हामी उपभोग्य वस्तु प्रयोग गर्छौं तर पूर्ण प्रयोग गर्न जान्दैनौं। चाउचाउ खान्छौं, खोल ठाउँको ठाउँ फालिदिन्छौं। चामल किन्छौं, सकिएपछि बोरा यत्रतत्र छाडिदिन्छौं। अण्डाको महत्व थाहा छ, त्यसको बोक्रा कति उपयोगी छ भन्ने थाहा छैन।
त्यसैले हामी यस्ता चिज बेकारका फोहोर मानेर जताततै फालिदिन्छौं।
हाम्रा राजमार्ग, सडक, गल्ली यस्तै खोलहरूले कुरूप छन्। भान्साबाट निस्कने फोहोरसमेत व्यवस्थापन गर्न नसक्दा नदी दुर्गन्धित बनेका छन्। फोहोर व्यवस्थापन सरकारको टाउको दुखाइ बनेको छ।
पृथ्वी राजमार्गको चुम्लिङटारका श्रीरेन्द्रप्रकाश पोखरेल भने यिनै फोहोरमा 'मोहोर' देख्छन्। सबैले बेकार देख्ने बस्तुमा उनी 'आकार' देख्छन्।
राजमार्गबाट करिब ५ सय मिटरमाथि रहेको घरपुग्दा उनी थोत्रे साडी काटकुट पारेर आकार दिँदै थिए। त्यसबाट उनले 'डोर म्याट' बनाउन खोजेका रहेछन्।
आफ्नो घरको एउटा ब्लकलाई उनले वर्क सपजस्तो बनाएका छन्। त्यो कोठामा धेरै सजावट सामान छन्। ती सबै बेकार मानिएका वस्तुबाट बनेका हुन्।
कोठाको एउटा कुनामा प्लास्टिक, पुराना पोलिथिन, सपिङ ब्याग, बोरा, टायर, बिग्रिएका र खेर गएका कपडा, कागजका टुक्रा, चाउचाउ, बिस्कुट, चकलेट, पाउडर दूधलगायतका खोल छन्। टेबलमा यी वस्तुलाई प्रशोधन गर्ने केही औजार छन्। पोखरेल तिनै औजारको सहायतामा बेकारका वस्तुलाई आकारमा परिणत गर्न तल्लीन हुन्छन्।
मान्छेले फोहोर ठानेका वस्तुलाई पुन:प्रयोग गर्दै उनले सजावटका सामग्री, झोला, पर्स, माला, गमला, बस्ने मुडा, खेल सामग्री बनाउने गरेका छन्।
अर्कोतर्फ मिनरल वाटर, चिसो लगायतका बोतलको थुप्रो छ। ती बोतलमा नकुहिने फोहोर, थोत्रा बोरा, र्यापरहरू कोचेर दह्रो बनाएका छन्। बोतलबाट स्टुल, टी टेबललगायतका खुट्टा बनाउँछन्।
पाहुनाको स्वागतका लागि उनको आँगनमा यस्ता धेरै स्टुल, टी टेबल र फूलसहितका गमला सजिएर बसेका छन्। उनले बनाएका धेरै सामान घरबाटै बिक्री हुन्छन्। विभिन्न कार्यक्रममा विदेश जाँदा पनि उनले आफूले बनाएका सामान बेचेका छन्।
पोखरेलले राजमार्गका होटल तथा पसललाई जथाभाबी नफालिदिन आग्रहमात्रै गर्दैनन् फोहोर हाल्ने बोरा पनि दिएर छाड्छन्। बोरा भरिएपछि घरमा लगेर विभिन्न सामग्री तयार गर्छन्।
'सरसफाइ हामी सबैको जिम्मेवारी हो भन्ने सबैलाई थाहा छ तर कसरी जिम्मेवारी निर्वाह गर्ने कमैलाई चासो हुने रहेछ,' उनले भने, 'यस विषयमा सबैको चासो होस् भनेर मैले नयाँ प्रयोग गर्दै आएको छु।'
उनले आफूले गरेको कामप्रति धेरैले चासो राख्न थालेको बताए।
पोखरेलले राजमार्गका होटलहरूबाट अण्डाको बोक्रा संकलन गरेर बिरूवाका लागि औषधी बनाउने गरेका छन्। केही वर्षअघि अण्डाको बोक्रा अन्यत्र नफाली आफ्नो बोरामा राखिदिन आग्रह गर्दा खुसी भएर राखिदिनेहरूले अहिले भने त्यो बोक्रा दिन तयार नभएको उनी बताउँछन्।
'अण्डाको बोक्रामा क्याल्सियमको मात्रा बढी हुने भएकाले यसलाई पिसेर मलको रूपमा बिरूवाको फेदमा राख्ने गरेको जानकारी दिएपछि मलाई बोक्रा दिनै छाडे,' उनी भन्छन्, 'अहिले धेरैले यो प्रयोग गर्न थालेका छन्, अहिले अण्डा उसिन्दाको पानी पनि यसै खेर जाँदैन।'
इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका स्थायी बासिन्दा पोखरेल निवृत्त शिक्षक हुन्। अध्यापनताका पनि उनी सरसफाइका विषयमा चासो राख्थे। फोहोर व्यवस्थापनको विषयमा विभिन्न प्रयोग गरिरहन्थे।
'यस क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर उमेर छँदै जागिर छाडेँ,' उनले भने, 'घरबाट सुरू गरेको अभियान समाज हुँदै देशभर फैलाउने लक्ष्य छ।'
पोखरेल फोहोर व्यवस्थापनसम्बन्धी सचेतना जगाउन देशका विभिन्न भागहरूमा पुग्ने गर्छन्। स्थानीयवासी तथा सरोकारवालासँग बसेर अन्तरक्रिया गरी आफूले जानेको सिकाउँछन्।
ल्याण्डफिल साइटको विकल्प
सहरी क्षेत्र दिन-प्रतिदिन दुर्गन्धित बन्दै गएको छ। तर फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट खाका कसैसँग छैन। ल्याण्डफिल साइटका कुरा बेला–बेलामा उठ्ने गरे पनि स्थानीय तहले यसको झन्झट उठाउन सकिरहेका छैनन्।
पोखरेल इको–सान पद्धतिलाई देशव्यापी बनाउन सक्ने हो भने करोडौं खर्चिएर ल्याण्डफिल साइट बनाउने आवश्यकता नै नपर्ने बताउँछन्।
'घरको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने यसबाट हामीले नै फाइदा लिन सक्छौं भन्ने कुरा बुझाउन सक्नुपर्छ,' उनी भन्छन्, 'यस विषयलाई देशव्यापी बनाउन सकिन्छ कि भनेर म लागिपरेको छु।'
चितवनमा अहिले ७ वटा स्थानीय तह छन्। यहाँका कुनै पनि स्थानीय निकायले अहिलेसम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेका छैनन्। भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको खोजी भएको एक दशक हुन लाग्यो। महानगरले फोहोरको व्यवस्थापन गर्ने स्थान त पहिल्यायो तर त्यो ठाउँलाई व्यवस्थापन गर्न अझै पनि सकेको छैन। डिपिआर निर्माणको काम सुरू भएको दुई वर्ष भयो अझै सकिएको छै। नारायणी नदीको किनारमा जथाभावी फोहोर फाल्ने गरिएको छ।
अन्य स्थानीय तहले त फोहोर व्यवस्थापनको बल्ल तयारी थाल्दैछन्। पूर्व-पश्चिम राजमार्गले छोएका स्थानीय तहको हालत झन् खराब छ। राजमार्गका छेउमा फोहोरको डंगुर देखिनु सामान्य बनेको छ।
पोखरेल स्थानीय तहसँग सहकार्य गर्दै पुनः प्रयोग र फोहोर व्यवस्थापनको अभियान सञ्चालन गर्न चाहन्छन्। 'आफूले फाल्ने गरेको वस्तु सम्पत्ति पो रहेछ भन्ने थाहा पाएपछि कसैले पनि फाल्दैन,' उनी भन्छन्, 'हामीले सोचमा परिवर्तन ल्याउन सक्नुपर्छ।'
स्थानीय युवा चन्द्रमणि सापकोटा पोखरेलको अभियान गाउँमा मात्रै सिमित नभई देशव्यापी बन्नुपर्ने बताउँछन्।
'विकासोन्मुख कृषि प्रधान देश भएकाले हाम्रो लागि यस्ता अभियान महत्वपूर्ण हुन्छन्,' सापकोटा भन्छन्, 'यसलाई कसरी अघि बढाउने भन्ने विषयमा विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ।'
मल नपाएको पीडा वर्षेनी भोग्दै आएका किसानलाई अर्ग्यानिक खेतीका लागि प्रोत्साहन गर्न सकिने उनको भनाइ छ।
'सरकारी निकायको पनि साथ भयो भने त यसले आयात प्रतिस्थापन गर्दै किसानलाई आत्मनिर्भर बनाउनेसम्मको भूमिका खेल्न सक्छ,' उनले भने।
सार्वजनिक शौचालयबाट सुरू भएको यात्रा
पोखरेलले २०६४ सालबाटै 'इको सान'(इकोलोजिकल स्यानिटेसन–पुनःप्रयोगबाट गरिने फोहोर व्यवस्थापन) पद्धतिको अभियान थालेका थिए।
२०६५ सालमा त उनले 'द सेवा नेपाल' नामक संस्था नै स्थापना गरे। त्यतिखेर उनले पृथ्वी राजमार्गमा यस्ता शौचालय बनाएका थिए, जहाँ शौच गर्नेलाई संस्थाले दुई रूपैयाँ दिने गर्दथ्यो। जबकी अन्यत्र शौच गर्दा पैसा तिर्नुपर्छ।
झट्ट सुन्दा यो नौलो विषय थियो। तर पोखरेलले यसो गर्दा घाटा लाग्ने देखेका थिएनन्। उनले मानवमुत्र संकलन गरेर मलको रूपमा प्रयोग गर्ने सोचले यसो गरेका थिए। सँगै फोहोर संकलनको काम पनि गर्थे।
'मैले गरेको नयाँ कामको विषयमा नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्समा मास्टर डिग्री गर्दै गरेका नर्वेकै नागरिकले थाहा पाएछन्, उनले यही विषयमा थेसिस गर्ने सोच बनाएर मलाई पत्र पठाए,' उनले सुनाए, 'मैले हुन्छ भनेपछि उनी आएर तीन महिना यहीँ बसेर खेतीबालीमा मानव मलमुत्रको प्रयोगका विषयमा सोधपत्र तयार पारे।'
केही समयपछि पोखरेललाई खबर आयो ती विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेछन्। यो कुराले पोखरेललाई निकै खुसी दियो। उनलाई अरू पनि काम गर्ने उर्जा दियो।
केही समयपछि नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्स र ती विद्यार्थीले उनलाई नर्वे बोलाए। उनीहरूले पोखरेललाई नर्वेको एक रोटरी क्लवमा पुनःप्रयोग र फोहोर व्यवस्थापनको विषयमा कार्यपत्र प्रस्तुत गर्ने अवसर दिलाए।
'मैले राजमार्ग र विद्यालयमा कस्तो शौचालय हुनुपर्छ भन्ने विषयमा आफ्नो धारणा राखेँ,' उनले भने, 'मेरो प्रस्तुति सकिएपछि क्लबले मेरै व्यवस्थापनमा नेपालको राजमार्गमा र विद्यालयमा तत्कालका लागि एक/एक ओटा शौचालय निर्माणका लागि आवश्यक बजेट दिने निर्णय गर्यो।'
त्यसपछि पोखरेलले पहिलेको सामान्य शौचालय बन्द गरेर नयाँ शौचालय बनाउने अभियान थाले। रोटरी क्लबलाई सहयोग गर्न रोटरी क्लब नै चाहिने मान्यता भएकाले नर्वेको क्लबले ललितपुरस्थित रोटरी क्लब अफ पाटन साउथसँग सहकार्य गरेको छ। तर व्यवस्थापन पोखरेलले गरेका छन्। शौचालयका लागि आवश्यक जमिनसमेत उनी आफैले नि:शुल्क उपलब्ध गराएका छन्।
अहिले राजमार्गको चुम्लिङटार र इच्छाकामना गाउँपालिकाको दारेचोकस्थित माझगाउँ माविमा शौचालय तयार भएको छ।
'यो देख्दा त शौचालय हो तर सारमा यसको ठूलो महत्व छ,' उनले भने, 'हामीले शौचालयलाई आत्मनिर्भरतासँग जोड्न खोजेका छौं।'
शौचालयबाट उत्पादन हुने ग्यास, मल र आकासे पानीको प्रयोगले अन्य फाइदा पनि हुने भयो।
'हामीले दिसा र पिसाबको छुट्टाछुट्टै ट्यांकी बनाएर प्रशोधन गरी कृषिमा प्रयोग गर्नेगरी संरचना तयार पारेका छौं,' उनले भने।
यहाँबाट उत्पादन हुने मललाई प्रशोधन गरी प्याकिङ् गरेर किसानको खेतसम्म पुर्याउने लक्ष्य उनको छ। उत्पादित ग्यासले नजिकै एउटा रेष्टुरेन्ट खोलेर आम्दानीबाट शौचालयको व्यवस्थापन गर्ने सोच पनि बनाएका छन्।