युरिया मलमा कालोबजारी गरेको अभियोगमा चितवनको एक सहकारी संस्थाका चार जनालाई चितवन प्रशासनले १०हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ।
पूर्वी चितवनमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद अधिकारी, सोही संस्थाका खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना र सदस्यहरु निर्मला घिमिरे र मायानाथ अर्यालले मलको कालोबजारी गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले उक्त निर्णय गरेको हो।
उनीहरुले प्रति बोरा (५० किलोको) ७ सय ६५ रुपैयाँमाका दरले युरिया मल खरिद गरी १ हजार २ सय ५० रुपैयाँका दरले बिक्री वितरण गरी कालोबजारी गरेको अभियोग प्रमाणित भएको प्रशासनले जनाएको छ।
उनीहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै जरिवाना गरिएको प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए।