गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको गत जेठ ८ गते रुपन्देहीको क्रिमसन अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भयो।
संघीय सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि छुट्टै कार्यविधि बनाएको छ। सोअनुसार जेठ ९ गते मध्यान्न १ बजेतिर शव व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले जिल्लामा रहेका शव वाहनका चालकहरूको सूची हेर्दै फोन गर्न थाले।
शिक्षकको मृत्यु भएको क्रिमसन अस्पताल बुटवलनजिकै रहेकोले अधिकृत थापाले पहिलो फोन बुटवलमा रहेको हरिकला घिमिरे स्मृति प्रतिष्ठानको शव वाहनका चालकलाई गरे।
चालक अर्जुन लामिछानेले फोन उठाए पनि आफू बुटवलमा नरहेको जानकारी गराए। शव वाहनसहित बुटवलमै रहेका चालक लामिछानेले पश्चिमबाट आउँदै गरेको र दाङको भालुवाङ आइपुगेकोले बुटवल आउन अझै २ घण्टा लाग्ने भन्दै ढाँटे।
शव वाहनसहित बुटवलमा रहेका चालक लामिछानेको कुरा अधिकृत थापाले सजिलै पत्याए। उनलाई जसरी पनि शिक्षकको शव व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी थियो। अरू शव वाहनका चालकलाई सम्पर्क गरी आफ्नो जिम्मेवारीअनुसारको काम सम्पन्न गरे।
जिल्ला जनस्वास्थ्य कार्यालयमा शव वाहनको रूपमा दर्ता रहे पनि लामिछानेले त्यसलाई एम्बुलेन्स बनाइसकेका थिए। शव वाहनलाई एम्बुलेन्स बनाएको पोल खुल्ने भएपछि उनले बुटवलमै रहे पनि भालुवाङ रहेको झुठ बोलेका थिए।
प्रशासकीय अधिकृत थापा भन्छन् ‘जतिसक्दो छिटो मृतकको शव व्यवस्थापन गर्नुपर्ने जिम्मेवारीका कारण त्यसको भेरिफाई गर्नतिर लागिएन, यसरी ठगे होला भन्नेतर्फ सोचिएन।’
यसरी सुरू भयो एम्बुलेन्स र शव वाहनको व्यवसाय
बुटवलमा कार्यालय रहेको स्व.हरिकला घिमिरे प्रतिष्ठानले २०७४ साल माघ २ गते एकैपटक एम्बुलेन्स र शव वाहन सञ्चालनका लागि स्वीकृति लिएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको प्रस्तावमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र तत्कालीन जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारलगायतको समितिले उक्त संस्थालाई शव वाहन र एम्बुलेन्स सञ्चालन गर्ने अनुमति एकै दिन दिएको थियो।
गैरनाफामुखी उद्देश्य राखेर दर्ता भएको उक्त संस्था सञ्चालकहरूको भित्री उद्देश्य भने सेवाका नाममा भन्सार छुट लिएर आर्थिक आर्जन गर्ने मनसाय राखेको देखिन्छ।
समितिले उक्त संस्थालाई टाटा कम्पनीको एक थान हार्डटप विंगर भ्यान एम्बुलेन्स र एक थान टाटा सुमो गाडी शव वाहन ल्याउन पाउनेगरी भन्सार छुटको व्यवस्था मिलाइदिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो।
समितिको सोही सिफारिसको आधारमा दुइटा सवारी साधन ल्याइएको थियो। भन्सार छुटमा ल्याएका दुवै सवारी साधन करिव १ वर्ष सिफारिस भएअनुसारकै सेवामा सञ्चालन गरिए पनि पछिल्लो समय भने शव वाहनलाई पनि एम्बुलेन्स बनाएर सञ्चालन गर्ने गरिएको छ।
अहिले उक्त संस्थाले शव वाहनको स्वीकृति पाएको टाटा सुमोलाई एम्बुलेन्स लेखेर सञ्चालन गर्ने गरेको छ। कुनैपनि एउटै संस्थाले दुईवटा एम्बुलेन्स सञ्चालन गर्न नपाउने नियम छ।
उक्त प्रतिष्ठानको विधानमा शव वाहन सञ्चालनको उद्देश्य नराखिए पनि शव वाहनका लागि सिफारिस मागिनु पछाडिको उद्देश्य पनि पछि एम्बुलेन्स बनाएर सञ्चालन गर्ने थियो भन्ने पुष्टि भएको छ।
