वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग(सिपिएल टी–२०) क्रिकेटमा बाजी राख्ने चार जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।
इन्टरनेट ब्राउजर डाइमन्डएक्सचेज डटकमलगायतका विभिन्न युआरएलहरूको प्रयोग गरी सट्टेबाजीमा संलग्न भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भरतपुर महानगरपालिका–७ का २२ वर्षीय रिनाज आचार्य, भरतपुर महानगरपालिका–७ कै २८ वर्षीय सन्जिल लामिछाने, नवलपरासीको गैंडाकोट नगरपालिका–२ का २८ वर्षीय सविन कँडेल र गैंडाकोट–२ कै ३४ वर्षीय राजेश सिग्देललाई एक लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीका लागि प्रयोग भएको मोबाइलसहित नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।
उनीहरूले विभिन्न ब्रोकरमार्फत् आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गराएर बाजी राख्ने गरेको थापाले बताए।
नगद हारजित हुनेगरी अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने कार्य भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवनका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थापाले बताए।
उनीहरूविरुद्ध सट्टेबाजी मुद्दा (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर) मा चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रवक्ता थापाले बताए ।
साथै चितवन प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिक–११ भोजाड चोकस्थित सडकमा शंकास्पदरूपले हिँडडुल गरिरहेका व्यक्तिहरूबाट लागूऔषध बरामद गरिएको हो ।
रत्ननगर नगरपालिका–२ का २५ वर्षीय किशोर शाह र स्याङ्जा गल्याङ नगरपालिका–१ घर भई हाल चितवनको खैरहनी नगरपालिक–१ मा बस्ने ४२ वर्षीय राजेश बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूबाट लागूऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गरी लागू औषध कसूरमा अनसुन्धान भइरहेको प्रवक्ता थापाले बताए।