जेठ २४ गते नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोभिड-१९ अस्पताल बनाउने तयारी चल्दै थियो। जिल्लाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको खबर आयो। केहीबेरमा स्थानीय तहले संक्रमितलाई अस्पताल ल्याइहाले। कोभिड अस्पतालको तयारीमा लागेकाको भागाभाग भयो।
सुरूआती अवस्था सम्झँदै अस्पतालका व्यवस्थापक हरिप्रसाद सापकोटाले भने, ‘कोरोना संक्रमितलाई राखेर उपचार गर्ने सहमति त थियो तर पहिलो पटक संक्रमितको नजिक परिँदैछ भनेपछि मानसिक रूपमा त्रास पैदा भयो।’
केही समयमै अस्पतालमा रहेका स्वास्थ्यकर्मीले मन दह्रो बनाए। तयार भएको आइसोलेसनमा राखेर उनीहरूको उपचार सुरू गरियो।
‘परेपछि गरिँदो रहेछ,' सापकोटाले भने, ‘उहाँहरूलाई निको बनाउनै पर्छ भनेर लागेपछि डर पनि हराउँदै जान थाल्यो।’
अस्थायी अस्पताल सुरू भएको साढे तीन महिना भयो। यो अवधिमा यहाँ चार सय बढी कोरोना संक्रमितको उपचार भएको छ। उनीहरूमध्ये ३ सय२९ जना निको भएर घर फर्किइसकेका छन्।
तीन वर्षीय बालकदेखि ७९ वर्षीय वृद्धसम्म निको भएर फर्किए। कोरोनाको लक्षणसमेत भएका दीर्घरोगी वृद्धले समेत स्वास्थ्य लाभ गरे। अहिले यही चिकित्सालयको अनुसरण गर्दै देशका विभिन्न स्थानमा कोरोना संक्रमितहरूको उपचार योग र प्राकृतिक चिकित्सा पद्दतिबाट गर्न थालिएको छ।
३ सय ५० जनाका लागि तयार पारिएको आइसोलेसनमा एकै पटकमा २ सय ५६ जनासम्मको उपचार भएको व्यवस्थापक सापकोटा बताउँछन्।
यहाँ अहिले ७५ जना संक्रमित छन्। जिल्लाका विभिन्न स्थानीय तहले सिफारिस गरेका संक्रमितलाई संक्रमणमुक्त बनाउन चिकित्सालयका डाक्टर विनोद पौडेल निरन्तर खटेका छन्।
संक्रमितको उपचारमा जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा दुई जना एमबिबिएस डाक्टर पनि खटेका छन्। उनीहरूबाहेक स्थानीय तहका तर्फबाट दुई जना र चिकित्सालयका दुई जना स्वास्थ्यकर्मी छन्।
यो अस्थायी कोरोना अस्पताललाई अहिलेसम्म नपलपुर (नवलपरासी बर्दघाट–सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाले ८/८ लाख र ४ वटा गाउँपालिकाले ७/७ लाख रूपैयाँ सहयोग गरेका छन्।
कोरोनाको उपचार: नाक र घाँटीको सफाइ
चिकित्सालयले संक्रमितलाई योग, ध्यान, प्राणायाममा सहभागी गराउनुका साथै स्वस्थकर खानपान पनि गराउँछ।
चिकित्सालयका डाक्टर विनोद पौडेलले कारोना संक्रमणबाट मुक्त हुन नाक र घाँटीको सफाइ महत्वपूर्ण हुने बताए।
यसका लागि उनले कोरोना संक्रमितहरूलाई जलनेती(नुनपानीले नाकको सफाइ गर्ने), तुलसी र निम राखेर उमालिएको पानी सुँघेर बाफ लिने तथा मुख कुल्ला गर्ने गराउँदै आएका छन्।
