सोमबार कपिलवस्तुमा थप भएका कोरोनाका संक्रमित सबै पछिल्लो दशदिनको बीचमा भारतबाट आएको पाइएको छ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार संक्रमित सबै भारतको महाराष्ट्रबाट लुकिछिपी नेपाल आएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका बुद्धभूमि नगरपालिका र यशोधरा गाउँपालिकाका १० जनामा सोमबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
तीमध्ये यशोधरा गाउँपालिका-५ कामात्रै ८ जना छन्। भारतबाट लुकिछिपी सीमा पार गरेका उनीहरू घरमा आएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो।
गाउँपालिकास्थित अनिरुद्र मावि बैदौली र पशुपती शिक्षा मन्दिर सुठौलीमा बनाइएको क्वारेन्टाइनमा रहेका उनीहरूको चार दिनअघि स्वाब संकलन गरी परीक्षणको लागि लगिएको गाउँपालिकाले जनाएको छ।
स्वाब संकलन गर्दा उनीहरूसँगै क्वारेन्टाइनमा ६२ जना रहेकोमा त्यसयता संख्या थप भएको छ।
यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले सीमाबाट लुकिछिपी आउने क्रम नरोकिएका कारण कपिलवस्तु कोरोनाको अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताए।
दैनिक भारतका विभिन्न स्थानमा रहेकाहरू नेपाल आइरहेका छन्।
बुद्धभूमी नगरपालिकाका ७ र १० वडामा पनि एक/एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। उनीहरू गोरुसिंगेस्थित बुद्धभूमिको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका थिए। संक्रमण पुष्टि भएका सबै पुरूष हुन्।
उनीहरू १८, १९,२४, ३०, ३१ वर्षका एक/एक जना तथा २० र ३४ वर्षका दुई/दुई जना छन्। एकजनाको भने उमेर खुलेको छैन। आज १० जना थपिएसँगै कपिलवस्तुमा कोरोनाभाइरस संक्रमितको संख्या १५ पुगेको छ।
यसअघि मायादेवी गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
बुद्धभूमि र यशोधराका तीनवटा क्वारेन्टाइनमा रहेका २ सय ९९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा ९९ जनाको स्वाव परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ पाइएको हो।
बाँकी २ सय जनाको स्वाव परीक्षण बाँकी रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। संक्रमण देखिएका दशै जनालाई बुटवलस्थित कोरोना अस्पतालमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए।