कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल चितवनका स्वास्थ्यकर्मीले दुई महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। कोरोना भाइरसको महामारीका बीच फ्रन्टलाइनमा खटेका उनीहरूलाई तलब नपाउँदा परिवार धान्नै मुस्किल भएको छ।
अस्पताल प्रशासनसँग पटक-पटक अनुरोध गर्दा पनि समयमै तलब पाउन नसकिएको यहाँ कार्यरत नर्सहरूले बताए।
‘महामारीको बेलामा हामीलाई अस्पतालले पनि सहयोग नगरे कसले गर्छ’, अस्पतालमा २० वर्षदेखि काम गर्दै आएकी एक नर्सले सेतोपाटीसँग भनिन्, ‘महिनौंदेखि तलब सुविधा नपाउँदा परिवार धान्नै मुस्किल भयो।’
तलब माग्दा अस्पताल प्रशासनबाट धम्कीपूर्ण भाषा प्रयोग हुने गरेको उनले बताइन्।
‘यतिका वर्ष यहीँ काम गरियो अब छाडेर कता जानु’, उनले भनिन्, ‘सञ्चालकहरू चित्त नबुझे जागिर छाडे हुन्छ जस्तो शैलीमा प्रस्तुत हुन्छन्।’
अस्पतालका डाक्टर, नर्स, एटेन्डरले लकडाउनयता महिनौंको तलब पाएका छैनन्। उनीहरूले अस्पतालका निर्देशक डाक्टर मनोहरलाल प्रधानको धेरै पटक ध्यानाकर्षण गराएका छन्।
‘उहाँले हुँदैछ केही समय पर्खनुमात्रै भन्नुहुन्छ। हाम्रो त बिजोगै भयो’, उनले सुनाइन्।
अस्पतालका मुख्य सञ्चालक डाक्टर भि नटराज प्रसादलाई स्वास्थ्यकर्मीले लकडाउनयता देखेका छैनन्। उनको अनुपस्थितिमा अस्पतालको सबै जिम्मेवारी डा.प्रधानले लिदै आएका छन्।
‘उहाँ पनि जिम्मेवारीबाट पन्छिनुहुन्छ’, एक अर्की नर्सले गुनासो गरिन्, ‘हामी तलब माग्दै कहाँ पुग्ने?’
वर्षौंदेखिको जागिर गुम्ने डरले आफ्नो नाम सार्वजनिक नगरिदिन यहाँका पीडित नर्सहरूले आग्रह गरेका छन्।
‘ज्वरो आउँदा औषधी किन्ने पैसा पनि छैन’, अस्पतालमा कार्यरत एटेण्डरले भनिन्, ‘घरमा खाने कुरा सकिएको हप्तौं भयो, अस्पतालले हाम्रो कुरा सुन्दै सुन्दैन।’
उक्त अस्पतालले केही स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई जुन महिनासम्मको तलब अगस्ट महिनाको ३१ तारिखमा उपलब्ध गराएको छ। धेरैले अझै पनि जुन महिनाको तलब पनि नपाएको गुनासो गरे।
‘धेरै पटक विरोध गरेपछि दुई महिना अघिको तलब पाइयो’, अर्की एक नर्सले भनिन्, ‘जोखिम भत्ता त हाम्रो लागि आकाशको फल भनेजस्तै हो।’
स्वास्थ्यकर्मीसँगको छलफलमा अस्पतालका निर्देशक डा.प्रधानले सक्दो छिटो तलब उपलब्ध गराउन प्रयास गर्ने बताएका छन्। उनकाअनुसार अस्पतालका नर्सहरूले तीन महिना र डाक्टरहरुले ६ महिनादेखि तलब नपाएको कुरा सञ्चालकहरूलाई जानकारी गराइएको छ।
‘अस्पतालका सञ्चालकहरूसँग मेरो कुरा भइरहेको छ’, आफूलाई भेट्न आएका स्वास्थ्यकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘सक्दो चाँडो तलब पठाउने प्रयास गर्नेछौं।’
स्वास्थ्यकर्मीहरू भने अस्पतालको भाषा सधैँ यस्तै हुने गरेको सुनाउँछन्।
अस्पतालका सञ्चालक र कर्मचारीबीच समन्वय गर्दै आएका मेन्टिनेन्स इन्चार्ज हिमनाथ घिमिरेले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले केही महिनाको तलब नपाएको स्वीकारे।
‘हामीले चाहँदा-चाहँदै पनि समयमै तलब दिन सकेका छैनौं’, उनले सेतोपाटीसँग भने, ‘अहिले अस्पतालको कमाई पनि कम भएका कारण अप्ठेरो भइरहेको छ।’
स्वास्थ्यकर्मीमा कोरोना संक्रमणका कारण अस्पतालले पहिलेजस्तो सेवा दिन नसकेको उनले बताए।
‘अस्पतालको कमाई कम भएका कारण तलब समयै दिन नसकिएको हो’, उनले भने, ‘हामी सकेसम्म तल्लो तहका कर्मचारीहरुको तलब निरन्तर उपलब्ध गराउन योजना बनाउँदैछौं।’
तल्लो तहका करिब ५० प्रतिशत कर्मचारीलाई केही दिनअघि तलब दिइएको उनले बताए। घिमिरेले भनेको उक्त तलब जुन महिनाको हो। घिमिरेले फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरुलाई भत्ता पनि उपलब्ध गराउने योजना रहेको सुनाए।
सुरक्षा सामग्रीबिना फ्रन्टलाइनमा
अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचारका क्रममा आवश्यक सुरक्षाका सामग्रीसमेत उपलब्ध नगराइएको गुनासो गरेका छन्।
‘सामान्य पोशाकै भरमा संक्रमितको उपचारमा खट्नु पर्ने बाध्यता छ’, स्वास्थ्यकर्मी भन्छन्, ‘पिपिई, पञ्जा, मास्कलगायतका सामग्री माग्दा पनि पाउन सकिएको छैन।’
उनीहरूले कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीहरू जोखिम मोलेर घरबाटै आउने जाने गरिरहेको बताए।
‘सबैको उपचार गर्न बाध्य पार्ने तर क्वारेन्टिनको उचित व्यवस्थापन नगरिदिने भएकाले समस्या भएको छ’, अस्पतालकी एक नर्सले भनिन्, ‘परिवारमा संक्रमण भयो भने कसले हेरिदिने?’
उनीहरूले अस्पतालको बेवास्ताका कारण परिवारका अन्य सदस्यहरु पनि जोखिममा परेको गुनासो गरे। अस्पताल प्रशासनले भने संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मीहरुका लागि क्वारेन्टिनको व्यवस्था रहेको दाबी गरेको छ।
अस्पतालमा अहिलेसम्म २८ जना स्वास्थ्यकर्मी/कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।