लकडाउनले धेरै मान्छे कामविहीन छन् तर चितवन अमृतचोकका सुमन सुवेदीको व्यस्तता भने अहिले झन् बढेको छ।
२८ वर्षीय सुवेदीलाई अचेल तारन्तार फोन आइरहन्छ।
सामाजिक सञ्जालमार्फत कुरिलोको बिरूवा तयार भयो है भनेर जानकारी गराएका थिए। अर्डर गरे घर–घरमै बिरूवा ल्याइदिने पनि भनेका थिए। त्यसैले उनको फोन अचेल ज्यादा व्यस्त हुन्छ।
केही वर्षदेखि चितवनमा व्यावसायिक कुरिलो खेती गरिरहेका सुवेदीले अहिले आफ्नै बारीमा १० हजार वटा कुरिलोको बिरूवा उत्पादन गरेका छन्।
‘चार हजार भन्दा बढी बिरूवाको माग भइसकेको छ, घर–घरमा पुर्याउने तयारी थालेको छु,’ उनले भने, ‘फार्म फर फेमेली नामक संस्थासँग सहकार्य गरेर पुर्याउने तयारी छ।’
उनलाई उनकी आमाले पनि कुरिलो खेतीमा सघाउँछिन्।
‘उत्पादन सुरू गर्दा हामीले ११ टिपर गोबर मल र ४ टिपर जुत्तोको प्रयोग गर्यौं,’ कृषक उमा सुवेदीले भनिन्, ‘मलको जति राम्रो व्यवस्था गर्यो उत्पादन उति राम्रो हुने रहेछ।’
उमा सुमनकी आमा हुन्।
‘एक पटक लगाएपछि ७/८ वर्षलाई उत्पादन दिन्छ,’ उनले भनिन्, ‘राम्रो स्याहार पुर्याउनसके आम्दानी पनि राम्रै हुने रहेछ।’
बेला–बेलामा तोरीको पिनालाई भेलीपानीमा कुहाएर कुरिलोमा हाल्ने पनि गरेको उनले बताइन्। यसले कुरिलोलाई अझ राम्रो बनाउने उनी बताउँछिन्।
सुमनले आफ्नो जमिनमा करेला, काँक्रो, खुर्सानीलगायतको खेती पनि गर्ने गरेका छन्। केही समयअघिबाट उनले रातो च्याउको खेती पनि सुरू गरे।
‘रातो च्याउ पनि कुरिलोजस्तै दुर्लभ तरकारी हो। यसको खेती नेपालमा एकदम कम छ,’ उनले भने, ‘स्वास्थ्यका दृष्टिले राम्रो हुने भएकाले यसको खेतीले भविष्यमा राम्रो फाइदा देला भन्ने विश्वास छ।’
करेसाबारी तथा घरको छत तथा कौसीमा र गमलामा पनि उत्पादन गर्न सकिने भएका कारण माग बढ्दो रहेको उनले बताए। उनी प्रतिबिरूवा ५० रूपैयाँ लिन्छन्।
बिरूवा तयार पार्नका लागि उनले जापानको फुकोउकाबाट दुई लाख रूपैयाँमा एक किलो बिउ मगाएका थिए।
‘मानवस्वास्थ्यका लागि लाभदायी कुरिलो घर–घरमा पनि उत्पादन गर्न सकिने रहेछ भन्ने प्रमाणित गर्ने प्रयासमा छु,’ उनले भने, ‘थोरै मेहनत गरेर वर्षौंसम्म उपभोग गर्न मिल्ने तरकारी भएकाले धेरैको चासो बढ्न थालेको छ।’
नेपालमा अझै पनि वन जंगलमा मात्र पाइने स्वादिष्ट तरकारीका रूपमा मात्र परिचित छ कुरिलो। विशेषतः पहाडी क्षेत्रमा अझै पनि कुरिलो, निउरो, भ्याकुर लगायतका तरकारी खोज्न जंगलमै पुग्ने चलन छ।
पोहोरसम्म चितवनको बजारमा कुरिलो भेट्टाउनै गाह्रो हुन्थ्यो।
केही वर्षअघि घरमा बहिनी बिरामी हुँदा कुरिलो किन्न निस्किएका सुमन बजारभरि चहार्दा पनि भेटेनन्। त्यही दिनपछि हो उनले कुरिलोबारे खोज्न थालेको। पछि उनले खेती नै सुरू गरे। खेती सुरू गर्न पनि उनलाई निकै गाह्रो भएको थियो। खान त नपाइने कुरिलोको बिउ चितवनमा किन पाइन्थ्यो। बिउ खोज्दै उनी काठमाडौं पुगे। त्यहाँसमेत पाइएन। अनि उनले बिचौलियाको सहारा लिए।
‘बिउ पाउन निकै समस्या भयो,’ उनले सुनाए, ‘नेपालमा राम्रो र उपयुक्त बिउ नपाएपछि बिचौलियामार्फत साइप्रसबाट एक किलो बिउ मगाएँ।’
त्यतिखेर एक किलो बिउको मूल्य दुई लाख ५० हजार रूपैयाँ परेको उनले बताए।
यस्तो दु:खले ल्याएको बिउले पहिलो वर्षको उत्पादन राम्रो दिएन। उनले थप मिहिनेत गरे।
‘पहिलो वर्ष त राम्रो उत्पादन भएन,’ सुमनले भने, ‘यस वर्षबाट भने उत्पादन बढेको छ। यस वर्ष त खर्च पनि उठ्छ।’
