बुटवलको हरिकला स्मृति प्रतिष्ठानले शव वाहनलाई एम्बुलेन्स बनाएर चलाएको समाचार बाहिरिएसँगै एम्बुलेन्स र शव बाहन संचालनमा थप बेथितिहरु देखिएका छन्।
नियमनकारी निकाय जिल्ला स्वास्थ्य कार्यालयको कमजोरीका कारण मानवीय सेवाको काममा लाग्नुपर्ने एम्बुलेन्स र शव वाहन सीमित व्यक्तिको कमाउने माध्यम बनेका छन्।
एम्बुलेन्स र शव वाहन संचालनको लागि सिफारिस दिने जिल्ला स्वास्थ्य कार्यालयसँग रुपन्देहीमा कति एम्बुलेन्स र शव वाहन संचालनमा छन् भने एकिन तथ्यांक समेत छैन।
गत असोज महिनासम्म ६८ वटा संस्थाले एम्बुलेन्स र शव वाहन संचालनको लागि सिफारिस लिएपनि त्यसयताको अभिलेख भने कार्यालयमा छैन।
सिफारिस गरिएका एम्बुलेन्स र शव वाहन पनि उद्देश्य अनुरुप संचालनमा छन्, छैनन् भन्नेतर्फ जिल्ला स्वास्थ्य कार्यालय वेखबर छ।
सबैभन्दा पहिला २०६५ सालमा निर्माण व्यवसायी संघ लुम्बिनीले रुपन्देहीमा शव वाहन संचालन गरेको थियो। उक्त साधन अहिले पनि शव वाहनकै रुपमा संचालन भइरहेको छ।
गत जेठ ९ गते कोरोनाको कारण रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका शिक्षकको शव पनि सोही वाहनले नै बोकेर व्यवस्थापन गरिएको थियो।
त्यसयता सिफारिस लिएका शव वाहन कुनै पनि संचालन भएका छैनन्। शव वाहनको लागि अहिलेसम्म हरिकला घिमिरे स्मृति प्रतिष्ठान, बुद्ध जागरण सामाजिक सेवा अभियान, हेल्थ क्लब अफ लुम्बिनी र यातायात मजदुर तथा व्यवसायी भलाई कोषले जिल्ला स्वास्थ्य कार्यालयबाट सिफारिस लिएको कार्यालयका अधिकृत शेखर घिमिरेले जानकारी दिए।
तर सिफारिस लिएका कुनैपनि संस्थाले शव वाहन संचालन गरेका छैनन्। यातायात मजदुर तथा व्यवसायी भलाई कोषले सिफारिस लिए पनि खरिद प्रकृयामै रहेको जनाएको छ।
बुद्ध जागरण सामाजिक सेवा अभियान र हरिकला स्मृति प्रतिष्ठानले भन्सार छुटमा एक/एक वटा एम्बुलेन्स र शव वाहन ल्याएको भएपनि अहिले दुई वटै साधनलाई आफूखुसी एम्बुलेन्स बनाएर संचालन गर्दै आएका छन्।
२०६९ सालमा स्थापना भएको बुद्ध जागरण सामाजिक सेवा अभियानले भन्सार छुटमा लु. १ च ६०९८ नं. को महिन्द्रा बलेरो जिप खरिद गरी एम्बुलेन्स संचालन गर्दै आएको थियो।
अभियानले पुनः एम्बुलेन्स खरिदमा भन्सार छुट नपाउने भएपछि बाटो छलेर शव वाहन खरिद गरेको थियो। तर उक्त शव वाहनलाई पनि अहिले एम्बुलेन्स बनाएर चलाउने गरिएको छ।
केही महिना अघिसम्म ‘बैकुण्ठ यात्रा’ लेखेर शव बोक्दै आएको लु. २ च ७४०३ नं. को महिन्द्रा बलेरोलाई कोरोनाको महामारीसँगै एम्बुलेन्सको रुपमा आफूखुसी परिवर्तन गरिएको छ।
आयात गरेको केही समयसम्म काठमाडौंमा चलाइएको उक्त वाहन संचालकहरुको सिन्डिकेटका कारण चल्न नसकेपछि नवलपुरका एक व्यक्तिलाई भाडामा लगाइएको थियो।
नवलपुरमा समेत उक्त शव वाहनले सोचेजस्तो आम्दानी नदिएपछि गत फागुन महिनाबाट बुटवल ल्याएर एम्बुलेन्सका रुपमा चलाउन थालिएको छ।
