भरतपुरस्थित क्यान्सर अस्पतालले कोरोना भाइरसको परीक्षणका लागि सञ्चालनमा ल्याएको पिसिआर प्रयोगशालाका कारण बिरामीको उपचार खर्चको भार थपिएको छ।
सरकारले निजी अस्पतालमा उपचार गराउँदै आएका बिरामीकोसमेत उपचार खर्च निःशुल्क गर्ने घोषणा गरिरहँदा सरकारीले सञ्चालन गरेको देशकै ठूलो क्यान्सर अस्पतालले भने कोरोना परीक्षणका लागि चर्को शुल्क असुल्न थालेको छ।
यसअघि पाँच सय रुपैयाँ शुल्क बुझाएर कोरोना परीक्षण गर्दै आएका क्यान्सरका बिरामीहरु अहिले ४ हजार रुपैयाँ तिर्न बाध्य भएका छन्।
अस्पतालले बिरामीलाई मात्र नभई कुरुवालाई पनि परीक्षण अनिवार्य गरेको छ। जसले गर्दा एउटा परिवारले कोरोना परीक्षणकै लागि अस्पताललाई कम्तिमा ८ हजार रुपैयाँ बुझाउनु परेको छ।
अस्पतालले पिसिआर परीक्षणबापतको ३ हजार ५ सय र भिटिएमको ५ सयगरी ४ हजार रुपैयाँ शुल्क लिएको छ। अहिलेसम्म ३ सय भन्दा बढी बिरामीले उक्त शुल्क बुझाएर कोरोना परीक्षण गराएका छन्।
यसअघि क्यान्सर अस्पतालले पाँच सय रुपैयाँ शुल्क लिएर बिरामीहरुको स्वाब संकलनगरी परीक्षणका लागि भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा पठाउने गर्दथ्यो।
उक्त ल्याबबाट रिपोर्ट ढिलो आएका कारण समस्या भएको भन्दै क्यान्सर अस्पतालले यहीँ रहेको डीएनए परीक्षण मेसिनमा आवश्यक अन्य सामग्री जोडेर कोरोना परीक्षण ल्याब तयार पारेको थियो।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले कोरोना परीक्षणका लागि आवश्यक रिएजेन्ट, भिटिएम तथा आवश्यक अन्य सामग्रीको मूल्य मात्र शुल्कमा लिइएको बताए।
उनले ती सामग्रीको मूल्य महँगो भएका कारण परीक्षण शुल्क पनि महँगो भएको दाबी गरे।
सेतोपाटीसँग कुरा गर्दै उनले रिएजेन्टलाई २ हजार ५ सय, भिटिएमलाई ५ सय र पीपीईलगायतका अन्य सामग्रीका लागि गरेर ४ हजार खर्च हुने भएकाले सोही शुल्क तोकिएको बताए।
तर बजारमा अहिले रिएजेन्टको मूल्य बढीमा २ हजार रुपैयाँ छ।
नारायणगढस्थित सफल सर्जिकलका सञ्चालक अर्जुन रानाभाटकाअनुसार भिटिएमसमेत बढीमा भ्याट बाहेक १ सय ९० रुपैयाँमा पाइन्छ। कोभिड १९ सँग सम्बन्धित सामानहरूको आयात बढेका कारण सबै सामानको मूल्य घट्दो क्रममा रहेको उनले बताए।
अस्पतालले आह्वान गरेको टेण्डरमासमेत अधिकतम मूल्य रिएजेन्टका लागि एक हजार दुई सय रुपैयाँ र अत्यावश्यकीय सामग्रीका लागि ६ सय रुपैयाँ तोकिएको थियो।
स्रोतका अनुसार टेण्डर भर्नेमा रिएजेन्ट ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने कम्पनीसमेत थियो।
भिटिएम ७३ रुपैयाँ र अस्पतालले भनेका अन्य आवश्यकीय सामग्री ८० रुपैयाँसम्ममा उपलब्ध गराउन सक्ने कम्पनी पनि टेण्डरमा सहभागी थिए।
टेण्डरमा तोकिएको अधिकतम मूल्यमै सामान खरिद गर्दा पनि परीक्षणका लागि अस्पतालको खर्च बढीमा २ हजार रुपैयाँ पर्न जान्छ।
तर अस्पतालले शतप्रतिशत बढी शुल्क बिरामीहरूबाट असुल्दै आएको छ।
क्यान्सर अस्पतालले यसअघि भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाउँदासमेत भिटिएम शुल्क भन्दै पाँच सय रुपैयाँ लिने गरेको थियो। जबकी अस्पतालले भिटिएम ७३ रुपैयाँमा मात्रै खरिद गरेको स्रोत बताउँछ।
निजी ल्याब सञ्चालन गर्दै आएको चितवन मेडिकल कलेजलेसमेत ४ हजार ४ सय रुपैयाँमा कोरोना परीक्षण गर्दै आएको छ। देशका विभिन्न स्थानमा रहेका निजी ल्याबले २ हजार २ सय रुपैयाँ सम्ममा पनि पिसिआर परीक्षण गराउँदै आएका छन्।
यहाँ उपचारका लागि आएका बिरामीहरुको गुनासो पहुँचवालाले मात्र निःशुल्क परीक्षणको सुविधा पाएको तर वास्तविक पीडित भने मर्कामा परेको भन्ने छ।
४ हजार रुपैयाँ बुझाएर कोरोना परीक्षणका लागि टिकट लिएका सुमन किसानले अस्पतालले उक्त रकम तिर्नैपर्छ भनेपछि बाध्य भएको बताए। उनले खानाका लागि छुट्टाएको रकम पिसिआर परीक्षणका लागि खर्चनुपरेको गुनासो गरे।
क्यान्सर अस्पतालले भने आवश्यक सामग्री सरकारसँग माग गरिएपनि उपलब्ध नभएका कारण शुल्क लिनुपरेको बताएको छ।
सरकारले क्यान्सरका बिरामीहरुका लागि छुट दिँदै आएको भन्दै उनले बिरामीलाई अस्पतालले तोकेको शुल्क तिर्न अप्ठेरो नपर्ने बताए।
पुरानो मेसीनमा करिब २५ लाख रुपैयाँका सामग्री थप गरेर ल्याब सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।
यस अस्पतालमा अहिलेसम्म बिरामी र स्वास्थ्यकर्मी गरी करिब एक सय जनालाई कोरोना संक्रमण भएको छ।