बिरामीको उपचारका लागि रगतको अभाव भएपछि चितवनमा प्रहरीहरूले रक्तदान गरेका छन्।
रगतको बढ्दो अभाव कम गर्न र नागरिकमा रक्तदानबारे सचेतना जगाउन सुरक्षाकर्मीहरू रक्तदानमा सहभागी भएको चितवन प्रहरीका प्रमुख एसपी नान्तिराज गुरुङले बताए।
जिल्लाका प्रायः अस्पताल कोरोना संक्रमितले भरिन थालेको छ।
अन्य रोगका बिरामीहरू पनि उत्तिकै छन्। तर उपचारका क्रममा आवश्यक पर्ने रगतको भने अभाव हुँदै आएको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय र युवा उद्यमी मञ्च चितवनले संयुक्तरूपमा रक्तदान कार्यक्रम गरेका थिए।
४१ जना प्रहरीहरूले रगत दान गरेको मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले समुदायको निम्ति रक्तदान गरेको एसपी गुरुङले बताए।
‘हाम्रो काम नै जनताको सुरक्षा गर्ने हो’, एसपी गुरुङले भने, ‘रक्तदानको माध्यमबाट पनि उहाँहरूको सुरक्षामा भूमिका खेल्न सकिन्छ भनेर लागेका छौं।’
उनले यसबाहेक कोरोना भाइरससम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रममा पनि प्रहरीको सक्रियता रहँदै आएको बताए।
जिल्ला रक्त सञ्चार केन्द्र चितवनका प्रमुख रमेशकान्त पौडेलकाअनुसार जिल्लामा निषेधाज्ञा घोषणा गरिएसँगै रगतको चरम अभाव भएको थियो।
‘करिब एक हप्ता ब्लड बैंक नै रित्तिएर रगत लिन आउनेलाई रित्तो हात पठाउनुपर्ने भएको थियो’, पौडेलले भने, ‘रगत नपाएकै कारण बिरामी मर्ने अवस्था आउन थालेपछि युवा उद्यमी मञ्चसँग सहकार्य गरेर रक्तदानका गतिविधिहरू अघि बढायौं।’
पौडेलकाअनुसार केही दिनयता निरन्तर रक्तदान कार्यक्रम भएपछि अवस्था सामान्य हुन थालेको छ।
उनले कोरोनाको लक्षण नदेखिएका र ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूले रक्तदानमा सहभागिता जनाएको बताए।
‘हामीले अब केही दिनलाई पुग्ने रगत जम्मा गरेका छौं’, उनले भने, ‘रक्तदानलाई निरन्तरता दिन सकियो भने थप सहज हुन्छ ।’
कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै जारी गरिएको भरतपुरमा निषेधाज्ञाले भरतपुर सुनसान बनेको थियो।
उक्त समयमा धेरै बिरामीहरूले रगतको अभाव भएको गुनासो गरेपछि रक्तदान कार्यक्रम निरन्तर गर्न थालिएको मञ्चका निवर्तमान अध्यक्ष दाताराम घिमिरेले बताए।
‘बाराका एक जना बिरामी र तिनका आफन्तहरू रगत नपाएर रोइरहेका देख्यौं’, घिमिरेले भने, ‘यस्तो अवस्था आउन दिनुहुन्न भन्ने लागेर भदौ ८ गतेयता लगातार रक्तदान कार्यक्रम गर्दै आएका छौं।’
यो अवधिमा २ सय ६७ जनाले रक्तदान गरेको घिमिरेले बताए।
उनीहरूमध्ये एक जना विदेशी पनि थिए। पर्यटकीय क्षेत्र सौराहामा बस्दै आएका होल्याण्डका नागरिकले रक्तदानमा सहभागिता जनाएका थिए।
युवा उद्यमी मञ्च चितवनले देशव्यापी लकडाउन सुरू भएकाबखत नारायणगढको पुल्चोकमा स्टल खडा गरेर पैदल यात्रु र विपन्न व्यक्तिहरूलाई करिब एक महिना खाना खुवाएको थियो।
पछि प्रहरीसँग मिलेर केही समय प्रहरी बिटमार्फत् खाना वितरण पनि गरेको अध्यक्ष सापकोटाले बताए।
‘दुःखको अवस्थामा सामाजिक उत्तरदायित्व सम्झिएर सेवा गरेका हौं’, सापकोटाले भने, अहिले जारी रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिँदै जाने प्रयास गर्नेछौं ।’
मञ्चले रक्तदानका लागि दुई स्थानमा ग्रीन लायन्स क्लब र केसरबाग युथ क्लबसँग पनि सहकार्य गरेको थियो ।