एउटा सेवाको लागि भन्सार छुटमा ल्याएका साधनबाट आफुखुसी अर्को सेवा संचालन गर्दा पनि नियमनकारी निकाय भने मौन देखिन्छ।
शव वाहनको लागि सिफारिस गरिएको साधनलाई एम्बुलेन्स बनाएर संचालन गर्न पाइँदैन। सरकारले कुनै पनि सामाजिक संस्था वा १ सय बेडसम्मको अस्पताललाई संस्थाको उद्देश्य अनुरुप एउटा मात्रै एम्बुलेन्स संचालनको लागि भन्सार छुट सिफारिस गरिदिन्छ।
सोही कारण यहाँका केही सामाजिक संघसंस्था भने शव वाहन भनेर ल्याएका साधनलाई एम्बुलेन्स बनाएर संचालन गर्दै कमाउने दाउमा लाग्ने गरेका छन्। एम्बुलेन्सले विरामीलाई अस्पतालमा पुर्याइदिए वापत मोटो रकम कमिसन पाउने समाचार पुरानै भएपनि शव वाहनलाई एम्बुलेन्स बनाएर चलाउने विकृति भने लकडाउनपछि बढी मौलाएको छ।
लकडाउनपछि सार्वजनिक तथा भाडाका सवारी साधन बन्द हुँदा एम्बुलेन्सको माग झन बढेको छ।
लकडाउन, निषेधाज्ञा तथा कुनै पनि बन्द हड्तालमा समेत रोकावट नहुने, बिना बार्गेनिङ पहिले नै तय गरिएको भाडामा विरामी बोक्न पाइँदा एम्बुलेन्स संचालनमा राम्रै कमाई हुने गरेको छ।
त्यो सँगै अरु साधन संचालनको लागि चर्को मूल्य तिर्नुपर्ने भएपनि शव वाहन र एम्बुलेन्सको लागि भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने गर्छ। यसैकारण विभिन्न व्यक्ति, परिवार र आफन्त मिलेर संस्था दर्ता गरी एम्बुलेन्स चलाएर पैसा कमाउने काममा लागेका छन्।
बुद्ध जागरण सामाजिक सेवा अभियानका व्यवस्थापक यदु भण्डारीले अन्य समयमा एम्वुलेन्सले समेत शव बोक्ने गरेको बताउँछन्। ‘शव वाहन वर्षमा १० हजार किलोमिटर पनि गुड्दैन, अन्य बेला अस्पतालबाट एम्बुलेन्सले शव बोकेर हिँडिरहे, जब कोरोनाको महामारी सुरु भयो एम्बुलेन्स चालकले शवहरु शव वाहनले नै बोक्नु पर्छ भन्न थालेका छन्’ भण्डारीले भने।
कोरोनाको महामारी फैलिएपछिको डरले चालकले पनि जागिर छोडेर हिँडेकाले अहिले आफैले एम्बुलेन्स चलाउन बाध्य भएको उनले बताए।
अरु समयमा पनि शव वाहनले मात्र शव बोक्ने हो भने काम पुग्ने र एम्बुलेन्स लेखेर विरामी बोक्न नपर्ने चालकहरु बताउँछन्।
तर एम्बुलेन्स संचालन गर्दै आएका संस्थाहरुले पुनः शव वाहनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सिफारिस लिइरहेको तथ्यलाई हेर्ने हो भने शव वाहनलाई काम नपुगेको भन्ने तर्कलाई मान्न सकिँदैन।
हरिकला घिमिरे स्मृति प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुकै संलग्नतामा गठन गरिएको हेल्थ क्लब अफ लुम्बिनीले एउटा एम्बुलेन्स संचालन गरेको छ भने पुनः शव वाहनको लागि गत मंसिर महिनामा सिफारिस लिइसकेको छ।
प्रतिष्ठानको शव वाहनलाई यसअघि एम्बुलेन्स बनाइनु, फेरि शव वाहन ल्याउने प्रकृया थाल्नुले एम्बुलेन्सका नाममा व्यवसाय भइरहेको तथ्यलाई पुष्टि गर्छ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुइँटेलले जुन प्रयोजनको लागि ल्याइएको साधन हो सोही प्रयोजनमा प्रयोग नगरी अरु काममा प्रयोग गरेको पाइए कारवाही गरिने बताए।