भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेटैअगाडि भेटिएका बर्दियाको गुलरिया-८ का बराती लोधको मुखमा क्यान्सर भएको छ।
उनलाई अस्पतालले दोस्रो केमो चढाउनका लागि भदौ ४ गतेको समय दिएको थियो। तर, पाँच दिन कटिसक्दा पनि उनले केमो चढाउन पाएनन्।
क्यान्सर अस्पताल परिसरमा उनीजस्ता सयौं बिरामीहरू उपचारको पर्खाइमा भौंतारिइरहेका भेटिन्छन्।
मास्कले घाउ छोपेका लोध पीडाले राम्रोसँग बोल्न पनि सक्दैनन्। उनको साहरा बनेर आएका छन्, जेठा छोरा जयप्रकाश।
जयप्रकाशका अनुसार अस्पतालले बोलाएकै समयमा आइपुग्नका लागि उनीहरू एम्बुलेन्सलाई १८ हजार रूपैयाँ भाडा बुझाएर भरतपुर आइपुगेका थिए।
‘तर उपचार हुने छाँटकाँट नै छैन,’ उनले भने, ‘आएको पाँच दिनपछि बल्ल कोरोना परीक्षणका लागि भनेर स्वाब लगेका छन्, रिपोर्ट कहिले आउने हो, उपचार कहिले हुने हो थाहा छैन।’
अस्पतालको मुख्य गेटको अगाडि रहेको होटलमा उनीहरू बस्छन्। खाना र बस्नका लागि दैनिक एक हजार रुपैयाँभन्दा बढी खर्च भइरहेको छ।
‘सुरुमा होटलले राख्न पनि मानेको थिएन, स्थानीयलाई हारगुहार गरेपछि बल्लबल्ल बस्न त पाइयो, उपचार त कहिले हो कहिले,’ उनले दुःख सुनाए।
त्यसो त अस्पतालका आफ्ना छुट्टै समस्या छन्।
यहाँ कार्यरत करिब दुई दर्जन स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमा कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि निर्मलीकरण गर्न भन्दै करिब एक हप्ता अस्पताल नै बन्द गरिएको थियो।
अस्पताल बन्द हुँदा बिचल्लीमा परेका लोधजस्ता सयौँ बिरामीहरूको गुनासो सुनिदिने कोही भेटिँदैनन्।
मुखमा घाउ आएपछि पहिलो पटक साउन १ गते लोध क्यान्सर अस्पताल आइपुगेका थिए। अस्पतालले घाउ ठूलो रहेका कारण पहिले केमो चढाएर घटाउनु पर्ने, पछि अप्रेसन गर्नुपर्ने जानकारी गरायो। त्यतिखेर ऋण खोजेर लगातार २३ दिन होटलमा बसेर पहिलो केमो चढाएपछि उनी फर्केका थिए।
घर पुगेपछि उनले ऋण तिर्न र थप उपचार गर्न तीन कट्ठा जमिन बेचे।
‘जग्गा बेचेर आएको तीन लाख रूपैयाँ सकिन लाग्यो,' जयप्रकाशले सुनाए, ‘हाम्रो दुःख बुझिदिने कोही भएन।’
स्थानीय तहको सिफारिसपछि क्यान्सर रोगीका लागि एक लाख रूपैयाँसम्मको उपचार खर्चमा छुट हुनेगर्छ।
पहिलो केमो छुटबाटै भयो, दोस्रो केमो पनि चढाउँदा छुट सकिन्छ।
‘त्यसपछिको सबै खर्च व्यहोर्ने आफैंले हो,’ जयप्रकाशले सुनाए, ‘बाँकी भएको दुई कट्ठा जमिन र घर पनि बेच्नुपर्ने अवस्था आउलाजस्तो छ।’
लोध बर्दियामा मजदुरी गर्थे। उनले दैनिक ज्यालादारी मजदुरी गरेर कमाउने ४-५ सय रूपैयाँले परिवार चल्दै आएको थियो।
तीन भाइ छोरा र एक छोरी उनैको कमाइले पढ्दै थिए।
बिबिएस पहिलो सेमेस्टर पढ्दै गरेका जयप्रकाशले भने, ‘अब त पढाइ पनि यहीँ रोकिएलाजस्तो छ।’
कैलाली घर भएका ८१ वर्षीय मीनबहादुर खत्री छातीमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुगे। क्यान्सरको शंका लागेपछि डाक्टरले उनलाई भरतपुर क्यान्सर अस्पताल रिफर गरिदियो। डरले उनी उतिखेरै ट्याक्सी खोजेर भरतपुर आइपुगे। यहाँ आइपुगेको ११ दिन भयो उनले टिकट काट्नसम्म पाएका छैनन्।
अस्पतालमा कोरोना परीक्षणका लागि पालो पर्खिरहेका उनीलाई लागेको छ, ‘डाक्टरलाई भेट्न पाए त सञ्चो भइहाल्थ्यो कि।’
तर, उनले डाक्टर भेट्न पाउने कहिले हो थाहा छैन। भन्छन्, ‘उपचार नै सुरू नभई मरिन्छ कि क्या हो।’
कोरोना परीक्षणको रिपोर्ट आउनै केही दिन कुर्नुपर्छ। रिपोर्ट नआउँदासम्म उपचार गर्न अस्पताल तयार छैन।
महोत्तरीका अनवारूल कवारी दुई वर्षीय छोरा इहसान राइनलाई बोकेर उपचारका लागि भरतपुर आइपुगेको सात महिना भयो। उनको छोरालाई ब्लड क्यान्सर भएको छ। बच्चाको क्यान्सरको उपचार अस्पतालले नि:शुल्क गरिदिन्छ। तर, बस्न र खानामा उनको चार लाख रूपैयाँभन्दा बढी खर्च भयो।
‘अस्पताल बन्द हुँदा उपचार पछाडि धकेलिदै गएको छ,’ उनले दुःख सुनाए, ‘खर्च सकियो। के खाने, होटललाई के बुझाउने?’
अस्पतालनजिकै रहेका दर्जन बढी होटलहरूमा बस्ने करिब तीन सय जना बिरामीहरू उपचारको पर्खाइमा छन्।
अस्पतालले भने कोरोना परीक्षण बिना उपचार गर्न नसकिने बताएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भएर क्वारेन्टिनमा बसेका कारण सहज रूपमा सेवा दिन कठिनाइ भएको बताए।
‘अस्पताल आफैले कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याएपछि सहज हुन्छ हुन्छ होला,‘ उनले भने, ‘हामी ल्याब सञ्चालनको अन्तिम तयारीमा छौं।’
उनले अस्पतालले संकलन गरेर पठाएका स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामीहरूको स्वाबको रिपोर्ट प्राप्त गर्न ढिलो भएकाले उपचारमा पनि ढिलाइ भएको बताए।
भरतपुर अस्पतालमा दैनिक करिब ५ सय जना बिरामीहरू उपचारका लागि आउने गर्दछन्।