वीरगञ्जमा एक नर्सलाई दोस्रो पटक कोरोना संक्रमण भएको छ।
नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्समा दोस्रो पटक कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले बताए ।
डा.सिंहकाअनुसार पहिलो पटक कोरोना संक्रमण हुँदा उनलाई कुनै देखिएको थिएन। तर यसपटक भने ती नर्समा लक्षण पनि देखिएको छ।
उनका श्रीमान र छोरामा पनि कोरोना पोजेटिभ देखिएको छ।
तीनै जनालाई ज्वरो आएको जानकारी प्राप्त भएको डा.सिंहले बताए।
उनीहरू अहिले होम आइसोलेसनमा छन्।
बुधबार राति गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी नारायणी अस्पतालको आइसियूमा काम गर्दै आएकी थिइन्।
उनमा करिब एक डेढ महिना पहिले कोरोना संक्रमण भेटिएको थियो।
१४ दिन आइसोलेसनमा बसेपछि उनको रिपोर्ट नेगेटिभ आएको थियो।
‘उहाँले ज्वरो आएको र छातीमा समस्या भएको भन्नुभएको छ’, डा.सिंहले सेतोपाटीसँग भने, ‘हामीले उहाँहरूको विषयमा निरन्तर जानकारी लिइराखेका छौं।’
वीरगञ्जमा पहिले पनि एक जना नर्सलाई निको भएपछि पुनः कोरोना संक्रमण भएको थियो।
‘हाम्रै अस्पतालमा काम गर्ने एक जना नर्सलाई पहिले पनि निको भइसकेपछि पुनः पोजेटिभ देखिएको थियो’, डा.सिंहले भने, ‘तर त्यतिखेर उहाँलाई दोस्रो पटक पनि लक्षण देखिएको थिएन।’