कपिलवस्तुको यशोधराका उनी शनिबार कोरोना संक्रमण जितेर घर जाँदै थिए। १३ दिन लामो आइसोलेसनको बसाइँपछि घर फर्किने दिन आउँदा उनको खुसीको सीमा थिएन।
आइसोलेसन अस्पतालका चिकित्सकले शनिबार ढिलो गरी उनलाई कोरोना संक्रमणमुक्त भएकोले घर पठाउन लागेको जानकारी दिएका थिए।
अस्पताल आएपछि दुई पटकसम्म गरिएका स्वाब परीक्षण रिपोर्ट कोरोना नेगेटिभ आएपछि चिकित्सक र स्वास्थ्यकर्मीले शनिबार अबेर घर पठाउँदै छौं भन्दा उनको खुसीको सीमा रहेन।
आइसोलेसन अस्पतालबाट डिस्चार्जको प्रक्रिया पूरा गर्दा रातिको आठ बज्यो। अस्पताल आउँदा ल्याएका लुगाफाटो झोलामा पोको पारे। उनीसँगै उनकै गाउँका थप दुई जना पनि कोरोना जितेर घर जाँदै थिए भने छिमेकी गाउँपालिकाका अरु ७ जना पनि कोरोनामुक्त भएका थिए।
उनी अर्थात् कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ बैदौलीका नजि बुल्ला।
मजदूरी गर्न भारतको मुम्बई पुगेका उनी कोरोनाको महामारीका कारण जारी लकडाउनकै बीचमा गाउँ फर्किएका थिए।
मुम्बईबाट कतै गाडी चढेर त कतै पैदल हिँडेर सीमानाका पुगेका उनी रातिको समयमा लुकेर गाउँ छिरे।
कोरोना महामारी पछिको लकडाउनकै बीचमा भए पनि लामो यात्रा गरी गाउँ पुग्दा उनी खुसी थिए। घरपरिवार तथा गाउँटोलका सबै मुस्लिम बस्तीमा केही दिन भएको थियो रमजान चलिरहेको। बालबालिकादेखि वृद्धवृद्धासम्म रोजा मनाइरहेका थिए।
भारतबाट लुकेर गाउँ आए पनि उनी घर पुग्न पाएनन्, घरमा रोजा बस्न पाएनन्। घरमा ५ छोराछोरी र श्रीमती पर्खिरहेका थिए।
स्थानीयले भारतबाट आएका व्यक्तिहरू गाउँमा पुगेको थाहा पाएपछि गाउँपालिकाले बनाएको क्वारेन्टिनमा पुर्याए।
कोरोनाको उच्च जोखिमयुक्त सहर मुम्बईमा रहेका नजिको क्वारेन्टिन पुगेपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भयो। आठ दिनको क्वारेन्टिन बसाइँपछि उनलाई वैशाख २९ गते कोरोना विशेष आइसोलेसन अस्पताल बुटवल ल्याइएको थियो।
कपिलवस्तुमा आइसोलेसन अस्पताल अभाव भएपछि रुपन्देहीको बुटवल धागो कारखानामा निर्माण गरिएको आइसोलेसनमा उनीसहित ३६ जनालाई राखिएको थियो।
यही बीचमा उनीसहित १० जना संक्रमणमुक्त भएर घर जाँदै थिए। घर पुगेपछि गर्नुपर्ने सावधानी, खानपान र सामाजिक दूरी कायम गर्न सुझाव दिँदै स्वास्थ्यकर्मीहरूले शनिबार राति ८ बजेतिर बिदाई गरे।
बुटवल उपमहानगरपालिकाको अगुवाइमा निर्माण गरिएको कोरोना अस्पतालबाट लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा ल्याएर छोडिएको थियो।
नजिसँगै कपिलवस्तुकै मायादेवी गाउँपालिकाका ४ जना, यशोधरा गाउँपालिकाका ३ जना कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १/१ जना थिए।
लुम्बिनी प्रादेशिक अस्पतालबाट मायादेवीका ४ र शुद्धोधनका एक जना शनिबार राति नै घर फर्किए पनि उनीसहित अरु चार जना भने रातभरि अस्पतालकै परिसरमै बस्न बाध्य भए।
साँझ सात बजे नै धागो कारखाना आइसोलेसनमा खाना खाई घर जान आएका उनीहरू रातभरि घर जाने आशामा अस्पताल परिसरमा बिताएका उनीहरू घर पुग्दा आइतबार १२ बजेको थियो।
‘अस्पतालबाट घर पुर्याउन व्यवस्था गर्ने भनेका थिए, तर त्यहाँ ल्याएर त्यसै छोडेर गए’, उनले भने।
एउटै जिल्लाका भए पनि मायादेवी गाउँपालिकाले एम्बुलेन्स पठाएर लगे पनि आफूहरू रातभरि खुला आकाशमुनि बस्नुपरेको उनले गुनासो गरे।
अहिले प्रदेशस्तरमा स्थापना गरिएका कोरोना विशेष अस्पतालहरूको जिम्मेवारी प्रदेश सरकारको रहेको छ। त्यसमा पनि सामाजिक विकास मन्त्रालय यसमा थप जिम्मेवार छ। तर उनीहरूलाई न त सामाजिक विकास मन्त्रालयले घर पुर्याइदियो, न त गाउँपालिका नै लिन आयो।
कोरोना जितेका अन्यत्रका व्यक्तिहरूलाई पुष्पगुच्छाले अस्पतालबाट बिदाई गर्दा गाउँघरमा स्वागतको लागि द्वार बनाइएका थिए।
आइतबार मध्यान्ह नजि घरमा पुग्दा श्रीमती कलामुन ईद- उल-फितरको तयारीमा व्यस्त थिइन्।
ईद-उल-फितरको चाँदको पर्खाइमा रहेको नजिको परिवारमा भने दिउँसै चाँद भित्रिएको थियो।