चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु २ वर्षका बालक देखि ५५ वर्षीया महिलासम्म छन्।
संक्रमण पुष्टि हुनेहरूमा भरतपुर महानगरपालिकाका ११ जना, कालिका नगरपालिकाका १० जना, इच्छाकामना गाउँपालिकाका ६ जना र रत्ननगर नगरपालिकाका १ जना छन्।
भरतपुरमा संक्रमण देखिएकाहरूको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट तथा अन्य पालिकाको सम्बन्धित पालिकाबाटै संकलन गरिएको थियो।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार १७३ वटा नमुना परिक्षण गर्दा १४५ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार भने ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।