राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा केही दिनअघि काम विशेषले काठमाडौं जाँदै थिए। मुग्लिन पुग्दा फोन आयो। महिला बोलिन्, ‘डाइलसिस गर्न जानुपर्ने पैसा छैन के गर्ने होला?’
फोन गर्ने महिला चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ३ झुरझुरेकी बिन्दु परियार थिइन्। महिलाको कुरा सुनेपछि लामाले जवाफ दिए, ‘बस्दै गर्नु एम्बुलेन्स पठाइदिन्छु, आधा पैसा म दिन्छु पिर नगर्नू।’
केहीबेरमै एम्बुलेन्सले ती महिलालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइदियो। काम सकिएपछि त्यही एम्बुलेन्स चढेर घर फर्किइन्।
अहिले लामाको दैनिकी यसरी नै बित्ने गरेको छ। काठमाडौं जाँदै गरेको भएर उनले एम्बुलेन्स पठाए, गाउँतिरै भएको भए उनी आफैं हाजिर हुन्थे। आफ्नै गाडीमा चढाएर बिरामीलाई अस्पताल पुर्याउँथे।
आफूले गरेका कामका बारेमा झट्ट नसुनाउने, मिडियामा आउन पनि नचाहने अन्तर्मुखी स्वभावका उपमेयर लामा धेरै प्रयासपछि सेतोपाटीसँग कुरा गर्न तयार भए।
उपमेयर लामासँग राप्ती नगरपालिकाभित्र रहेका क्यान्सर र मिर्गौलाका बिरामीहरूको लामो सूची नै रहेछ।
क्यान्सरका बिरामीले केमो चढाउने समय आएपछि र मिर्गौलाका बिरामीले डाइलासिसको मिति आएपछि उनैलाई सम्झन्छन्।
‘आफूले भ्याउँदा आफ्नै गाडीमा लगेर, नभ्याउँदा एम्बुलेन्स बोलाएर सहयोग गर्छु,’ उनले भने, ‘जनप्रतिनिधि भएका कारण यति गर्नु मेरो जिम्मेवारी पनि होजस्तो लाग्छ।’
गाउँ घुम्ने क्रममा जनताको दुःख देखेर निकै पीडा भएको उनी सुनाउँछन्।
‘अझ ठूला रोग लागेका बिरामी र तिनका परिवारको अवस्थाले मलाई बिचलित नै बनायो,’ उनी सम्झन्छन्, ‘कतिपयको घरमा त खानाको लागि एक किलो चामल पनि थिएन। बिरामी त बिरामी नै भइहाले, उनका परिवारले समेत उपचार गराउँदा–गराउँदा आजित भएर जिन्दगीदेखि निरास भएको देखेँ। यसले मलाई असाध्यै दुःखी बनायो।’
त्यतिखेर सान्त्वना दिँदै आवश्यक सहयोगको वचन दिएको उनी सम्झन्छन्।
‘भेटेर, फोन गरेर कसैले दुःख देखायो भने तिनैलाई सम्झन्छु, आफ्नो बचपन पनि सम्झन्छु अनि सकेको सहयोग गर्छु,’ उनी भन्छन्।
कोरोना भाइरसको महामारीसँगै लकडाउनको समयमा उनको व्यस्तता थप बढ्यो। सवारी साधन नचलेका कारण बिरामीलाई अस्पताल जानै समस्या भयो। एम्बुलेन्सका चालकहरूले डराएर बिरामी बोक्नै नमन्ने। उनी सुरक्षाका सामग्री लगाएर बिरामी लिन पुग्थे।
‘जनताको सेवा गर्दा मरिएछ भने पनि के गर्ने त जस्तो लाग्थ्यो। यसरी कैयौं दिन अस्पताल पुगेको छु, उपचार भइन्जेल कुरेर लिएरै फर्किने गर्छु,’ लामाले बताए।
