चितवनमा कोभिड अस्थायी अस्पताल बन्द भएको साढे २ महिनापछि आइसोलेसन सेन्टरको स्थापना गरिएको छ।
भरतपुर महानगरपालिकाको संयोजनमा २०७६ चैतमा स्थापना भएको कोभिड अस्थायी अस्पताल २०७७ असार २ गते बन्द भएको थियो। यो अवधिमा चितवनमा करिब ५ सय जना कोरोना संक्रमित थपिए। तर अस्पतालको अभावमा अधिकांश बिरामी होम आइसोलेसनमै बस्न बाध्य भएका थिए।
भरतपुर-१ स्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्रको रूपमा सञ्चालनमा ल्याइएको छ।
योग र प्राकृतिक पद्दतिबाट बिरामीको उपचार गर्दै आएको चिकित्सालयमा आइतबारबाट लक्षण नभएका कोरोना संक्रमितलाई राखिने चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले बताए। तत्काल ७५ जना संक्रमितलाई राख्नेगरी व्यवस्था मिलाइएको उनले बताए।
चितवनमा आइतबारसम्ममा ६ सय बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा करिब एक सय जना होम आइसोलेसनमा छन्। नयाँ आइसोलेसन केन्द्रमा भरतपुर महानगरभित्रका लक्षण नभएका संक्रमितहरुलाई राख्न लागिएको मेयर रेणु दाहालले बताइन्।
हरेक दिन संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले आवश्यकताअनुसार क्षमता बढाउँदै लगिने बताइन्।
‘भरतपुरमा कहालीलाग्दो अवस्था आउँदैछ, अब आउँदै गरेको भयावह अवस्थाको सामना गर्न हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ’, उनले भनिन्, ‘महानगरपालिकाले सक्दो प्रयास गरिरहेको छ।’
मेयर दाहालले देशमा कोरोना महामारी सुरू हुँदैगर्दा स्थापना गरिएको कोभिड १९ अस्थायी अस्पताल विविध कारणले आफैं आइसोलेसनमा पुगेको बताइन्।
ती विविध कारण नखुलाइकन उनले भनिन्, ‘तत्काल त्यही अस्पताल सञ्चालनमा नआए पनि महानगरपालिकाले जिम्मेवारी बोध गरेर नयाँ स्थानको खोजी गरी आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।’
सरोकारवालाकै बीचमा विवाद बढेपछि असार २ गते निर्मलीकरणका लागि भन्दै सेवा बन्द गरिएको कोभिड अस्थायी अस्पताल अघोषित रूपमा बन्द छ।
ठूलो लगानी र तामझामका साथ स्थापना गरिएको अस्पताल संक्रमित बढ्दै जाँदा बन्द भएपछि महानगरपालिका र भरतपुर अस्पतालको आलोचना बढ्दै गएको थियो।
मेयर दाहालले कोरोना संक्रमितको अवस्था बढ्दै जाँदा आफू हतोत्साहित बन्न थालेको समयमा प्राकृतिक चिकित्सालयले हौसला दिएको बताइन्।
प्रदेश र संघीय सरकारसँग समन्वय गरेर संक्रमितको व्यवस्थापन गर्ने उनले बताइन्। साथै चितवनमा स्वचालित पिसिआर मेसिनसहितको प्रयोगशाला स्थापना गर्ने तयारी सुरु भएको उनले बताइन्।
भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले आइसोलेसन केन्द्रको स्थापनासँगै अस्पतालमा बिरामीको चाप घट्ने र उपचारमा सहज हुने बताए। आइसोलेसन केन्द्रलाई आवश्यक पर्ने प्राविधिक सहयोग भरतपुर अस्पतालले गर्ने उनले बताए।
आइसोलेसन केन्द्रका संयोजक प्राकृतिक चिकित्सालयका प्रमुख डा.हेमराज कोइरालाले संक्रमितको उपचार गर्नका लागि अन्य बिरामीको उपचार सेवा केही समयका लागि स्थगन गरिने बताए।
‘बिरामीलाई योग र प्राकृतिक पद्दतिबाट उपचार गर्नेछौं’, उनले भने, ‘संक्रमितको शरीरमा रहेको भाइरसलाई हटाउन यो विधि प्रभावकारी हुनेछ भन्ने विश्वास छ।’
उनले संक्रमितलाई योग, क्रिया र प्रणायाम गराउनुकासाथै भोजनमा नियन्त्रण गरिने बताए।
कोरोना संक्रमितहरु बढेसँग पूर्वी चितवनका चारवटा स्थानीय तहहरुले पनि संयुक्त आइसोलेसन तयार पारेर संक्रमितलाई राखेका छन्।