शुक्रबार प्रदेश ५ को बाँकेमा पुष्टि भएका ८ जना कोरोना संक्रमित सबैजना ७ देखि १० दिनअघि भारतबाट नेपाल आएको खुलेको छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले उनीहरु सबै भारतबाट ७/१० दिन अगाडि नेपाल आएको बताए।
उनीहरु नेपाल प्रवेश गरेपछि गाउँपालिकाले तयार गरेको २ वटा क्वारेन्टाइनमा राखिएको थियो।
शुक्रबार विहान बाँकेमा ८ जनामा कोरोना पुष्टि भएसँगै प्रदेश नं. ५ मा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ।
१ सय २ जना मध्ये रुपन्देहीको कोटहीमाईका १ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन्।
शुक्रबार बाँके नरैनापुर गाउँपलिका वडा नं. १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै बाँकेमा कुल संक्रमितको संख्या ३३ पुगेको छ।
प्रदेश नं. ५ मा कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै रुपन्देहीमा २८ छन् भने बर्दिया र नवलपरासीमा १-१ जना संक्रमित रहेका छन्।
संक्रमितमध्ये बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ जनालाई राखिएको छ। यस्तै भैरहवा स्थित भिम अस्पतालमा १९ जनाको उपचार भइरहेको छ।
त्यस्तै बाँके नेपालगञ्ज स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। परासी अस्पतालमा १ र कपिलवस्तु जिल्ला अस्पतालमा १ जनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानाकारी दिए।
शुक्रबार थप भएका बाँकेका संक्रमितबारे भने अझै केही टुंगो लागेको छैन्। हाल रहेका अस्पतालहरुमा बेड नभएकाले उनीहरुलाई दाङ लैजाने सम्भावना रहेको उनले बताएका छन्।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् वैठकले पनि बाँके र रुपन्देहीमा रहेका आइसोलेसन अस्पतालहरुमा बेड खाली नभएकोले दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा लैजाने निर्णय गरेको थियो ।
यसअघि बर्दियाकी ११ वर्षिय संक्रमित बालिकालाई दाङ ल्याउन नदिएपछि बाँके लगिएको थियो।