रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गीयाका नारायण उपाध्याय अचेल एम्बुलेन्स चढेर हप्ताको दुईपटक बुटवल आउने जाने गर्छन्। मिर्गाैलामा खराबी आएपछि उनले डाइलाइसिस गराउन थालेको तीन वर्ष पुग्यो।
मुर्गीया बुटवलदेखि १५ किलोमिटरको दुरीमा पर्छ। लकडाउन घोषणाअघि उनी सार्वजनिक बस चढेर डाइलाइसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल आउने गर्थे।
अचानक कुनै समस्या आएमा परिवार वा छरछिमेकीको गाडी वा मोटरसाइकलमा उनलाई अस्पतालसम्म पुर्याउने गरिन्थ्यो। तर हाल भने उनको सहारा एम्बुलेन्स भएको छ।
उनी हरेक हप्ता मंगलबार र शुक्रबार डाइलाइसिसको लागि अस्पताल आउने गर्छन्। एम्बुलेन्सले आउँदा जाँदा एक— एक हजार रुपैयाँ भाडा लिन्छ। सरकारले डाइलाइसिस निशुल्क गरेपनि एम्बुलेन्स भाडाको लागि उनले हप्ताको चार हजार रुपैयाँ जुटाउनुपर्छ।
त्यति हुँदा पनि एम्बुलेन्स चालक भने उनीप्रति सशंकित बन्छन्। एम्बुलेन्स चढ्नुअघि ज्वरो, रुघाखोकी छ कि भनेर सोधपुछ गर्छन्।
एम्बुलेन्स चालकलाई आफू मिर्गौलाको विरामी भनेर बुझाउनै कठिन हुने गरेको नारायण बताउँछन्। मंगलबार विहान १० बजे अस्पताल आउनका लागि उनले सोमबार साँझ नै एम्बुलेन्स बुक गरेका थिए।
‘अस्पताल आइसकेपछि त खासै समस्या छैन तर अस्पताल आउन नै गाह्रो भयो’ उनले भने ‘एकपटक डाइलाइसिस गर्न छोड्यो भने हातखुट्टा फुलिन्छन्, श्वास फेर्न गाह्रो हुन्छ, गाडी नचल्दा हामीजस्ता विरामीलाई साह्रै समस्या भयो।’
यसअघि सार्वजनिक बस चढेर आउने रुपन्देही रुद्रपुरकी पवित्रा क्षेत्री पनि दुई सातादेखि एम्बुलेन्स चढेर अस्पताल जाने आउने गरेकी छिन्। दुई वर्षदेखि डाइलाइसिस गराउँदै आएकी क्षेत्रीलाई पनि मंगलबार र शुक्रबार गरी हप्तामा २ पटक एम्बुलेन्स बोलाउनुपर्छ।
कपिलवस्तु बाणगंगा नगरपालिका कोपवाकी रामकुमारी गिरी एक साता एम्बुलेन्समै घरबाट अस्पताल आउने जाने गरिन्। कपिलवस्तुबाट हप्ताको दुईपटक आउने जाने गर्दा एम्बुलेन्समै हप्ताको दश बाह्र हजार खर्च भयो। एम्बुलेन्स खर्च धान्न नसकेपछि पछिल्लो एक सातादेखि छोरा गोपालसँगै अस्पतालमा बसेर डाइलाइसिस गराउँदै आएकी छिन्।
बस्ने सुत्ने अस्पतालमै गरे पनि होटल रेष्टुरेन्टहरु बन्द हुँदा खानाको समस्या हुने गरेको छ। ‘अहिलेसम्म त अस्पताल बाहिर रहेको क्यान्टिनबाट खाना ल्याउने गरेको छु, तर विरामीका आफन्त भनेपछि कतै अरु संक्रमण छ कि भनेर क्यान्टिनवाला पनि शसंकित हुने गर्छन्’ गोपालले भने।
चैत ११ गतेदेखिको लकडाउनका कारण सार्वजनिक तथा निजी कुनैपनि यातायात नचल्दा डाइलाइसिस गर्ने विरामी सबैभन्दा बढी मारमा परेका छन्।
डाइलाइसिसका लागि नियमित अस्पतालमै पुग्नुपर्छ। जसले गर्दा विरामीहरु कि त एम्बुलेन्स चढेर अस्पताल पुग्ने गरेका छन् भने केही अस्पतालको नजिकै कोठा भाडामा लिएर बस्ने गरेका छन्।
नवलपरासी सर्दीकी वीरकुमारी खाम्चा लकडाउन भएसँगै बुटवल रामनगरमा कोठा लिएर बस्न थालेकी छन्। फागुन देखि मिर्गाैलामा समस्या देखिएपछि ३९ वर्षीया खाम्चाले हप्ताको दुईपटक डाइलाइसिस गराउँदै आएकी छिन्।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विरामीलाई सहज होस् भनी विगत दुईवर्षदेखि नवलपरासीको बर्दघाटसम्म दैनिक निशुल्क बस सेवा संचालन गर्दै आएको छ। अस्पतालमा एउटा मात्र बस हुँदा बर्दघाटदेखि पुर्व र रुपन्देहीको भैरहवा तथा बुटवल पश्चिमका विरामीले यो सेवा पाउन सकेका छैनन्।
हालपनि बर्दघाटबाट दैनिक ३० देखि ४५ जना विरामीलाई बसले निशुल्क सेवा दिँदै आएको छ। लकडाउनपछि डाइलाइसिसका विरामीहरुलाई प्राथमिकता दिएर ल्याउने गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष एजाज आलमले लकडाउनको अवधि थपिएकाले पालो मिलाएर भएपनि पश्चिमका विरामीहरुलाई समेत बस सेवा दिने सोंच बनाएको बताए।
बुटवल, पाल्पा र दाङको लमही गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मार्फत ४० वटा मेसिनमार्फत ३ सय ५० जना विरामीहरुको नियमित डाइलाइसिस हुँदै आएको छ। एउटा मेसिनबाट २४ घण्टामा तीन जना विरामीको डाइलाइसिस हुँदै आएको छ।
हाल प्रदेश ५ मा करिब ६ सय ५० जना नियमित डाइलाइसिस गराउनुपर्ने विरामी छन्। आधाभन्दा धेरैको डाइलाइसिस गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले गर्दै आएको छ।
नेपालगञ्ज मेडिकल कलेजमा ५९, भेरी अस्पतालमा १४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९, राप्ती प्रादेशिक अस्पतालमा २१, युनिर्भसल मेडिकल कलेजमा ७१, क्रिमसन अस्पतालमा ३७, सिद्धार्थनगर सिटी अस्पतालमा ४६, पाल्पा मेडिकल कलेजमा १७ र लुम्बिनी प्रादेशिक अस्पतालमा २० जना विरामीको नियमित डाइलाइसिस हुँदै आएको छ।
तर अधिकांश अस्पतालहरुमा यातायातको व्यवस्था नहुँदा र लक डाउनका कारण सार्वजनिक यातायात बन्द हुँदा यस्ता विरामी प्रत्यक्ष मारमा परेका छन्।