उनले कुरिलोको खेती मात्र गरेनन्, यसको बजार पनि आफैंले बनाए। उनी अगाडि चितवनमा कसैले कुरिलो खेती गरेका थिएनन्। अहिले उनको कुरिलोको माग बढी छ, तरकारी खान र रोप्नलाई बिरूवा पनि।
भरतपुर महानगरपालिकाको-२५ स्थित आफ्नो घरसँगै जोडिएको एक बिगाहा जमिनमा लगाएको कुरिलो उनले एक दिन बिराएर टिप्छन्।
त्यसरी टिप्दा दुई दिनमा ४० किलोसम्म कुरिलोका टुसा बिक्रीका लागि योग्य हुन्छन्।
सुवेदीले चार सय रुपैयाँ प्रतिकिलो बिक्री गर्ने गर्छन्। उत्पादित कुरिलोमा आधिकारिक ‘लेबल’ लगाएर बजार पुर्याउने गरेको उनले बताए।
चितवनका विभिन्न क्षेत्रका बिक्री केन्द्रहरूले कुरिलो माग गर्ने गरेका छन्। उनले चार सय रूपैयाँ प्रतिकिलो बिक्री गरेको कुरिलो ग्राहकले पाँच सय रुपैयाँसम्ममा प्राप्त गर्छन्।
‘माग असाध्यै धेरै छ,’ उनले भने, ‘हाम्रो उत्पादनले त चितवनकै माग पूरा गर्न सकिएको छैन।’
उनले अन्य जिल्लाहरूबाट पनि माग आउने गरेको सुनाए।
कुरिलो उत्पादनका लागि अन्य खेतीका लागि जस्तो युरिया, डिपिए मलको आवश्यकता पर्दैन।
विभिन्न पौष्टिक तत्वहरू पाइने कुरिलोलाई कतिपयले तरकारीको ‘राजा’ पनि भन्ने गर्दछन्। भिटामिन ए र भिटामिन सी पाइने तथा रोग प्रतिरोधात्मक क्षमताको विकासमा सघाउने भएकाले यसलाई महत्वपूर्ण मानिन्छ।
यिनै महत्वलाई बुझेर केही वर्षयता यसको व्यावसायिक खेती नै हुन थालेको छ।
कुरिलो कलिलो टुसाको लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो। नेपालमा समुद्री सतहदेखि करिब १८०० मिटर उचाइसम्म कुरिलोको व्यावसायिक उत्पादन गर्न सकिन्छ।
कृषि ज्ञान केन्द्रका अनुसार, चितवनमा सुवेदीले बाहेक पूर्वी चितवनमा केही कठ्ठा जमिनमा यसको व्यावसायिक खेती भएको छ। केन्द्रकै कार्यक्षेत्रमा पर्ने मकवानपुरको मनहरीमा करिब ३० कट्ठा जमिनमा कुरिलोको व्यावसायिक खेती भइरहेको छ। काठमाडौं र झापामा यसको व्यावसायिक उत्पादन बढी छ।
भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मोरङ, सुनसरी लगायतका जिल्लामा पनि यसको व्यावसायिक खेती हुने गरेको छ।
कुरिलो पौष्टिक आहार तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिहरूले खोजी खोजी खान्छन्।
सुत्केरी महिला तथा बालबालिका र वृद्धवृद्धाहरूका लागि कुरिलो उपयुक्त तरकारी हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.वसन्त शर्मा बताउँछन्।
तर, अचेल सहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ। कतिपयले त यसलाई सलादको रूपमा काँचै पनि खान्छन्।
डा.शर्माका अनुसार कुरिलो चिल्लो पदार्थविहीन, कोलेस्टोरेल र सोडियम तत्वरहीत, शक्तिदायक, भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थ हो। यसमा खनिज पदार्थको मात्रा बढी हुन्छ। क्यान्सर, कलेजोका बिरामी तथा सेतो रगत कम भएका बिरामीहरूलाई कुरिलोले औषधीको रूपमा काम गर्ने उनी बताउँछन्।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार कुरिलो पानी नजम्ने सुख्खा, न्यानो र समसितोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ। समसितोष्ण हावापानी भएको नेपालको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ। यसको खेती १५–१८ डिग्री सेन्टिग्रेट औसत तापक्रम भएको क्षेत्रमा अझ राम्रो हुन्छ।
यसका लागि प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको मलिलो, खुकुलो बलौटे माटो आवश्यक पर्ने ढकाल बताउँछन्।
‘चितवन जुनसुकै तरकारी उत्पादनका लागि पनि उपयुक्त ठाउँ हो,’ ढकाल भन्छन्, ‘बजारको पहुँच पनि सहज भएका कारण यहाँ कुरिलोको सम्भावना राम्रो देखिन्छ।’