चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा ५ वर्षे बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित ७१ वर्षीया वृद्धा पनि छन्।
यसैगरी क्यानसर अस्पताल भरतपुरका डाक्टरसहित चार जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमण पुष्टि भएका मध्ये ४० जना चितवन ठेगाना भएका हुन्। बाँकी ४ जना नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका छन्।
अन्य जिल्ला ठेगाना भएकाहरूको स्वाब पनि भरतपुरकै अस्पतालहरूबाट संकलन गरिएको हो ।
नयाँ संक्रमितहरूमध्ये ३६ जना भरतपुर महानगरपालिकाका छन्। उनीहरूको स्वाबको नमूना भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट लिइएको थियो।
रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी–१ का एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरूको स्वाब संकलन पुरानो मेडिकल कलेज, रत्ननगरस्थित क्वारेन्टिन र भरतपुर अस्पतालबाट संकलन गरिएको थियो ।
अस्पतालका स्वास्थ्यकर्मी तथा बिरामीहरूमा कोरोना संक्रमण बढेपछि यहाँका अस्पतालहरुले बिरामीलाई भर्ना गर्नुअघि कोरोना परीक्षण अनिवार्य गर्न थालेका छन्।
मंगलबार २ सय १८ जनाको नमूना परीक्षण गरिएको थियो। चितवनमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ।