चितवन प्रशासनले कोरोना संक्रमण थप बढेको भन्दै निषेधाज्ञा लम्ब्याएको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सूचना जारी गर्दै भदौ १९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताएका हुन्।
भरतपुर महानगरपालिकाले साउन ३० गतेदेखि एक हप्ताका लागि महानगरमा निषेधाज्ञा गरेको थियो।
साउन ५ गतेबाट जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै शुक्रबार राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्यो।
कोरोना संक्रमण समुदायमा फैलिएको आकलन गर्दै प्रशासनले पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए।
यद्यपी यसपटक निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ।
यसअघि पूर्णरूपमा बन्द गरिएकोमा अब हरेक दिन १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्न छुट दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। यसका लागि बैंकहरूलाई ५० प्रतिशत कर्मचारीलाई मात्र काममा खटाएर सामाजिक दूरी कायम गर्दै सेवा दिन भनेको छ।
साथै सरकारी कार्यालयहरूलाई पनि ५० प्रतिशत कर्मचारीलाई आन्तरिक कार्य सञ्चालन गर्न भनेको छ। तर सवारी सञ्चालनका लागि कर्मचारीहरूले कार्यालयले जारी गरेको ड्युटी रोस्टर अनिवार्य लिनुपर्ने प्रशासनले स्पष्ट पारेको छ।
त्यसैगरी, उद्योग परिसरभित्रै क्वारेन्टिन निर्माण गरेर काम सञ्चालन गर्न पनि छुट दिइएको छ।
पशुपंक्षीको दाना, कृषि तथा पशुजन्य उपज र कृषि औजार ओसारपोसार, विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेटलगायतका जनउपयोगी सेवा जडान र मर्मतका लागि उपकरणसहितका सवारी साधन सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।