चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो।
यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्युभएपछि कोरोना पुष्टि भएको थियो।
आइतबार मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन्।
उनको शरीरमा हेमोग्लोविनको मात्रा पनि कम रहेको तिवारीले बताए ।
कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनका १७ जनाको मृत्यु भएको छ।
चितवनमा कुल १ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा होम आइसोलेसनमा मात्रै २५० जना भन्दा बढी रहेका छन्।