फ्रन्टलाइनका कमान्डर
डाक्टर नीरा पाठकका साथीहरू लकडाउनको समय उपयोग गर्दै घरपरिवारसँग रमाइरहेका छन्।
उनी भने अरू बेलाभन्दा बढी समय ड्युटीमा खटिनु परेको छ। किनभने उनी प्याथोलोजिष्ट हुन्। अर्थात ल्याबकी डाक्टर।
वीरगन्ज महानगरपालिकामा रहेको नारायणी अस्पतालकी उनी प्रमुख प्याथोलोजिष्ट हुन्। अरू डाक्टरको भन्दा पनि कडा ड्युटी उनी र उनको टिमले निभाउनुपर्छ।
‘मेरो दिनको सुरूवात नै डाक्टरसाब आज कुन-कुन ठाउँको स्वाब संकलन हुन्छन् भन्ने प्रश्नबाट हुने गरेको छ,’ उनले भनिन्।
स्वाव, टेष्ट, रिजल्टमै उनको दिन घुमिरहन्छ मानौं संसारमा कोरोनाबाहेक अर्को कुनै कुरा छैन।
संसारमा कोरोनाभाइरसले तबाही मच्चाइरहेका बेला पनि उनले सोचेकी थिइनन् आफूले यसरी भाइरसकै निगरानी गर्नुपर्ला। संसारै बिर्सिएर परीक्षणमा खटिनु पर्ला।
सेप्टेम्बरमा प्याथोलोजीमा उनले मास्टर्स सकेकी थिइन्। २ महिनाको ब्रेक लिएर पुसदेखि काम सुरू गरिन्। सरूवा भएर वीरगन्जको नारायणी अस्पताल पुगिन्।
उनले नारायणी अस्पतालमा जिम्मेवारी सम्हालेको बेला विश्वमा कोरोनाभाइरस फैलिँदै थियो। नेपालमा पनि आउन सक्छ र यसको पूर्वतयारीमा जुट्नुपर्छ भन्ने कुरा अलिअलि सुनिँदै थिए। तयारी सुरू भैसकेको थिएन।
फागुनतिर बल्ल नेपाल उच्च जोखिममा रहेको भन्दै पूर्वतयारी स्वरूप सरकारले विभिन्न अस्पतालका स्वास्थ्यकर्मीलाई एक दिने तालिम दिने सूचना निकाल्यो।
नारायणी अस्पतालबाट कुनै एक जनाले उक्त तालिम लिन जानुपर्थ्यो। तालिम लिन भने कसैले मानेनन्। सबैले उनकै नाम सिफारिस गरे।
‘हुन त मेरो इच्छा थियो हाम्रा ल्याबका स्टाफमध्ये कोही जाऊन् र उनैले हामी सबैलाई ओरियेन्ट गरून् भन्ने थियो,' उनले भनिन्, 'कोही मानेनन्।'
अन्त्यमा उनले नै स्वाब संकलन, त्यसको व्यवस्थापनसम्बन्धी तालिम लिइन्। टेकु अस्पतालमा उनीबाहेक प्रदेश २ बाट अरू कोही पनि तालिम लिन गएका थिएनन्।
त्यसको असर संक्रमण बढ्न थालेपछि पर्यो। नारायणी उपक्षेत्रीय अस्पतालमा आएका शंकास्पदमात्र होइन धेरै समयसम्म वरिपरि जिल्लाका शंकास्पदको स्वाब संकलन र परीक्षण पनि उनकै टिमले गर्नु पर्यो।
उनीहरूको अस्पतालमा खास तयारी केही थिएन। त्यही बेला उनलाई नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बोलाए।
भने-हामीले अब कोरोना संक्रमणको रोकथाम र उपचारको तयारी गर्नुपर्छ। तपाईंले स्वाब संकलन र परीक्षणको जिम्मेवारी लिनुपर्यो।
उनले भनिन्- हुन्छ।
चैत ७ गते भारतको बैंग्लोरमा इन्जिनियरिङ गरेर वीरगन्ज आइपुगेका युवकलाई ज्वरो आयो।
स्वाब संकलन गर्न उनै जानुपर्यो। पहिलो चोटी उनले कोरोनाको लागि स्वाब लिएकी थिइन्।
'कोरोना जाँच्न स्वाब लिएको पहिलो पटक हो। डर त असाध्यै भएको थियो,' उनले भनिन्।
