विगतका वर्षजस्तै यस वर्ष पनि अस्पतालका नर्स तथा चिकित्सकहरुले बिहान अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएका थिए।
अरु वर्षजस्तो र्याली, अन्तरक्रियाजस्ता कार्यक्रम भएनन्। अस्पतालभित्रै शुभकामना आदानप्रदान गरी हिमाली (परिवर्तित नाम) दिउँसो घर फर्किएकी थिइन्।
दिउँसो २ बजेतिर उनको मोबाइलमा फोन आयो, ‘तपाईंको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, आइसोलेसनमा जानुपर्यो।’
सुरुमा उनलाई पत्यार लागेन, कोरोनाको उनमा कुनै लक्षण देखिएको थिएन।
कोरोना संक्रमणको महामारी शुरु भएदेखि नै कपिलवस्तु पनि उच्च जोखिममा देखिएको थियो।
दैनिक रुपमा सयौंको संख्यामा भारतमा रहेका नेपालीहरु लुकिछिपी गाउँ आइरहेका थिए। उनीहरुकै माध्यमबाट गाउँमै रहेकामा संक्रमण बढ्ने खतरा उत्तिकै थियो।
हिमाली आफै स्वास्थ्यकर्मी भएकोले संक्रमण नहोस् भन्नेमा सचेत र सतर्क थिइन्। तर जे नहोस् भनेको, त्यही भयो। उनी कोरोना संक्रमित भइन्।
कोरोनाका संक्रमित धेरै देखिएका कपिलवस्तु, बाँके, रुपन्देही लगायत जिल्लाबाट वैशाख २७ गते धेरै नमुना स्वाब संकलन गरिएको थियो।
भारतको सीमासँग जोडिएको सहर भएको र अस्पतालमा कार्यरत अरु स्वास्थ्यकर्मीसँगै हिमालीको पनि स्वाव संकलन गरिएको थियो। त्यसको तीन दिनपछि वैशाख ३० गते आएको रिपोर्टमा अस्पतालबाट उनी मात्र संक्रमित भएको पुष्टि भयो।
‘रिपोर्ट पोजेटिभ आए पनि छिट्टै कोरोना जितेर घर फर्किन्छु भन्ने ममा आत्मविश्वास थियो’ उनले भनिन्। घरमा बुवाआमा र भाइलाई निको भएर छिट्टै घरमा आउँछु भन्दै वैशाख ३० गते नै जिल्ला अस्पतालकै आइसोलेसनमा गएकी थिइन्।
बिहान विरामीलाई उपचार सेवा दिन साेही अस्पतालमा तल्लीन हिमाली साँझ आफैं सेवा लिन गएकी थिइन्।
कुनै क्वारेन्टाइन तथा संक्रमितको सम्पर्कमा नगएको र अस्पतालमा समेत त्यस्ता बिरामी नआएकोले कसरी संक्रमित भएँ भन्नेमा उनी अझैपनि अचम्मित छिन्।
नेपालमा पहिलो स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको भन्ने समाचार सुन्दा र पढ्दा सुरुमा मनमा भय र त्रास भए पनि एक दुई दिनमै सबै सामान्य बन्दै गएको उनले बताइन्।
वैशाख २७ गतेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ आएपनि जेठ १ गते र ४ गतेको रिर्पोट नै नेगेटिभ आइसकेको थियो। पाेजेटिभ रिपाेर्ट आएकाे चार दिनपछि नै नेगेटिभ रिपाेर्ट आए पनि उनी एक साता अस्पतालमै बसिन्।
कोरोना संक्रमण देखिएको भए पनि उनमा बिरामीको कुनै लक्षण थिएन। त्यसैले उनले कुनै औषधि सेवन नगरी संक्रमणमुक्त भएर सोमबार घर फर्किएकी हुन्।
‘आइसोलेसनमा रहँदा नियमित प्रोटिनयुक्त खानेकुरा खाएँ, तराईको गर्मी मौसम भए पनि तातोपानी प्रशस्त खाएँ’ उनले सेतोपाटीसँग भनिन् ‘खानपानमा ध्यान दिँदा र मनोबल उच्च बनाएकै कारण निको भएर छिट्टै घर फर्किएकी छु।’
कोरोना जितेर घर फर्किए पनि उनले एक हप्तासम्म होम क्वारेन्टाइनमै बसेर सामाजिक दुरी कायम गर्नुपर्ने छ। चिकित्सकले सरसफाइ र खानपिनमा ध्यान दिन र एकहप्ता घरमै बस्न सुझाव दिएका छन्।
‘एकहप्ता घरमै अलग्गै बस्छु, त्यसपछि नियमित ड्युटीमा फर्किन्छु’ उनले भनिन्।
नेपालमा मात्र होइन विश्वभर त्रास फैलिएको कोरोना जित्न सकारात्मक सोंचसँगै खानपिन र सरसफाइमा ध्यान दिन उनको आग्रह छ।
‘सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने, प्रोटिनयुक्त खाना खाने, सकारात्मक सोंच राख्न सकियो भने संक्रमण भएपनि सजिलै जित्न सकिन्छ’ उनले भनिन्।
बिरामीमा कुनै लक्षण देखिएको छैन भने कोरोना संक्रमण हुँदैमा नआत्तिन उनले संक्रमितहरुलाई आग्रह गरिन्।