मंगलबार दिउँसोसम्ममा क्यान्सर अस्पताल भरतपुरमा ६१ जना बिरामी तथा कुरुवालाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरुमध्ये ९० प्रतिशत चितवन बाहिरका हुन्। उनीहरु अहिले कहाँ कसरी बसिरहेका छन् भन्ने विषयमा अस्पताललाई जानकारी छैन।
उपचारपूर्व गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएका केही व्यक्ति सवारीसाधनको जोहो गरेर घर फर्किए पनि धेरै संक्रमित भरतपुर आसपासमै डुलिरहेका छन्। स्थानीय मेडिकल सञ्चालक विमल लामिछाने संक्रमित कोरोना पोजेटिभ रिपोर्ट खल्तीमा राखेर डुलिरहेको बताउँछन्।
‘म मेडिकलमै बसिरहेको थिएँ, एक जनाले खल्तीबाट कागज निकालेर मेरो पोजेटिभ आयो रे हेर्दिनुस् न भन्दै आइपुगे’, उनले भने, ‘यसरी पोजेटिभ रिपोर्ट बोकेर डुल्नेले कतिलाई संक्रमण सारे होलान्।’
क्यान्सर अस्पतालले पोजेटिभ रिपोर्ट आउनेलाई बेवारिसे रुपमा छाडिदिने गरेका कारण समुदायमा जोखिम बढेको लामिछाने बताउँछन्। कोरोना संक्रमितलाई यहाँका होटलहरुले पनि बस्न दिँदैनन्। यातायात बन्द रहेका कारण टाढाबाट आउनेहरु तत्काल घर फर्कन पनि सक्दैनन्।
होटल सञ्चालक भुपेन्द्रराज सापकोटा अस्पतालले पोजेटिभ रिपोर्ट आएकाहरुको पूर्ण विवरण उपलब्ध नगराउँदा जोखिम बढेको बताउँछन्। ‘मेरो होटलमा बस्दै आएकाहरुमा पनि कोरोना संक्रमण छ कि छैन थाहा छैन’, उनले भने, ‘हामी आफै पनि जोखिममा छौं।’
घर फर्किनका लागि एम्बुलेन्सले चर्को भाडा असुल्ने भएका कारण आर्थिक अवस्था कमजोर भएका कतिपय संक्रमितहरु रिपोर्ट लुकाएर होटलमा बस्ने गरेको उनी बताउँछन्।
नेगेटिभ रिपोर्ट आउनेको मात्रै उपचार गर्ने र पोजेटिभ आएकाको व्यवस्थापनमा चासो नदेखाउँदा समस्या देखिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकाल बताउँछन्। संक्रमितहरुलाई उनीहरुको स्थानीय तहहरुसँग सम्पर्क गरेर पठाउन प्रयास गरिरहेको उनले बताए।
‘घर पठाउन नसकिएकालाई भरतपुर अस्पताल र आइसोलेसन केन्द्रमा राख्न अनुरोध गर्ने गरेका छौं तर उहाँहरुले सबैलाई राख्न सक्ने अवस्था छैन’, उनले भने, ‘देशैभरबाट बिरामी आउने भएका कारण व्यवस्थापनमा समस्या भएको छ ।’
क्यान्सर अस्पतालको मुल गेट अगाडि रहेका करिब दुई दर्जन होटलहरुमा अहिले तीन सय जना भन्दा बढी बिरामी तथा कुरुवाहरु बस्ने गरेका छन्। पिसिआर परीक्षणमा बिरामीलाई नेगेटिभ देखिएर कुरुवालाई भने पोजेटिभ देखिएका घटना पनि छन्। यस्ता बिरामीहरुको उपचार पनि अस्पतालले गरेको छैन।
अध्यक्ष ढकाल संक्रमितलाई घर पठाउन खोज्दा एम्बुलेन्सले चर्को भाडा माग्ने भएका कारण समस्या भएको बताउँछन्। ‘झापा, सप्तरी जानका लागि ५० हजार देखि ८० हजार रुपैयाँ सम्म भाडा माग्छन्’, उनले भने, ‘एम्बुलेन्सको मनलाग्दीका कारण पनि संक्रमित यतै डुलिरहने खतरा बढ्यो।’ नजिकै रहेको भरतपुर अस्पताल र आइसोलेसन केन्द्रसम्म पुग्न पनि एम्बुलेन्सले दश हजार रुपैयाँसम्म असुल्ने गरेको उनले बताए।
कोरोना संक्रमण पुष्टि भएका सप्तरीका युवालाई तीन दिनपछि मात्रै भरतपुर अस्पतालको आइसोलेसनमा पठाइयो। दाइको कुरुवा बनेर आएका उनलाई कोरोना भएपछि क्यान्सरका बिरामी दाइ त यसैपनि जोखिममा परे, तीन दिनसम्म आइसोलेसन फेला नपर्दा होटल सञ्चालकदेखि स्थानीयसम्मलाई जोखिम भयो। ‘घर फर्किन खोज्दा एम्बुलेन्सले ५० हजार रुपैयाँ माग्यो, मसँग त्यति पैसा नभएका कारण यहीँ बसेँ’, संक्रमित युवकले भने।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर देजकुमार गौतम पोजेटिभ रिपोर्ट आएका बिरामीहरुको व्यवस्थापनको योजना अस्पतालसँग नभएको बताउँछन्।
‘अस्पतालका स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिएका कारण पोजेटिभ नतिजा आउनेहरुको उपचार गर्न सक्ने अवस्थामा हामी छैनौं’, उनले भने, ‘उनीहरुलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा योजना बनिसकेको छैन तर कतै ठाउँ खेजेर व्यवस्थापन गर्न सकिन्छ कि भनेर सल्लाह भने भइराखेको छ।’
डा. गौतामले अस्पताल नै कोरोना भाइरसको जोखिममा रहेको भन्दै सकेसम्म यसबाट बच्दै सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको बताए।
अस्पतालको आफ्नै पिसिआर प्रयोगशाला सञ्चालनमा आएपछि रिपोर्ट छिटो आउने र वातावरण सहज बन्ने उनले बताए। उनकाअनुसार पिसिआर प्रयोगशाला सञ्चालनको अन्तिम तयारीमा छ।
अहिले क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीको पिसिआर रिपोर्ट आइपुग्न एक हप्ता भन्दा बढी समय लाग्ने गरेको छ। अस्पतालले अहिलेसम्म ३ हजार ६ सय जनाको पिसिआर परीक्षण गरेको छ। उनीहरु मध्ये ६ सय जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन्।
अस्पतालका एक जना डाक्टर, १७ जना नर्स, १४ जना एटेन्डर र एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। चितवनमा अहिलेसम्म एक सय जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।