शनिबार एकै दिन चितवनका १ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ।
भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २९ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ एकैदिन सय भन्दा बढीको संख्यामा संक्रमित फेला परेका हुन्।
शनिबारै दिउँसो चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरू २१ देखि ८० वर्षसम्मका छन्।
भरतपुरका संक्रमितहरू भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, भरतपुर क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब लिइएकाहरू हुन्। खैरहनीका दुईजना होम क्वारेन्टिनमा छन्।
त्यसैगरी, अन्य जिल्ला घर भएर चितवनका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका १३ जनामा संक्रमण देखिएको छ।
उनीहरू तनहुँ, झापा, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, वागलुङ र झापाका हुन्।
तनहुँको देवघाटस्थित क्वारेन्टिनमा रहेका एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६०० नाघेको छ।
यहाँ उपचाररत् ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। उनीहरूमध्ये ४ जना चितवनका हुन्।