भारतसँग सीमाना जोडिएको भू-भाग धेरै रहेको प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको छ।
वैशाख १९ गते रूपन्देही र बाँकेमा एकेक जनामा कोरोना संक्रमण देखिएको थियो।
सुरूमा रूपन्देही कोटहीमाइ गाउँपालिका वडा नम्बर १ पुर्नीहवाका २५ वर्षीय युवक र बाँके नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय शिक्षकमा कोरोना देखिएको थियो।
उनीहरू निको भएर घर फर्किसकेका छन्। यसअविधमा प्रदेश नम्बर ५ मा कोरोना संक्रमित संख्या वृद्धि भइरहेको छ।
नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४३ प्रतिशत प्रदेश नम्बर ५ का हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म देशभर ५ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ती मध्ये २ सय ३७ जना प्रदेश ५ का मात्रै रहेका छन्।
प्रदेशमा पनि तराईका जिल्ला संक्रमणको उच्चजोखिममा छ।
यस प्रदेशभित्रका जिल्ला बाँकेमा १ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा ७७, रुपन्देहीमा ३७, पश्चिम नवलपरासीमा ६, दाङमा ५ र बर्दियामा दुई जना संक्रमित छन्।
१२ वटा जिल्ला रहेको प्रदेश नम्बर ५ मा पर्ने तराई क्षेत्रका ६ वटै जिल्लामा संक्रमितको संख्या वृद्धि भइरहेको छ।
पहाडी जिल्ला गुल्मीका एक संक्रमितको बिहीबार रुपन्देहीमा मृत्यु भयो।
बाँकेमा पनि एकजना क्वारेन्टाईनमै रहेको बेला मृत्यु भएको थियो।
देशभर कोरोनाको कारण अहिलेसम्म तीन जनाको मृत्यु भएकोमा दुई जना प्रदेश ५ का हुन्।
शनिवार बिहान ३२ जना नयाँ संक्रमित थपिएकोमा त्यसको आधा संख्या प्रदेश ५ का कपिलवस्तु र रुपन्देहीका १६ जना हुन्।
उद्योग धन्दा, व्यवसाय र सीमा नाका बन्द भए पनि भारतमा रहेका नेपाली स्वदेश आइरहेका छन्।
सीमा नाकामा दुवैतर्फ सिल गरिए पनि खुल्ला सिमानाका कारण दैनिक सयौं नेपाली रातका बेला लुकिछिपी स्वदेश प्रवेश गर्छन्।
मुख्य नाकामा सिल गरिएको भएपनि अहिलेसम्मका संक्रमित हेर्दा खुल्ला सीमानाको फाइदा उठाउँदै खेत र खोला खोल्सी तरेर रातमा नेपाल प्रवेश गरेको देखिन्छ।
प्रदेश ५ बाट मात्रै वैधानिक बाटो भएर झण्डै साढे दुई लाख नेपाली भारतबाट नेपाल आएको तथ्यांक छ।
लकडाउन घोषणा भएपछि पनि लुकिछिपी रुपमा ३० देखि ४० हजार जनासम्म नेपाली भित्रिएको हुनसक्ने प्रदेश स्वास्थ्य निर्देशनालयको अनुमान छ।
लुकिछिपी गाउँ भित्रिएकामध्ये केहीलाई स्थानीयको पहलमा सम्बन्धित पालिकाले क्वारेन्टाइनमा राखेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालायका निर्देशक डाक्टर विनोद गिरी प्रदेश ५ का विभिन्न जिल्लाका क्वारेन्टाइनमा शनिवार बिहानसम्म १९ हजार १ सय ३७ जना रहेको बताउँछन्।
भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसी घरमा जाँदा संक्रमण हुनेको संख्या वृद्धि भइरहेको उनले बताए।
नेपालका मुख्य सिमानाका मध्ये बेलहिया, कृष्णनगर, रुपेडियालगायतका महत्वपूर्ण र ठूला नाका प्रदेश ५ मै छन्।
लकडाउनको समयमा ठूला नाका बन्द गरिए पनि साना र खुल्ला सीमा नाका कारण दैनिक सयौं व्यक्ति सजिलै नेपाल प्रवेश गरेका छन्।
प्रदेश ५ मा धेरै संक्रमित भेटिनुमा यसरी आएका व्यक्ति नै कारण रहेको निर्देशक गिरीले बताए।
भारतबाट आएका व्यक्ति राखिएका क्वारेन्टाइनबाट पनि संक्रमण फैलिन सघाएको गिरीले बताए।
तर भारतबाट आएका र क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुपातमा परिक्षणको दायरा भने बढ्न सकेको छैन।
तर निर्देशक गिरी भने परिक्षणको दायरा बढ्न नसकेको मान्दैनन्। गिरीका अनुसार हालसम्म प्रदेश ५ मा १३ हजार २ सय ६७ आरडिटि परिक्षण गरिएको छ भने पिसिआर परिक्षणको संख्या ८ हजार ३ सय ८२ रहेको छ।
पिसिआर विधिबाट परिक्षणको लागि संक्रलित १९ सय स्वाव परिक्षण गर्न बाँकी छ।
संकलितमध्ये २१ सय ७० स्वाब परीक्षणको लागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएकोमा १८ सय ५४ को रिपोर्ट आइसकेको छ भने २ सय ५० स्वाबको रिपोर्ट आउन बाँकी छ।
प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा ५ सय ४९, भेरी प्रयोगशालामा ३ सय ८ र राप्ती प्रयोगशालमा ८ सय ८६ जनाको स्वाव संकलन गरिएकोमा ति स्वाबको रिपोर्ट आउन बाँकी छ।
स्वाबको रिपोर्ट आइसक्दा प्रदेश ५ मा अझै डेढदेखि दुई सयसम्म संक्रमित थपिन सक्ने गिरीले अनुमान गरेका छन्।