स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना संक्रमण बढ्दै गएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै पिसिआर ल्याब सञ्चालनमा ल्याउन लागेको छ।
आइतबार मात्रै क्यान्सर अस्पतालमा कार्यरत ४ जना नर्स र एक जना सहयोगी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अहिलेसम्म यहाँ कार्यरत २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण भएको छ। दर्जन बढी बिरामीमा पनि संक्रमण भएको छ।
संक्रमण बढ्दै गएपछि केही दिनदेखि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। अस्पतालका अध्यक्ष डा.निर्मल लामिछानेले कोरोना संक्रमण बढ्दै जाँदा उपचारमै समस्या देखिन थालेपछि अस्पताल आफैले ल्याब सञ्चालन गर्ने तयारी थालेको जानकारी दिए।
‘केही दिनभित्रैमा ल्याब सञ्चालनमा आउँछ‘, सेतोपाटीसँगको कुराकानीमा डा.लामिछानेले भने, ‘अहिले सामान जोड्ने काम भइरहेको छ।’
उनले पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराइसकेको बताए । ‘प्रयोगशालाका लागि आवश्यक मूख्य मेसिन हामीसँग पहिलेबाटै थियो। केही अन्य सामग्रीका लागि टेण्डर भएर सामान आउन थालिसकेको छ’, डा. लामिछानेले भने, ‘केन्द्रिय प्रयोगशालासँग समन्वय गरेर केही दिन भित्रैमा सञ्चालनमा ल्याउँछौं।’
उनले पिसिआर प्रयोगशाला सञ्चालनका लागि अस्पतालले करिब २० लाख रुपैयाँ खर्च गरेको जानकारी दिए। प्रयोगशालाका लागि आवश्यक पर्ने रिएजेन्ट प्राप्त गर्न गाह्रो भएका कारण केही समय ढिलो भएको उनले बताए।
प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्ति अस्पतालसँग छ। क्यान्सर अस्पतालले अहिले भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको कोभिड १९ प्रयोगशालाका लागिसमेत दुई जना जनशक्ति उपलब्ध गराएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले संक्रमण बढ्दै गएका कारण पिसिआर परीक्षण बिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगेको बताए।
‘कोरोनाका कारण धेरै स्वास्थ्यकर्मीहरु आइसोलेसन र क्वारेन्टिनमा हुनुहुन्छ, त्यसैले जोखिम मोलेर उपचार गर्न गाह्रो छ’, उनले भने, ‘पिसिआर जाँच गरेर नेगेटिभ रिपोर्ट आएका बिरामीलाई मात्र उपचार गर्नेगरी आफैले ल्याब सञ्चालन गर्न लागेका छौं।’
आफ्नो ल्याब नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाई भइरहेको अध्यक्ष लामिछानेले बताए । ‘धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘आफ्नै ल्याबले काम गर्न थालेपछि सेवा नियमित गर्न सकिन्छ।'
अस्पतालका सूचना अधिकारी गृहनारायण महतोकाअनुसार क्यान्सर अस्पतालमा दैनिक ५ सय जनासम्म बिरामी उपचारका लागि आउँछन् । उनीहरुमध्ये केमो चढाउने बिरामी मात्रै ५० जना भन्दा बढी हुन्छन्।
अस्पताल बन्द हुँदा बिरामीहरु सहजरुपमा उपचार गर्न पाएका छैनन्। अस्पतालमा संक्रमण बढ्दै जाँदा आसपासका होटलहरुले समेत बिरामीलाई राख्न मानेका छैनन्।
चितवनमा अहिले भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको अस्थायी ल्याब र चितवन मेडिकल कलेजको आफ्नै ल्याब सञ्चालनमा छ ।