँथ्यो।
लक्ष्मी रूपन्देहीको तिलोत्तमा-४ मा जन्मिइन्। भर्खर १२ वर्ष पुग्दै थिइन् तिलोत्तमा कान्छीबजारका मनोजसँग विवाह भयो। मनोज त्यतिबेला २६ वर्षका थिए।
विवाह गरेपछि १२ वर्षकी लक्ष्मी र २६ वर्षका मनोजले मेची-महाकालीको सीमाभित्र अडेर जीवन गुजार्न सकेनन्। बरू नजिकैको दशगजा नाघेर भारत पसे।
सयौं किलोमिटर टाढाको नयाँदिल्ली पुगे। त्यहाँ मनोज कम्पनीमा काम गर्थे लक्ष्मी कोठाको व्यवहार सम्हाल्थिन्।
कोरोना संक्रमण नियन्त्रणका लागि भारत सरकारले लक डाउन गरेपछि मनोजले काम गर्ने कम्पनी बन्द भयो। साहुले तीन महिनासम्म कम्पनी नखुल्ने र त्यसपछि पनि कहिले खुल्ने भन्न नसकिने भन्दै सबै कामदारलाई घर पठाइदिए।
साहुले मनोजलाई घर जाऊ भन्नु केही दिनअघिमात्रै लक्ष्मीले छोरा जन्माएकी थिइन्।
कम्पनी बन्द भएपछि साना दुई छोरी र नवजात शिशुसहितकी सुत्केरी स्याहार्न दिल्लीको साँघुरो कोठामा मनोजलाई सजिलो थिएन।
दुबै देशमा लक डाउन भएका बेला उनीहरूले नेपाल आउने निधो गरे।
दिल्लीमा अलपत्र परेका नेपाली सुनौलीसम्म ल्याउन भारतले बसको व्यवस्था गरिरहेको थियो। छोरी बोकेर सुत्केरी श्रीमती डोर्याउँदै मनोज बस चढे।
बसमा डेढ दिनको यात्रापछि चैत १८ गते उनीहरू नेपाल-भारत सीमानाका बेलहिया आइपुगे।
त्यतिन्जेल नेपाल-भारत दुबैतर्फका नाकामा थप कडाइ गरिँदै थियो। नेपालतर्फ रहेका भारतीय मजदुरलाई नेपाल र भारततर्फ रहेका नेपालीलाई भारत सरकारले क्वारेन्टाइनमा राखी व्यवस्थापन गर्ने सहमति भइसकेको थियो। उनीहरू नाकामै थुनिए।
मनोज र लक्ष्मीसँगै बेलहिया नाकामा झन्डै तीन सय नेपाली थुनिएका थिए। तर उनीहरूको भन्दा लक्ष्मी र मनोजको समस्या फरक थियो।
तातो र पोषिलो खाना खाएर सुतेर आराम गर्नुपर्ने लक्ष्मी नौतनवास्थित भारतीय क्वारेन्टाइनमा पुर्याइन्।
१५ किलोमिटर सीमावारि मनोज र लक्ष्मीको घर थियो। तर उनीहरू भारतीय क्वारेन्टाइनमा राखिएका थिए।
१० दिनको सुत्केरी सीमामा अलपत्र परेको र स्थानीय प्रशासनले उद्धार नगरेको भन्दै चौतर्फी आलोचना भयो।
बुधबार साँझ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको समन्वयमा तिलोत्तमा नगरपालिकाले लक्ष्मी र मनोजको परिवारलाई उद्धार गरी शंकरनगरमा रहेको क्वारेन्टाइनमा पुर्यायो।
आफ्नै देशको माटोमा बनेको क्वारेन्टाइन त उनीहरूलाई घरैजस्तो लाग्यो।
‘आपतमा परेको बेला भारतीय भूमिमा बस्नुभन्दा नेपाली भूमिमै आउन पाएकोमा खुसी लागेको छ,’ मनोजले भने।
हिन्दु संस्कारअनुसार बुधबार लक्ष्मीको छोराको न्वारन गर्नु पर्ने थियो। तर न त छोराको न्वारन भयो न त नामाकरण।
‘आफ्नै न्वारन भइसक्ने बेला भएको थियो कहाँबाट छोराको न्वारन गर्न पाउनु, अब जहिले घरमै पुगिन्छ त्यतिबेलै नामाकरण गरिदिने हो,’ मनोजले भने।
उक्त क्वारेन्टाइनमा मनोजको परिवारसहित ३४ जना बस्दै आएका छन्। मनोज र लक्ष्मीलाई भने क्वारेन्टाइनमा अलग्गै व्यवस्था गरिएको छ।
‘सुत्केरी अवस्थामा हुँदा धेरै व्यक्तिले प्रयोग गरेको शौचालय प्रयोग गर्दा पनि संक्रमण होला भनेर अलग्गै कोठामा छुट्टै शौचालय प्रयोग गर्ने गरी व्यवस्था मिलाएका छौं,’ क्वारेन्टाइन इन्चार्ज हेल्थ असिस्टेन्ट कृष्णचन्द्र नेपालीले भने।
क्वारेन्टाइनमा रहेका सबैजनाको खानाको व्यवस्थासमेत नगरपालिका आफैंले मिलाएको छ।
नगरपालिकाको आर्थिक सहयोगमा जनजागृति युवा क्लबले दैनिक दुई पटक खाना र दुई पटक खाजाको व्यवस्थापन गर्दै आएको छ।
वडा नम्बर २ का अध्यक्ष दधिराम गौतमका अनुसार लक्ष्मीको लागि खानाको व्यवस्था भने छुट्टै गरिएको छ।
चैत्र १२ गतेदेखि सञ्चालनमा आएको क्वारेन्टाइनबाट तीन जना घर फर्किसकेका छन्। तिलोत्तमा नगरक्षेत्रमा प्रवेश गरेपछि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने तिलोत्तमा नगरपालिकाले निर्णय गरेको छ। लक्ष्मी र मनोज पनि अझै १३ दिन क्वारेन्टाइनमा बस्ने छन्।