नारायणगढ मुग्लिन सडक खण्डको पहिरो पन्छाइएपछि साँझबाट सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।
डिभिजन सडक कार्यालय चितवनका ईन्जिनियर शिव खनालकाअनुसार उक्त सडकखण्डको चार ठाउँमा झरेको ठूलो पहिरोमध्ये सिमलतालको पहिरो पूर्णरूपमा हटाउन सकिएको छैन। उक्त स्थानमा सवारी साधन एकतर्फी मात्रै चलेको छ। अन्य स्थानहरुमा भने दुईतर्फीरूपमै सवारी साधनहरू सञ्चालनमा आएको खनालले जानकारी दिए।
सोमबार राति साढे १० बजे झरेको पहिरोका कारण सडक बन्द भएपछि हजारौंको संख्यामा सवारी साधनहरू रोकिएका थिए।
सवारी साधनको संख्या ठूलो भएका कारण पहिरो पन्छाइए पनि यातायात सहज भने भइनसकेको खनालले बताए।
उनकाअनुसार सिमलतालको पहिरो पूर्णरूपमा पन्छाएर दुईतर्फ यातायात चल्न भने समय लाग्नेछ।
लगातारको वर्षापछि सोमबार राति नारायणगढ–मुग्लिन सडकमा चार ठाउँमा ठूलो र ५० भन्दा बढी ठाउँमा सानो पहिरो खसेको थियो।
डिभिजन सडक कार्यालयले पहिरोका कारण उक्त सडकमा अहिलेसम्मकै सबभन्दा ठूलो क्षति पुगेको जनाएको छ।