उनले राप्ती नगरपालिकामा मात्रै क्यान्सर र मिर्गौलाका बिरामी १ सय २० जना भन्दा बढी रहेको बताए।
‘यी रोगले छोएका विपन्न वर्गका मात्र नभई मध्यम वर्गीय परिवारको पनि आर्थिक अवस्था बिग्रिएर निरीह बन्नुपर्ने अवस्था छ,’ उनले भने, ‘उनीहरू सबैलाई सहयोग गर्न त सकेको छैन तर जानकारी पाएसम्म सकेको गर्ने गरेको छु।’
राप्तीबाट बिरामी बोकेर भरतपुर आउन एम्बुलेन्सले १२ सय देखि १५ सय रुपैयाँसम्म लिने गर्छन्। फर्कंदासमेत गरेर २५ सय रुपैयाँ भन्दा बढी खर्च हुन्छ। उपचारका लागि बुझाउनुपर्ने खर्च त छुट्टै भइहाल्यो।
‘कोही त एम्बुलेन्सलाई पछि पैसा दिन्छु भनेर दुई चार पटक उधारोमा अस्पताल जानुभएछ, पछि एम्बुलेन्स चालकले फोन उठाउनै छाडे, लकडाउनको बेला छ, अस्पताल जाने उपाय नै भएन,’ उनले भने, ‘मैले पनि बेवास्ता गरेको भए उनीहरूलाई कसले लगिदिन्थ्यो र? जनप्रतिनिधि भएपछि यति त गर्नैपर्यो।’
लकडाउनको समयमा मात्रै एक सय जना बिरामीलाई अस्पताल पुर्याएको उनी बताउँछन्। कहिले आफ्नो निजी गाडीमा त कहिले नगरपालिकाको गाडीमा उनी सेवामा खटिन्छन्।
सेतोपाटीसँगको कुराकानीमा बिन्दु परियारले भनिन्, ‘उपमेयरका कारण हामीलाई अस्पताल जान आउन धेरै सजिलो भएको छ, फोन गरेपछि सकेको सहयोग गर्नुहुन्छ। उहाँ नभएको भए त लकडाउनको बेलामा उपचार पनि पाइन्थेन किजस्तो लाग्छ।’
परियार करिब तीन वर्षदेखि मिर्गौलाको बिरामी छिन्। डाइलसिसका उनलाई लागि हप्तामै दुई पटक भरतपुर पुग्नुपर्छ।
लामा बिरामी बोकेर भरतपुरका मात्रै होइन काठमाडौंका अस्पतालहरू पनि पुगेका छन्।
राप्ती–५ भण्डारा घर भएका उपमेयर इमानसिंह लामालाई बुझ्नेहरू नामजस्तै इमान भएको व्यक्ति ठान्छन्। राप्तीको गड्यौलीका युवा निर्देशन त्रिपाठी अहिलेको अवस्थामा यतिको इमान भएको नेता भेट्नै गाह्रो पर्ने बताउँछन्।
‘जनताले समस्या सुनाउँदा नाइँ, गर्दिनँ, सक्दिनँ भनेको आजसम्म सुनेको छैन,’ उनी भन्छन्, ‘उहाँको बोली मै मेरा जनता झुण्डिएको छ। व्यवहार पनि त्यस्तै छ।’
लामाले २०७१ देखि २०७४ सालसम्म लुम्बिनी विकास कोषको निर्देशक भएर काम गरे। निर्देशक छँदै गर्दा तत्कालीन नेकपा एमालेले उनलाई उपमेयरको उम्मेदवार बन्न प्रस्ताव गर्यो।
‘जनप्रतिनिधि भएर काम गर्ने पहिलेबाटैको इच्छा थियो, पार्टीको निर्देशन पनि भयो,’ उनले भने, ‘सुन्दा त नौलो लाग्छ। यो पद त प्रहरीको आइजिपी पद छाडेर हवल्दारमा जागिर सुरू गरेजस्तो हो मेरो लागि।’
आफ्नै ठाउँका जनताको सेवा गर्न पाउँदा उनी असाध्यै खुसी छन्। त्यसअघि भने उनी राजनीतिसँगै सप्लायर्स तथा हाउजिङ व्यवसायमा संलग्न थिए।
बौद्ध दर्शनका अनुयायी उपमेयर लामा सेवा नै धर्म हो भन्ने कुरामा विश्वास गर्छन्। उनी अहिले ‘स्प्रिच्युअल इन माक्स फिलोसोफी’मा पिएडी गर्दैछन्।
उनले नगरपालिकाको न्याय समिति र योजना बनाउनेदेखि अनुगमन गर्नेजस्ता महत्वपूर्ण जिम्मेवारी उपमेयरको हुने भए पनि समय छुट्टाएर जनताको घाउमा मल्हम-पट्टी लगाउने गरेको बताए।
इमानसिंहको इमानको बखान यतिकैमा टुंगिदैन। बिरामी सेवाबाहेक उनी विपन्नको घर बनाउनमा पनि खटेका छन्। त्यो पनि आफ्नै पैसाले।
उनले उपमेयर भएपछि अहिलेसम्मको तलब सुविधा बुझेका छैनन्। योजना अनुगमनका क्रममा पाउने भत्ताले बिपन्नको घर बनाइरहेका छन्। केही दिनअघि राप्ती–२ मा सेनाको कुटाइबाट स्थानीय राजकुमार चेपाङको मृत्यु भएको थियो। उनको परिवारको बस्नका लागि उपयुक्त घर नरहेको जानकारी पाएपछि उनले घर बनाउन सहयोग गरेका छन्। अहिले धमाधम घर बनिरहेको छ।
उपमेयर भएकै वर्ष उनले अर्काको घरको पालीमा आश्रय लिएर ज्याला मजदुरी गर्दै आएकी एकल महिला साइलीमाया चेपाङको घर बनाइदिए। अर्को वर्ष राप्ती–६ का राजु परियारको घर बनाउन सबै सहयोग गरे।
‘उनको श्रीमती रहिनछिन्, छोरी बलात्कारमा परेकी, आर्थिक अवस्था असाध्यै कमजोर रहेको थाहा पाएपछि उनको घर बनाउन सहयोग गरेँ,’ उनले सुनाए।
अहिले राजकुमारकोसँगै जंगली हात्तीले घर भत्काइदिएको राप्ती–१ का अम्बरबहादुर चेपाङको घर बनिरहेको छ। लगत्तै राप्ती–१ परेवाकोटमा सुनिमाया चेपाङको घर बनाइदिने तयारीमा उनी छन्।
नेपाल सरकारले उपमेयरका लागि पनि गाडीको सुविधा उपलब्ध गराएको छ। तर, उनले नगर परिषदमै घोषणा गरिदिए, ‘मेरो लागि आउने गाडी बिरामी ओसार्न प्रयोग गरौं।’ पछि नगरपालिकाबाट कार्यविधि नै बनाएर त्यो कार्यान्वयनमा ल्याइएको उनले बताए। उनी कहिलेकाहीँ त्यही गाडी आफैं चलाएर बिरामी बोक्छन्।
राप्ती नगरपालिकाका विपन्न समुदायको आर्थिक अवस्था उकास्नका लागि प्रांगारिक कृषिमा आकर्षण जगाउनुपर्ने उनी बताउँछन्। पहाडी आधाभन्दा बढी हिस्सा पहाडी भू-भाग रहेको यस नगरपालिबासी प्रायःको जीवन कृषिमै आधारित छ।
‘प्रांगारिक उत्पादन बढाउँदै स्थानीयको जीवनस्तर उकास्न सकिन्छ कि भनेर हामी प्रयास गर्दैछौं,’ उनले भने, ‘यसका लागि हामी गाउँ–गाउँसम्म पुगेर जनतालाई जागरुक गराउँदैछौं।’
केही वर्षको भोगाइमा उनले स्थानीय निकायमा रहेर आफूले सोचेजस्तो काम गर्न नसकिने रहेछ भन्ने बुझेको बताए। भने, ‘तै पनि प्रयास गर्न त छाड्नु हुँदैन। विस्तारै समस्या हल हुँदै जालान्।’