उक्त प्रतिष्ठानले सञ्चालन गर्दै आएको लु २ च ३४०० नम्बरको टाटा सुमोलाई तीन/चार महिनाअघि सम्म शव वाहनको रूपमा सञ्चालन गरिएकोमा कोरोनाको विश्वव्यापी महामारी फैलिन थालेसँगै चैत ६ गते आसपास पुनः एम्बुलेन्समा परिणत गरेको देखिन्छ।
शव वाहनलाई एकातर्फ आफूखुसी चलाउन नपाइने र अर्कोतर्फ कोरोनाका कारण निधन भएकाहरुको शव बोक्नुपर्ने भएपछि एम्बुलेन्सको रूपमा परिवर्तन गरिएको अन्य एम्बुलेन्स चालक बताउँछन्।
शव वाहनको नाममा सिफारिस गरी भन्सार छुटमा भित्र्याएको उक्त टाटा सुमोलाई प्रतिष्ठानले अहिले एम्बुलेन्स लेखेर निर्वाध रूपमा चलाइरहेको छ। नियमनकारी निकाय कमजोर र मौन बसिदिँदा सार्वजनिक सेवाका नाममा राज्यले छुट दिएर ल्याएका सवारी साधन नै आम्दानी गर्ने धन्दामा लाग्ने गरेको देखिन्छ।
रुपन्देहीमा रहेका अन्य संघसंस्थाले समेत एम्बुलेन्सको गैरकानुनी खरिद बिक्री र शव वाहनलाई एम्बुलेन्समा परिवर्तन गर्ने गरेका छन्।
परिवारका सदस्य मिलेर संस्था बनाउँदै, एम्बुलेन्स ल्याउँदै
हरिकला घिमिरे स्मृति प्रतिष्ठानका पदाधिकारीहरुले एम्बुलेन्सबाट आयआर्जन गरेर धन कमाउने सजिलो सपना देखेको देखिन्छ। पहिलो पटक २०७३ साल माघ १७ गते दर्ता प्रक्रियामा गएको हेल्थ क्लव अफ लुम्बिनी नामक संस्थापछि उनीहरूले स्व. हरिकला स्मृति प्रतिष्ठानका रूपमा गठन गरे।
हेल्थ क्लब अफ लुम्बिनीले पनि २०७३ सालमै टाटा कम्पनीको सुमो गाडी भन्सार छुटमा खरिद गरेर एम्बुलेन्स चलाउँदै आएको छ।
एउटै गाडीमा १० लाख भन्दा बढी छुट हुने र निर्वाध सञ्चालन गर्न पाउने भएपछि संस्था गठन गरेर एम्बुलेन्सकै कारोबारमा लाग्ने गरेको देखिन्छ।
हरिकला घिमिरे स्मृति प्रतिष्ठान र हेल्थ क्लब अफ लुम्बिनी दुवै संस्थाका पदाधिकारी र सदस्यहरु एउटै परिवार र आफन्त रहेका छन्। हेल्थ क्लव अफ लुम्बिनीको अध्यक्ष रहेका अर्जुन लामिछाने हरिकला स्मृति प्रतिष्ठानको सचिव छन्।
त्यस्तै हेल्थ क्लव अफ लुम्बिनीका सचिव मेघनाथ घिमिरे भने हरिकला घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष छन्। घिमिरे र लामिछाने नातामा ससुरा ज्वाइँ हुन्। अन्य पदाधिकारी र सदस्य पनि दुबैतर्फ मिलाएर राखिएको छ।
लुु २ च ७७७ नम्बर एम्बुलेन्स चलाउँदै आएको हेल्थ क्लव अफ लुम्बिनीले पुनः २०७६ कात्तिक महिनामा टाटा कम्पनीको हार्डटप विंगर गाडीलाई एम्वुलेन्सका रुपमा भन्सार छुटका लागि सिफारिस लिएको जनस्वास्थ्य कार्यालय स्रोतले बताएको छ।
हेल्थ क्लव अफ लुम्बिनीका सचिव अर्जुन लामिछानेले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सबै प्रक्रिया सकिएको र मन्त्रालयमा फाइल पेश गरिसकेपछि लकडाउन सुरू भएकोले मन्त्रालयबाट प्रक्रिया टुंगो लगाउन नपाएको बताए।
गाडी अभाव भएकाले एउटै गाडीलाई कहिले एम्बुलेन्स त कहिले शव वाहन बनाउनु परेको उनको भनाइ छ।
शव वाहनलाई एम्बुलेन्स बनाएको कुरा जिल्ला स्वास्थ्य र जिल्ला प्रशासन कार्यालयलाई जानकारी नभएको उनको स्वीकारे।
‘जिल्ला एम्बुलेन्स चालक समितिलाई थाहा छ, सिडिओ र स्वास्थ्य कार्यालयलाई त जानकारी छैन होला,’ उनले भने।
ऐनले ५० बेड भन्दा माथिको अस्पतालबाहेक एउटै संस्थालाई २ वटा एम्वुलेन्सका लागि भन्सार छुट दिन नमिल्ने ब्यवस्था गरेको भएपनि हेल्थ क्लव अफ लुम्विनीले भने नियम विपरित एम्वुलेन्स आयातका लागि भन्सार छुटको स्वीकृति पाएको छ।