चितवनका कोरोना संक्रमितहरूको उपचार अब योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने भएको छ। भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनथा योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गर्ने तयारी गरिएको हो।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्थानको अभाव भएको थियो। लक्षण नदेखिएका कोरोना संक्रमितका लागि ‘लेभल–ए’ अस्पतालका रुपमा गत चैतमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको भए पनि सरोकारवाला बीचमै आपसी खिचातानीका कारण तीन महिना नपुग्दै बन्द गरिएको थियो। भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएको ७० शैया भरिभराउ छ।
जनस्तरबाट व्यापक दबाब आएपछि भरतपुर महानगरपालिका र भरतपुर अस्पताललगायतका निकायहरूको समन्वयमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गर्न लागिएको हो।
चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएकाहरूको उपचार गर्ने सहमति भएको सेतोपाटीलाई बताए। ‘संक्रमितहरुको योगा तथा प्राकृतिक उपचार पद्धतिबाट उपचार गराउँछौं,’ उनले भने, ‘यो विधिबाट गरिएको उपचार प्रभावकारी हुन्छ भनेर नै सुरू गर्न लागेका हौं।’
उनका अनुसार यस विधिबाट एलोपेथिक उपचार पद्धतिबाट निको नभएका प्यारलाइसिस, मधुमेह, उच्च रक्तचापलगायतका बिरामीहरूको सफल उपचार हुँदै आएको छ।
‘हामी प्राकृतिक चिकित्साको मान्यताअनुसार नै उपचारमा लाग्नेछौं। यसका लागि हाम्रो जनशक्ति तयारी अवस्थामा छ,’ डा.कोइरालाले भने, ‘शैयाको व्यवस्था भरतपुर महानगर र भरतपुर अस्पतालले गरिदिएपछि हामी सेवा सुरू गर्छौं।’
२०७४ असोजमा स्थापना भएको चिकित्सालयमा ३६ जना स्वास्थ्यकर्मीहरू छन्। उनीहरूमध्येबाटै कोरोना संक्रमितको उपचारमा खटिने उनले बताए।
प्राकृतिक चिकित्साले शरीरमा रहेका विशाक्त पदार्थ हटाउने दाबी गर्छन्, कोइराला। ‘धेरै वर्ष पहिलेको सफल पद्धति हो यो। कोरोना भाइरसलाई परास्त गर्न पनि यो विधि सफल हुन्छ भन्ने विश्वास छ,’ उनले भने।
चिकित्सालयले ‘योगिक क्रिया’द्वारा उपचार गर्ने तयारी गरेको छ। ‘जसअन्तर्गत हामी बिरामीलाई ८ घण्टाका लागि पुग्ने खाना दिएर बाँकी १६ घण्टासम्म भोकै राख्छौं,’ उनले भने, ‘बिरामीको शरीरको हरेक सेललाई भाइरसविरुद्ध लड्न सक्ने बनाउँछौं।’
यसका लागि उनीहरलाई योगा पनि गराइनेछ।
बिरामीलाई बिहान ५ बजे खाना खुवाएपछि एकैपटक अर्को बिहान खुवाइनेछ। ‘खानामा अन्न कम तरकारी बढी हुन्छ। हामी रेसादार तरकारी तथा सब्जीको प्रयोग गर्छौं,’ उनले भने, ‘साथै जेठी मधु, गुर्जो, बेसार पानी लगायत सेवन गर्न लगाउँछौं।’
साथै निरन्तर रुपमा नाक, घाँटी सफा राख्ने र बाफ लिने प्राकृतिक विधि प्रयोग गरिने उनले बताए। नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयले केही महिनादेखि यही पद्धतिअनुसार उपचार गर्दै आएको छ। उक्त अस्पतालमा पुगेका तीन सय जनाभन्दा बढी बिरामी निको भएर घर फर्किइसकेका छन्।
आर्थिक व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकाको छ। प्राविधिक सहयोगका लागि भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा एउटा समिति बनेको छ। उक्त समितिले कोरोना संक्रमितको उपचारका लागि आवश्यक सहयोग गर्नेछ।
चितवनमा अहिले करिब दुई सय जना सक्रिय कोरोना संक्रमितहरू छन्। उनीहरूमध्ये करिब एक सय जना होम आइसोलेसनमा छन्। कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएकाहरूको स्वास्थ्य अवस्था बुझ्ने संयन्त्र समेत जिल्लामा सकृय थिएन। उनीहरूलाई लक्षित गरी बागेश्वरी प्राकृतिक चिकित्सालयमा उपचारको व्यवस्था मिलाउन लागिएको भरतपुर अस्पतालले जनाएको छ।
पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले संयुक्त रुपमा आइसोलेसन निर्माण गरेर उपचार सुरू गरेका छन्। माडी नगरपालिमा भने केही महिनाअघि नै आइसोलेसन बनिसकेको छ।