वीरगन्जमा कोरोना संक्रमणबाट गर्भवती महिला र वृद्धको मृत्यु भएको छ।
बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ती महिलाको गर्भमा ३३ हप्ताको बच्चा रहेको अस्पतालले जनाएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई भदौ ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय वृद्ध पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय वृद्ध निमोनियाका समेत बिरामी थिए।
उनको उपचारका क्रममा गएराति मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गण्डक कोभिड अस्पतालमा सार्ने तयारी गर्दैगर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
वीरगन्जमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ। उनीहरूमध्ये ३२ जना पर्सा जिल्लाका हुन्।