‘साबुन पानीले नियमित हात धुनु पनि महत्वपूर्ण कुरा हो तर योमात्रै महत्वपूर्ण होइन,' डा.पौडेल भन्छन्, ‘कोरोनाभाइरसबाट मुक्त हुन नाक, मुख र घाँटीमा रहेको भाइरसलाई निष्कृय बनाउनु पर्दछ।’
जलनेतीलगायत क्रियाले भाइरसलाई कमजोर बनाउने उनको दाबी छ। यो क्रियाले कोरोना भाइरसलाई समुदायमा फैलनबाट नियन्त्रण गर्नुका साथै मृत्युदर घटाउने उनी बताउँछन्।
‘नुनपानीले नियमित जलनेती गर्दा भाइरसको विकासमा अवरोध पुग्छ,' डा.पौडेल भन्छन्, ‘दुई महिनाभन्दा लामो अनुभवमा पनि यो प्रमाणित भइसकेको छ।’
लगातार सयौं बिरामीसँग सम्पर्कमा रहँदा पनि यहाँका स्वास्थ्यकर्मीहरूलाई संक्रमण नभएको उनले बताए।
‘यहाँ आएका अधिकांशको दोस्रो रिपोर्ट नै नेगेटिभ आएको छ, यो भनेको कोरोना छिटो निको हुनु हो,' उनले भने, ‘संक्रमित भएर आउने सबै सन्तुष्ट भएर फर्कनु भएको पाएका छौं।’
यो क्रियालाई चिकित्सालयमा मात्र नभई समुदायसम्मै पुर्याउन सके भाइरससँग लड्न सहज हुने उनी बताउँछन्।
यसबाहेक चिकित्सालयले बिरामीका लागि मनोपरामर्श पनि गर्ने गर्छ।
संक्रमितको मनमा डरले घर जमाएको हुनाले मनोपरामर्शबाट सकरात्मक सोचको विकास गरिने डा.पौडेलले बताए।
साथै संक्रमितहरूलाई हरेक दिन बिहान र साँझ संगीत र नृत्यमा सहभागी गराइन्छ।
‘सबै संक्रमितहरू दिल खोलेर नाच्नुहुन्छ, यसले उहाँहरूभित्र रहेको पीडालाई कम गर्दै रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ,' उनी भन्छन्।
बिरामीका लागि सुत्ने, उठ्ने, योग, प्राणायम, नुहाउने, खाना खानेदेखि घरमा कुरा गर्नेसम्मको समय निर्धारण गरिएको छ।
‘परिवारका सदस्यसँग कसरी कुरा गर्नेदेखि समुदायमा कस्ता सन्देश प्रवाह गर्नेसम्म पनि हामीले परामर्श दिन्छौँ,' डा.पौडेल भन्छन्, ‘उहाँहरूको मनमा नकारात्मक विषयले प्रवेश नै नपाओस् भन्नेमा हामी सजग रहन्छौं।’
डा.पौडेल चिकित्सालयले चुनौतीलाई अवसरका रूपमा परिणत गरेको बताउँछन्।
स्वास्थ्यकर्मीको आत्मविश्वासका कारण मुटुको बाइपास सर्जरी गरेका वृद्धदेखि श्वासप्रश्वासमा समस्या भएका, मिर्गौला रोगी, मधुमेह, रक्तचापका बिरामी पनि निको भएर फर्किएको उनले बताए।
‘सुरूमा आउँदा डरका कारण बिरामीहरूमा विभिन्न किसिमका लक्षण देखिए पनि केही दिनमा लक्षण हराउँदै गएका छन्,' उनले भने, ‘यहाँको वातावरणले उहाँहरूलाई मलाई त केही भएको छैन भन्ने बनाउँछ।’
एउटै परिवारका पाँच जना संक्रमित पनि यहाँ आए। एक जना संक्रमित त निको भएपछि पनि ४९ दिनसम्म बसेर फर्किए।
पछिल्ला दिनमा खानाको स्वाद थाहा नपाउने, खोकी, ज्वरो, घाँटी खसखस हुने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, शरीर दुख्नेलगायतका लक्षण भएका बिरामीहरू आउने क्रम बढेको उनले बताए। उनीहरूलाई सुरूआतमा आवश्यकताअनुसार एलोपेथिक औषधी पनि उपलब्ध गराउने गरिएको छ।
