सन्दीप ढुंगेल नारायणगढबाट करिब पाँच किलोमिटर परको रामनगरनजिकै तेलको ट्यांकर अगाडि सडकमै सुतेर मोबाइल चलाइरहेका थिए। पोखराका लागि तेल लिएर वीरगञ्जबाट हिँडेका उनी सोमबार राति ११ बजे नै यहाँ आइपुगेका थिए।
उनको पछाडि नारायणगढतर्फसमेत करिब एक किलोमिटर लामो लाइन छ। अगाडि पूरै सडक सवारीसाधनले भरिएको छ। नारायणगढ–मुग्लिन सडक खण्डमा सन्दीपजस्ता सयौं सवारी चालकहरू सडकमै सुत्ने, सडकमै खाना पाकाएर खाने गरिरहेका छन्।
‘१४ घण्टा भयो यहाँ रोकिएको कतिखेर खुल्ला?,’ सन्दीपको प्रश्न थियो।
तर, तत्कालका लागि यो प्रश्नको जवाफ डिभिजन सडक कार्यालयसँग पनि छैन। उक्त सडकखण्ड हेर्ने भरतपुरस्थित डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिव खनाल साँझसम्म एकतर्फी रुपमा सडक सुचारु गराउने प्रयास भइरहेको बताउँछन्।
‘तर, दुइतर्फी खुलाउन त कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन,’ खनालले सेतोपाटीसँग भने, ‘पचासौं ठाउँमा पहिरो झरेको छ।’
लगातारको वर्षाले नारायणगढ-मुग्लिन सडकमा अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति भएको खनाल बताउँछन्। सोमबार राति चार ठाउँमा ठूलो पहिरो र दर्जनौं ठाउँमा साना पहिरोहरु खसेका छन्।
घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा झरेको ठूलो पहिरो पन्छाउने प्रयास भइरहेको छ। चारकिलो सोही ठाउँ हो जहाँ यस वर्ष ठूलो पहिरो गएको यो तेस्रोपटक हो। गत असार २४ गते यहाँ पहिरो झर्दा घण्टौं सडक अवरुद्ध भएको थियो।
साउन ४ गते पुनः सोही स्थानमा पहिरो खस्यो। त्यतिखेर दुई दिनसम्म यातायात चल्न सकेनन्। अहिले फेरि सोही ठाउँमा ठूलो पहिरो झरेको छ। अन्यत्रको पहिरो पन्छाउन केही सहज भए पनि चारकिलोको पहिरो पन्छाउन समय लाग्ने खनालले बताए।
उक्त सडक खण्डको भतेरीदेखि मुग्लिनसम्मै ठाउँ–ठाउँमा झरेको पहिरोका कारण घण्टौंदेखि सडक बन्द हुँदा सवारीसाधन सडकमा लामबद्ध भएका छन्। बिरामी बोकेका एम्बुलेन्सदेखि तरकारी, फलफूल, पोल्ट्रीजन्य वस्तु तथा अन्य सामान बोकेका सवारीसाधन सोमबार राति साढे १० बजेपछि अघि बढ्न सकेका छैनन्।
सडक कतै माथिबाट खसेको लेदोले बिग्रिएको छ त कतै ठूला–ठूला ढुंगा झरेका छन्। कतिपयस्थानमा त माथिबाट झरेको लेदो सडक छेउको घरमै पसेको छ। हरेक वर्ष वर्षायाममा आउने पहिरोका कारण यस सडक भएर यात्रा गर्नेहरूले सास्ती व्यहोर्दै आएका छन्।
देशको तराई क्षेत्रलाई राजधानीसँग जोड्ने प्रमुख मार्ग नै यही भएका कारण यात्रुहरू जोखिम मोलेरै पनि यात्रा गर्न बाध्य छन्। पछिल्लो पटक विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको ऋण सहयोगमा उक्त सडकलाई दुई लेनको फराकिलो बनाउने कार्य गत वर्ष मात्रै सकिएको थियो। त्यसयता यहाँको पहिरो नियन्त्रणकै लागि करिब ३० करोड रुपैयाँ खर्च भएको छ।