चितवनमा शुक्रबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो पटक चितवन मेडिकल कलेजको प्रयोगशालाबाट सार्वजनिक गरिएको रिपोर्टमा चितवनका मात्रै ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितहरूमा अन्य जिल्लाका ३१ जना छन्।
यसअघि शुक्रबार विहान भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा चितवनका १७ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो।
शुक्रबार एकै दिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू १ वर्ष देखि ७८ वर्षसम्मका छन्। उनीहरू मध्ये ४२ जना भरतपुर महानगरपालिकाका मात्रै छन्।
राप्ती नगरपालिकाका ९, रत्ननगरका ३, कालिकाका २, खैरहनीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
नयाँ विवरणअनुसार चितवनका ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको अन्तिम दिन शुक्रबार यति धेरै संख्यामा चितवनमा संक्रमित पुष्टि भएका हुन्।