सोमबार मात्रै एकैदिन प्रदेश ५ मा २३ जना नयाँ कोरोनाका संक्रमित थपिए। तीमध्ये २२ जना पछिल्लो एक डेढ हप्ताको अवधिमा भारतबाट फर्किएका हुन्।
भारतको मुम्बईबाट लुकेर गाउँ फर्किएकाहरूलाई स्थानीयको सहयोगमा क्वारेन्टाइनमा राखेपछि उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सम्बन्धित पालिकाले जनाएका छन्।
सोमबार साँझ संक्रमण पुष्टि भएका १३ जनामध्ये रुपन्देहीका ६, कपिलवस्तुका ६ र बर्दियाकी एक बालिका छिन्। रुपन्देहीका ६ जनामध्ये समरमाई गाउँपालिका वडा नं. १ र ४ का दुई/दुई जना रहेका छन्।
गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लाले संक्रमित चारै जना नौ/दश दिन पहिले भारतको मुम्बईबाट गाउँ फर्किएको जानकारी दिए।
उनीहरू गाउँ फर्किएपछि वडा नं. ७ स्थित भैसागान मदरसामा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका थिए। उनीहरूसँगै उक्त क्वारेन्टाइनमा रहेका ३० जनाको स्वाब संकलन गरी परीक्षणको लागि लगिएको अध्यक्ष शुक्लाले जानकारी दिए।
भारतमा रहेकाहरू गाउँ फर्किने क्रम बढेपछि गाउँपालिकामा सोमबार ७ वटा क्वारेन्टाइन थप गरिएका छन्। अध्यक्ष शुक्लाले प्रत्येक क्वारेन्टाइनमा ५ देखि २० जनासम्म व्यक्तिहरू रहेको जानकारी दिए।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्बिनी साँस्कृतिक नगरपालिकाका दुई जनामा संक्रमण भएको पुष्टि गरे पनि उनीहरू कति नं. वडाका हुन् भन्ने खुलेको छैन।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीका अनुसार स्वास्थ्य मन्त्रालयले लुम्बिनी साँस्कृतिक नगरपालिकाका दुई जनालाई कोरोना संक्रमण पुष्टि गरे पनि कति नं. वडाका हुन् भन्ने बुझ्दै गरेको बताए।
नगरपालिकाले लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउस र लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन बनाएको छ। कुन क्वारेन्टाइनमा रहेकालाई संक्रमण पुष्टि भएको हो भन्ने बुझ्ने प्रयास गरिरहेको रेग्मीले बताए।
श्रीलंकलन गेष्ट हाउसमा रहेको क्वारेन्टाइनमा ७८ र विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा ४३ जना व्यक्तिहरू रहेका छन्। त्यसैगरी सोमबार नगरपालिकाका विभिन्न विद्यालयहरूमा क्वारेन्टाइन स्थापना गरी थप १ सय ३० जनालाई राखिएको रेग्मीले जानकारी दिए।
त्यस्तै, सोमबार साँझ संक्रमण पुष्टि भएका कपिलवस्तुका ६ जनामध्ये यशोधरा गाउँपालिकाका वडा नं. ४ र बुद्धभूमि नगरपालिका वडा नं. ७ का दुई जना रहेका छन्। उनीहरू पनि भारतबाटै आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
सोमबार बिहानमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित सबै १५ वर्षदेखि ४० वर्ष उमेरका छन्।
त्यसैगरी बर्दियाको राजापुर नगरपालिका वडा नंं ५ की ११ वर्षीय बालिकामा पनि सोमबार संक्रमण पुष्टि भएको छ। उनी केही दिन पहिले हजुरआमासँग कैलालीबाट राजापुर आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
हालसम्म प्रदेश-५ मा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा संक्रमण देखिएको हो।
भारतीय सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरूलाई नियन्त्रण गर्न नसक्दा प्रदेश नं. ५ कोरोना संक्रमणको सबभन्दा जोखिमपूर्ण अवस्थामा पुगेको छ। सरकारले लकडाउन गरे पनि प्रदेश ५ का तराईका जिल्लामा दैनिकजसो सयौ व्यक्ति रातको समयमा लुकेर नेपाल आउने गरेका छन्।
पछिल्लो तीन दिनयता सीमा नाकाबाट ११ सयको हाराहारीमा लुकिछिपी कपिलवस्तुमा प्रवेश गरेको प्रदेशसभा सदस्य विष्णु पन्थीको दाबी छ। तर आजसम्म कपिलवस्तुमा ८ सय ८१ जनामात्रै क्वारेन्टाइनमा रहेका छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अझै करिब दुई हजार व्यक्ति कपिलवस्तुको दशगजा क्षेत्रमा रहेका छन्। दिनभरि दशगजा क्षेत्रमा बसेकाहरू रातको समयमा खोला र जंगलको बाटो हुँदै लुकेर सीमावारि आउने गरेको स्थानीय बताउँछन्।
यस्तै, रुपन्देहीको सीमाक्षेत्रमा पनि करिब १२ सय व्यक्ति रहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। उनीहरू क्वारेन्टाइनमै रहे पनि भारतमा गाडी चल्न थालेपछि दैनिक करिब ६ सय व्यक्ति सीमा क्षेत्रमा आउने गरेको पन्थले बताए।
जिल्लामा रहेका क्वारेन्टाइनको क्षमताभन्दा बढी व्यक्ति भारतबाट एकैपटक भित्रिँदा व्यवस्थापन गर्न समेत समस्या हुने गरेको छ। साथै, बाहिरबाट आएकाहरू सिधै क्वारेन्टाइनमा जाने र घरमै पनि सुरक्षित रूपमा बस्ने भन्दा टोल छिमेक तथा गाउँघरमा डुलिरहँदा संक्रमणको जोखिम बढेको हो।
प्रदेश ५ का १२ वटा जिल्लामा १३ हजार २ सय २३ जना क्षमताका क्वारेन्टाइन बेड रहेका छन्। ती क्वारेन्टाइनमा हालसम्म ५ हजार ३ सय ५१ जना व्यक्ति रहेको प्रदेश ५ को स्वास्थ्य मन्त्रालयले जनाएको छ ।