त्यसको केहीदिनमै रौतहट, बारा, पर्सालगायत ठाउँबाट वीरगन्ज आएका जमातीहरूको स्वाब संकलन गरिन्। त्यसपछि वीरगन्जमै स्वाब संकलन गर्दै टेकु पठाउँदै गएको डाक्टर नीराले बताइन्।
कोरोनाको संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि वीरगन्ज कोरोनाको हटस्पट बन्यो। सरकारले नारायणी अस्पताललाई कोरोना अस्पताल घोषणा गर्यो। पिसिआर मेसिन पठाउने र त्यही कोरोनाको जाँच गर्ने निर्देशन आयो।
टेकु अस्पतालबाट दुई जना व्यक्तिहरू एक साताका लागि तालिम दिन आएका थिए। उनीहरूले दिएको तालिमअनुसारै उनीहरूले स्वाब परीक्षण गर्न थाले। सुरूसुरूमा आफूहरूले परीक्षण गरे पनि टेकुबाट पुष्टि नभएसम्म सार्वजनिक गर्दैनथे। अचेल आफैं जाँच गरी सार्वजनिक गर्ने गरेका छन्। ‘मेशिन आएको लगभग १७/१८ दिनसम्म पनि अस्पतालमा रहेको ल्याबमा आवश्यक सामग्री थिएनन्, हामीले गरेको परीक्षणको नतिजा सही हो की गलत भन्ने थाहा हुन्नथ्यो। त्यसैले टेकु अस्पतालबाट पठाउनु परेको थियो,’ उनले भनिन्।
वैशाख २५ गतेदेखि पिसिआर रिपोर्टको सही नतिजा दिन नारायणी अस्पताल आत्मनिर्भर बनेको छ।
वीरगन्जमा मेसिन आएपछि उनको काम झन् बढ्यो।
उनी दिनको १४/१५ घन्टा अस्पतालमा बस्नु पर्छ। रौतहट, बारा र पर्साका स्वाब जाँच्नुपर्छ। तीनवटै जिल्लाका स्वाब संकलन तिनको व्यवस्थापन परीक्षणको जिम्मा उनकै छ। उनको टिममा ८ जना छन्। उनीहरूको काम बाँडफाँटदेखि ल्याब व्यवस्थापन पनि डाक्टर निराकै जिम्मा हो।
त्यसबाहेक अन्यत्र जिल्लाका स्वास्थ्यकर्मीलाई फिल्डमा कसरी खट्ने, संक्रमितबीच जाँदा के-कस्ता सचेतता र सर्तकता अपनाउनुपर्छ भन्ने विषयमा तालिमसमेत उनले दिने गरेकी छन्।
अहिलेसम्म उनको टिमले ५ हजार स्वाब संकलन गरी परिक्षण गरेका छन्।
यी सबै काम गर्दा उनलाई परिवारसँग फोनमा पनि कुरा गर्ने फुर्सद हुन्न। परिवारसँग त के उनी छोरीसँग पनि कुरा गर्न पनि पाउन्नन्।
६ वर्षकी छोरीलाई उनले बुटवलको माइतीमा छोडेर आएकी छन्।
दिनभरि म्यासेन्जरमा फोन गरिरहन्छिन्, उनले फोन उठाउन सक्दिनन्।
'छोरीले दिनभरी म्यासेन्जरमा फोन ट्राई गरिरहन्छिन् तर उनले मामु भन्न नपाउँदै यता नम्बरमा दुईटा फोन आइसकेको हुन्छ,काटिन्छ,' उनले भनिन्, 'विभिन्न स्थानीय तहहरूका प्रमुख, प्रशासन प्रमुख, डाक्टर, स्वास्थ्यकर्मीहरूको फोन आइरहन्छ। उहाँहरूको फोन काटेर छोरीसँग कुरा गर्न पनि मिलेन।'
निरालाई बिहान एकछिनमात्र फुर्सद हुन्छ जतिबेला उनकी छोरी मस्त निद्रामा हुन्छिन्। छोरीको निद्रा बिगार्न उठाउन मनले मान्दैन।
११ र १२ बजेको समयमा मलाई स्टाफहरूलाई फिल्डमा पठाउनुपर्ने समय हुन्छ दिउँसोतिर संकलन गरिएका स्वाबहरुको नतिजा आउने पिक आवर हुन्छ। स्वाब लिइएका व्यक्तिहरूले फोन गरिरहन्छन्।
बेलुका उनलाई घर फर्किन कहिले ९ बज्छ कहिले १०। त्यति बेलासम्म छोरी सुतिसक्छिन्। नीराले छोरीसँग भेटेको ३ महिना भइसकेको छ।
यो पनि पढ्नुस्: