चितवनमा प्लाज्मा दान सुरू भएको छ। कोरोना भाइरसको संक्रमणमुक्त भएका तीन जनाले बिहीबार भरतपुरस्थित रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले संक्रमणमुक्त हुनेहरूलाई स्वागत गर्दै प्लाज्मा दानको सुरूआत गरिएको घोषणा गरेको हो। प्लाज्मा दान गर्नेहरूले कोरोनासँग लडिरहेकाहरूलाई रगत दिन पाउँदा खुसी लागेको बताए।
भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अधिकृत माधव पौडेलसहित उनको परिवारका ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनी कोरोनामुक्त भएको १४ दिनभन्दा बढी भयो। भरतपुरमा प्लाज्मा दानको तयारी भइरहेको थाहा पाएपछि पौडेलले चासो देखाए।
‘मेरो रगतले कसैको जीवन बच्छ भने मैले किन नदिने भन्ने लाग्यो’, पौडेलले भने, ‘मै उत्साह र उच्च मनोबलका साथ प्लाज्मा दान गरेको छु।’
उनले निश्चिन्त भएर प्लाज्मा दान गर्न संक्रमणमुक्त भएका अन्यलाई आग्रह गरे।
भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्लाज्मा थेरापीको आवश्यकता महशुस भएको बताए।
‘जटिल अवस्थाका बिरामीको संख्या बढ्दो क्रममा छ’, उनले भने, ‘उनीहरूको ज्यान जोगाउनका लागि अस्पतालले रक्तसञ्चार केन्द्रसँग समन्वय गरेर प्लाज्मा संकलनको काम सुरू गरेको हो।’ डा.अधिकारीले प्लाज्मा बैंकका रूपमा खडा गरेर प्लाज्मा संकलन गर्ने काम सुरू भएको भन्दै आवश्यकताअनुसार उपयोग गर्दै जाने बताए।
‘हामीले संक्रमणमुक्त भएकाहरूलाई रक्तदान गर्न आग्रह गरिरहेका छौं, धेरैजना सकारात्मक पनि देखिनुभएको छ’, उनले भने, ‘सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर प्लाज्मा संकलन गरिनेछ।’
उनले कोरोना भाइरसको औषधि नै फेला नपरेको समयमा प्लाज्मा दिएर बिरामी बचाउन तयार हुनेहरू महानायक रहेको भन्दै समाजले पनि उनीहरूलाई सम्मान गर्नुपर्ने बताए।
अस्पतालका फिजिसियन डाक्टर प्रमोद पौडेलले बिरामीको शरीरमा रहेको भाइरसले निम्त्याएको जटिलतालाई प्लाज्माले सहज बनाउने बताए।
संक्रमणमुक्त भएकाहरूको रगतले संक्रमितको जीवन बाँच्ने भएका कारण बुझाउने काम भइरहेको बताए।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई बिहीबार नै प्लाज्मा थेरापीका लागि प्लाज्मा प्रदान गरिने बताए।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालले भेन्टिलेटरमा रहेका बिरामीलाई प्लाज्मा थेरापीका लागि अन्तिम तयारी भएको बताए।
धेरै दाताहरुले प्लाज्मा दानमार्फत् सहयोगका लागि तयार रहेको बताएको पौडेलले जानकारी दिए। मनोपरामर्शदाताहरूको सहयोगमा आवश्यक परामर्श दिँदै धेरैलाई सहभागी बनाउने लक्ष्य रहेको उनले बताए।
चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ८६२ पुगेको छ। उनीहरूमध्ये अहिलेसम्म १ सय ५६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित चितवनका ११ जनाको अहिलेसम्म मृत्यु भइसकेको छ।
जिल्लामा रहेका ५० वटा भेन्टिलेटर र अधिकांश आइसीयू शैय्याहरू कोरोना संक्रमितहरूले भरिएका छन्।
‘यसकारण पनि प्लाज्मा थेरापीको आवश्यकता बढी महशुस भयो’, डा.पौडेलले भने, ‘थेरापीले मृत्यु हुनेक्रममा नियन्त्रण गर्छ भन्ने अपेक्षा छ।’
कोरोना संक्रमितका लागि छुट्टै अपरेसन थिएटर
कोरोना संक्रमितको संख्या थपिँदै जान थालेपछि भरतपुर अस्पतालले ६ आइसियूसहित १ सय वटा शैय्या संक्रमितका लागि छुट्याएको छ।
अध्यक्ष डा.अधिकारीले संक्रमित स्वास्स्थकर्मी तथा अन्य र उनीहरूका कुरुवासमेतको व्यवस्थापन गर्नेगरी शैय्या विस्तार गरिएको बताए ।
अस्पतालले कोरोना संक्रमितको शल्यक्रिया गर्नका लागि छुट्टै अपरेसन थिएटर तयार पार्न लागेको जानकारी दिए।
अन्य बिरामीलाई संक्रमणको खतरा हुन नदिन सबै सेवा छुट्टाछुट्टै दिइने उनले बताए ।
अस्पतालले अहिलेको ल्याबमा पिसिआर परीक्षणमा ढिलाइ भएका कारण अटोमेटिक पिसिआर मेसिन माग गरिएको जनाएको छ।
‘केही दिनमा उपलब्ध गराउने आश्वासन मिलेको छ’, अधिकारीले भने, ‘हामी जतिसक्दो छिटो नतिजा दिनेगरी काम गर्दै छौं।’
उनले कोरोना संक्रमितका लागि आवश्यक औषधि रम्डेसिभिर पनि प्राप्त भएकाले यसको प्रयोग पनि सुरू भइसकेको बताए ।