चितवनमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा थेरापीको अन्तिम तयारी भइरहेको छ। भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले कोरोना संक्रमितको रगत संकलन गरेर प्लाज्मा निकाल्नका लागि प्राविधिक रुपमा तयार रहेको जनाएको छ।
केन्द्र र भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि आफूहरू तयार रहेको जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई पत्र लेखेर आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन्। ‘यो विल्कुलै नयाँ प्रयोग हो। यस विषयमा अझै पनि धेरै कुराहरू बाहिर आइसकेका छैनन्,’ भरतपुर अस्पतालका कोभिड-१९ फोकल पर्सन फिजिसियन डा. प्रमोद पौडेलले सेतापाटीसँग भने, ‘प्लाज्मा थेरापी सुरु गर्दैगर्दा आवश्यक पर्ने सहयोगका लागि तयार रहनुहोला भनेर हामीले पत्र पठाएका छौं।’
उनले रक्तसञ्चार केन्द्र अस्पतालले ध्यान दिँदादिँदै पनि हुनसक्ने जोखिममा अन्य निकायको सहयोग आवश्यक पर्ने भएकाले जानकारी गराइएको बताए। ‘अहिलेसम्मको अनुभवमा यसबाट जोखिम अत्यन्तै कम छ,’ उनले भने, ‘त्यसैले हामीले चितवनमा पनि सुरु गरौं भनेर लागिपरेका छौं।’
डा. पौडेलले तत्काल प्लाज्मा आवश्यक पर्ने बिरामीका लागि मात्रै नभएर भविष्यमा आवश्यकता पर्न सक्नेका लागिसमेत उपयोगी हुने गरी प्लाज्मा बैंक नै खडा गर्ने तयारी भइरहेको जानकारी दिए।
कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिने विज्ञ बताउँछन्। प्लाज्मा रगतको तरल (पहेंलो) खण्ड हो । यो रगतको कूल मात्राको करिब ५५ प्रतिशत हुन्छ। यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ।
प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरूद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो। कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ। एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्णरूपले निको हुने दाबी चिकित्सकहरुको छ।
अहिलेसम्म रगत दिनका लागि कोरोना संक्रमणमुक्त आठ जना तयार भइसकेको उनले बताए। उनीहरूमध्ये माडी नगरपालिकाका पाँच जना र भरतपुरमा रहेका स्वास्थ्यकर्मीहरू तीन जना छन्। कोरोना संक्रमणमुक्त भएका बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले रिपोर्ट नेगेटिभ आएकै दिन प्लाज्मा दिनका लागि तयार रहेको घोषणा गरेका थिए।
भरतपुर अस्पतालले कोरोना संक्रमणमुक्त भएका १५० जनासँग सम्पर्क गरेर आवश्यक जानकारीहरु लिइएको बताएको छ। डा. पौडेलले कोरोना जितेका मध्येबाट अन्य रोग नभएका र जोखिममा नरहेका व्यक्तिहरुको सूची तयार पारिएको बताए। ‘हामीलाई रगत दिन तयार छौं भनेर बुटवल, हेटौंडाबाट पनि फोन गर्नुभएको छ,’ उनले भने, ‘नवलपुरसिथत सामुदायिक प्राकृतिक चिकित्सालयसँग पनि समन्वय गर्दैछौं।’
अस्पतालले सार्वजनिक सूचना नै निकालेर अस्पतालको सम्पर्कमा आउन रगत दिन इच्छुक र योग्य व्यक्तिलाई अनुरोधसमेत गरेको छ। संक्रमण मुक्त भएका व्यक्तिको शरीरमा हुने एन्टिबडीले गम्भीर अवस्थाका संक्रमितलाई बचाउन सकिने भएकाले निश्चिन्त भएर रगत दिन सकिने डाक्टर पौडेलले बताए। ‘यस विषयमा कतिपय भ्रमहरू पनि छन्, केहीले रगत दिँदा कोरोना सर्छ भन्ने गरेका छन्, प्लाज्मा लिँदा जोखिम हुन्छ कि पनि भन्ने गरेका छन्,’ डा.पौडेलले भने, ‘पूर्ण रुपमा सुरक्षित भएर रगत संकलन गर्ने र प्लाज्मा दिइने भएकाले डराउनु पर्दैन।’
उनले एक पटक संक्रमण भएर संक्रमणमुक्त भएको मान्छेलाई तीन महिनासम्म संक्रमण नहुने दाबी गर्दै भने, ‘केही अपवादहरू हुन सक्लान्, त्यसैले हामी पुनः परीक्षण गरेर नेगेटिभ पुष्टि भएपछि मात्र रगत लिन्छौं।’ कोरोना मुक्त भएको १४ दिनपछि रगत दिन योग्य हुने उनले बताए।
उनीहरूले दिएको रगतबाट प्लाज्मा निकालेर अति आवश्यक परेका बिरामीहरूलाई दिइनेछ। भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइसकेको छ। यहाँ रहेका दुई वटा मेडिकल कलेजहरू पनि प्लाज्मा थेरापीका लागि योग्य छन्। ‘यहाँ भेन्टिलेटरको सहयोगमा उपचार गराइरहेका र असाध्यै जोखिममा रहेका बिरामीहरूलाई अवस्था हेरेर प्लाज्मा थेरापी गर्ने तयार हाम्रो छ,’ डा.पौडेलले भने, ‘केही दिनमा हामी सुरू गर्छौं।’
भरतपुरमा रहेका अस्पतालहरुमा ५० वटा भेन्टिलेटर छन्। अधिकांशमा कोरोना संक्रमित बिरामीहरू उपचार गराइरहेका छन्। कोरोना भाइरसको औषधी पत्ता नलागिसकेका कारण प्लाज्मा थेरापीले केही आशा देखाएको उनले बताए। यद्यपि, प्लाज्मा थेरापी सत प्रतिशत सफल भने नरहेको उनले बताए। नेपालमा यसको प्रयोग ५७ प्रतिशतसम्म सफल भएको भन्दै उनले जटिल प्रकारका बिरामीको उपचारका लागि आफूहरूसँग यसबाहेकका विकल्प नरहेको बताए।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले प्लाज्मा संकलनका लागि केन्द्र तयार रहेको बताए। ‘हामी प्राविधिक रुपमा त केही दिनअघि नै तयार थियौं, केही प्रक्रिया मिलाउनुपर्ने भएका ढिलाइ भएको छ,’ उनले भने, ‘प्राविधिक, रगत दिने, रगत लिने कसैलाई पनि जोखिम नहुने गरी हामीले तयारी गरिरहेका छौं।’ उनले यसका लागि प्रशासन र स्थानीय तहको पूर्ण सहयोग चाहिने बताए।
रक्तसञ्चार केन्द्रका केही प्राविधिक र कर्मचारीमा कोरोना संक्रमण भएका कारण प्लाज्मा संकलनको काम केही दिन पर सरेको हो। केन्द्रलाई निर्मलीकरण गरेर रगत संकलन सुरू गरिने पौडेलले बताए।
अहिलेसम्म चितवनका मात्रै ८ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। उनीहरूमध्ये १ सय ५६ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना संक्रमित १० जनाको उपचारका क्रममा मृत्यु भएको छ।