क्यान्सरको उपचारका लागि भदौ १७ गते भरतपुर आइपुगेकी धनुषाकी सूर्यकला देबीले केही दिन पछि कोरोना परीक्षणको अवसर पाइन्।
भोलिपल्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उनको स्वाब निकालेर परीक्षणका लागि पठायो। चार दिनमा रिपोर्ट आयो।
भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालाले भदौ २२ गते सोमबार सार्वजनिक गरेको रिपोर्टमा उनमा कोरोना पोजेटिभ रहेको उल्लेख थियो।
अस्पतालको नजिकै रहेको गोरखा वारपाक होटलमा बसेकी उनलाई कोरोना पुष्टि भएपछि घर फर्काउन स्थानीयबासी तथा होटल सञ्चालकहरूले धनुषाको स्थानीय तहमा सम्पर्क गरे। उनलाई घर पठाउनका लागि सोमबार अपरान्ह ९ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स पनि मगाइयो। तर एम्बुलेन्ससँगै उनको मोवाइलमा एसएमएसको आवाज पनि आइपुग्यो। भरतपुर अस्पतालले पठाएको एसएमएस खोलेर हेर्दा लेखिएको थियो ‘तपाईको कोभिड १९ आरटी पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ’ छ।
मध्यान्ह १२ बजे कोरोना पोजेटिभ देखिएको खबर पाएकी सूर्यकलाले करिब ५ घण्टाको अवधिमा नेगेटिभ रिपोर्ट आएको एसएमएस देखिन्। उनको मोवाइलमा दुई पटक उस्तै एसएमएस आएको थियो।
एसएमले सूर्यकलाको परिवारमा खुसी छायो। कोरोना होइन भन्ने खबर पाएपछि एम्बुलेन्सलाई फिर्ता पठाउने सल्लाह भयो। कोरोनाकै कारण उपचार नगराइकन फर्कन लागेकी सूर्यकलालाई उपचार सकेर फर्कने कुराले खुसी बनाउनु स्वभाविकै थियो। यद्यपी केही घण्टा अघि आएको रिपोर्टमा लेखिएको ‘पोजेटिभ’ शब्दले उनी र उनको श्रीमानको मनमा घोचिरहेको थियो।
थप प्रष्ट हुने उद्देश्यले क्यान्सर अस्पतालको प्रहरीलाई उनीहरूले आफ्नो कुरा सुनाए। प्रहरीले भोलि बुझेर खबर गर्ने आवश्वासन दियो।
उनीहरू अन्योलकाबीच नै एम्बुलेन्स चढेर धनुषा लागे। यो अवस्थाले सूर्यकला जस्ता धेरैलाई अन्योलमा पारेको छ।
‘हामी त अन्योलमा पर्यौं, एम्बुलेन्स भन्ने बितिक्कै पाइँदैन। बल्ल–बल्ल पाएको छोड्न भएन भनेर हामी घर आइपुग्यौं’, सूर्यकलाका श्रीमानले भने, ‘अझै पनि वास्तविक रिपोर्ट के हो थाहा छैन । केही जानकारी पाउनुभयो भने खबर गरिदिनुहोला।’
ल्याबको लापरवाहीले बिरामी मात्रै होइन स्वास्थ्यकर्मीहरुलाईसमेत अन्योलमा पारेको छ।
भरतपुर अस्पतालका एक जना स्वास्थ्यकर्मीको मोवाइलमा सोमबार पाँच वटा एसएमएस आयो। पाँचवटै एसएमएसमा लेखिएको थियो ‘रिपोर्ट नेगेटिभ’। जबकी उनले पिसिआर परीक्षणका लागि स्वाब सोमबार बिहान मात्रै दिएका थिए।
प्रयोगशालाले रिपोर्ट दिन स्वाब दिएको कम्तिमा पनि दुई दिन लगाउने गरेको छ। स्वाबको चापका कारण प्रायःको रिपोर्ट आउन एक हप्ता लाग्ने गरेको छ।
‘स्वाब दिएको केही घण्टामै नेगेटिभ भनेर एसएमएस आएपछि म त दङ्गै परेँ’, उनले भने, ‘एक छिनमा फेरी उस्तै अर्को एसएमएस आयो, त्यसैगरी पाँचवटा एसएमएस आयो।’
उनले प्राविधिक गडबडी भएको हुनसक्ने भनेर यसलाई वास्ता गरेनन्।
‘बेला–बेलामा परीक्षण गरिरहने भएकाले पहिले गरिएका रिपोर्टको नतिजा पनि एसएमएसमा आयो कि भन्ने लागेको छ’, उनले सुनाए।
भरतपुर अस्पतालले केही दिन अघिमात्रै पिसिआर परीक्षणको नतिजा एसएमएसमार्फत पठाउने घोषणा गरेको थियो। तर कागजमा र एसएमएसमा फरक–फरक नतिजा आउँदा सर्वसाधारण अन्योलमा परेका छन्।
भरतपुर अस्पतालका इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर चन्द्रमणी बस्यालले सुरूवाती अवस्था भएका कारण परीक्षणका क्रममा गलत एसएमएस गएको हुनसक्ने बताए।
‘ल्याबमा साथीहरु पनि सिक्ने क्रममै हुनुहुन्छ। हामी यसलाई व्यवस्थित बनाएर लैजान्छौं’, उनले भने, ‘गलत म्यासेज गएकाहरुलाई पुनः खबर गरिरहेका छौं।’ उनले कोरोना परीक्षणको फारममा टिपिएको मोवाइल नम्बर गलत भएर पनि समस्या आएको हुनसक्ने बताए।