अर्घाखाँचीको क्वारेन्टिनमा विरामी परी मृत्यु भएका एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्लाको मालारानी गाउँपालिका-४ निवासी ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार पुरुषको बुटवलबाट उपचार गरेर फर्कने क्रममा हिजो बिहान ११ बजेतिर बाटोमै मृत्यु भएको थियो। मृत्युपश्चात उनको शव मालारानीस्थित घर ल्याइएको थियो।
कोरोनाको रिपोर्ट आएपछि मृतकको आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ। मृतक पुरुष गत जेठ १५ गते भारतबाट आएका थिए।
आउनसाथ उनलाई गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो। तर मंगलबार उनकाे श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारको लागि अर्घाखाँची अस्पताल पुर्याइएको थियो।
अस्पतालले सोही राति उनलाई बुटवल रेफर गरेको थियो। थापाका अनुसार बुटवलबाट उपचार गरेर घर फर्किने क्रममा पुरुषको बाटोमै निधन भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।