भारतमा एमबिबिएस सरहको ब्याचलर अफ नेट्रोपेटिक एन्ड योगिक साइन्स(बिएनवाइएस) पढेर डाक्टर बनेका पौडेल प्राकृतिक चिकित्सा पद्दतिले मान्छेको रोग प्रतिरोध क्षमताको विकास गर्दै शक्ति बढाउन मद्दत गर्ने बताउँछन्।
कोरोना संक्रमितको उपचार गरेर धेरैलाई सञ्चो भएको थाहा पाएपछि धेरै ठाउँबाट फोन आएको उनले बताए।
‘हामी पनि यस्तो उपचार सुरू गर्नुपर्यो भनेर धेरैतिरबाट फोन आयो,' उनले भने, ‘जिल्ला बाहिरका धेरै संक्रमितले पनि आउने इच्छा व्यक्त गर्नुभयो।’
तर यहाँ नवलपुरका स्थानीय तहका बासिन्दा, यस जिल्लामा कार्यरत व्यक्तिहरूको मात्र उपचार गर्ने सहमति भएको छ।
दीर्घरोगीको आशाको थलो
कोरोना कहर सुरू हुनुभन्दा पहिले चिकित्सालय अन्य बिरामी आउँथे। अहिलेसम्म ६५ जिल्लाका करिब २५ हजार जना बिरामीहरूलाई सेवा दिइसकेको सापकोटाले बताए।
‘उहाँहरूले केही न केही पाएरै जानुभएको छ,' उनले भने, ‘केहीले त सन्तुष्ट भएर अस्पताललाई करोडौं रुपैयाँ दान दिने, भवन निर्माणमा सहयोग गर्ने पनि गर्नुभएको छ।’
छालासम्बन्धी समस्याका कारण चिकित्सालय पुगेकी नारायणगढकी गौरीदेवी प्रधानले उपचारमा सन्तुष्ट भएपछि भवन निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ सहयोग गरेकी थिइन्।
अस्पतालका संस्थापकसमेत रहेका व्यवस्थापक हरिप्रसाद सापकोटा सबै अस्पताल चाहारेपछि अन्तिम विकल्पका रूपमा धेरै दीर्घरोगीले प्राकृतिक चिकित्सालयलाई सम्झने गरेको बताउँछन्।
‘तर अचेल करिब २५ प्रतिशत बिरामी त सुरूआतमै यहाँ आउने गरेका छन्,' उनले भने, ‘प्राकृतिक चिकित्साप्रति विश्वास बढ्दो क्रममा छ।’
प्यारालाइसिस, मधुमेह, मानसिक समस्या, ग्यास्ट्रिक, अल्सर, पायल्सलगायतका समस्या लिएर आउने बिरामीको संख्या धेरै रहेको उनले बताए।
‘जीवनशैलीमा परिवर्तन आएपछि बिस्तारै रोग पनि निको हुँदै जाने रहेछ,' सापकोटाले भने, ‘त्यसैले हामी बिरामीको शैली परिवर्तनमा ध्यान दिन्छौं।’
यहाँ आउने बिरामीलाई कम्तिमा १५ दिन अस्पतालमै राखेर उपचार गरिन्छ। उपचारसहित खाना र बस्नका लागि ९ सय रुपैयाँ लिने गरिन्छ।
‘विपन्न वर्गकालाई यसमा पनि छुट गर्ने गरेका छौं,' उनले भने, ‘सक्नुहुन्छ भने दिनुस् नसके भइहाल्यो भनेर पठाउँछौं।’
उपचारका लागि परम्परागतदेखि अत्याधुनिक उपकरणको प्रयोग गरिएको उनले बताए।
बिरामीका लागि अर्ग्यानिक खाना, फिजियोथेरापी, अकुपंचर, हाइड्रोथेरापी, म्यानिपुलेटिभ थेरापी, मड थेरापी(माटोको पैयोगबाट गरिने उपचार) गर्ने गरिएको उनले बताए। बिरामीलाई अर्ग्यानिक खाना खुवाउन चिकित्सालय आफैंले ६ विघा जमिनमा तरकारी खेती गरेको छ।
१२ वटा गाई पालेको छ। १० विघा जमिनमा फैलिएको चिकित्सालयमा मर्निङ, इभिनिङ् वाकका लागि करिब एक किलोमिटरको ट्रयाक पनि बनाइएको छ।
चिकित्सालयले ब्याचलर अफ नेट्रोपेटिक एण्ड यौगिक साइन्स(बिएनवाइएस)को पढाइ नेपालमै सुरू गर्नका प्रक्रिया पनि सुरू गरेको छ।
डा.पौडेलले संस्कृत विश्वविद्यालय र शिक्षा मन्त्रालयमा स्वीकृतिका लागि प्रकृया अघि बढेको भन्दै छिट्टै नेपालमै पहिलो पटक बिएनवाइएसको पढाइ सुरू गरिने जानकारी दिए ।
यसरी सुरू भयो चिकित्सालय
देवचुली-१६ रजहरका ४७ वर्षीय हरिप्रसाद सापकोटाको घरमा गाडी थियो। उनी त्यही गाडी चलाउँथे। जीवन ठीकठाक चलिरहेको थियो। विस्तारै विभिन्न रोगले जरो गाड्न सुरू गर्यो। टन्सिल, पिनास, अल्सर, रक्तचाप हुँदै डिप्रेसनको सिकार बन्न पुगे उनी।
उपचारका लागि नाम चलेका सबै अस्पताल पुगे तर रोग निको भएन, बरू बल्झियो। भरतको गोरखपुरमा राम्रो उपचार हुन्छ भन्ने सुनेर उनी त्यहाँ पनि पुगे। तीन महिनासम्म बसेर उपचार गराए। तर निको भएन।
‘मलाई क्यान्सर भइसक्यो, अब जति खर्च गरे पनि बाँच्दिनँ भन्ने भयो,' उनले सम्झिए, ‘बरू पैसा बचाइयो भने त आफू नरहे पनि परिवारलाई हुन्छ भन्ने लागेर घर फर्किएँ।’
केही समयपछि उनले पोखरामा प्राकृतिक चिकित्सालय खुलेको थाहा पाए। झिनो आशा बोकेर उनी पोखरा हानिए। करिब तीन महिनाको बसाइमा उनको स्वास्थ्यमा सुधार आउन थाल्यो। सापकोटाको उपचार गराउने उनै डाक्टर विनोद पौडल थिए, जो अहिले नवलपुरको चिकित्सालयमा सेवा गर्दैछन्।
स्वास्थ्यमा सुधार आएपछि सापकोटाले करिब ३ वर्ष पोखराकै चिकित्सालयमा सेवा गरे। पछि आर्थिक समस्याका कारण चिकित्सालय नै बन्द भयो, उनी घर फर्किए।
घर फर्किँदा सापकोटा स्वस्थ भइसकेका थिए। उनले गाउँका अगुवाहरूलाई आफ्नो पहिलेको अवस्था र अहिलेको अवस्थादेखि उपचार पाएको स्वास्थ्य केन्द्रको विषयमा अवगत गराए। अनि त्यस्तै स्वास्थ्य संस्था स्थापना गर्ने वातावरण बनाए।
स्थानीय कालिका सामुदायिक वनले प्राकृतिक चिकित्सालय सञ्चालनका लागि जमिन प्रदान गर्ने भयो। अन्य खर्च जुटाउन महायज्ञ लगाउने निर्णय भयो।
२०६४ सालमा लगाइएको महायज्ञबाट करिब एक करोड ४० लाख रुपैयाँ नगद संकलन भयो। सोही नगदले अस्पतालको संरचना तयार गरियो। २०६७ सालको ५२ शैया क्षमताको सामुदायिक प्राकृतिक चिकित्सालयले सेवा दिन सुरू गर्यो। पोखरामा बन्द भएको प्राकृतिक चिकित्सालयलाई पनि यहीँ मर्ज गरियो।
अहिले यस अस्पतालको क्षमता बढाएर तीन सय शैया पुर्याइएको छ। ६० जना कर्मचारीहरूले यहाँ काम गर्छन्।