कोरोना परीक्षणका लागि आवश्यक 'रिएजेन्ट' नहुँदा चितवनमा दुई दिन पिसिआर परीक्षण नै बन्द भएको छ। भदौ २९ गते सोमबार परीक्षण गरिएपछि रिएजेन्ट सकिएको यहाँका प्रयोगशालाहरुले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउँदा पनि समयमै उपलब्ध नहुँदा परीक्षण रोकिएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए।
भरतपुर अस्पताल मातहतको प्रयोगशालामा रिएजेन्ट सकिएपछि ६३४ वटा स्वाब परीक्षणका लागि चितवन मेडिकल कलेजको ल्याबमा पठाइएको थियो। तर उक्त ल्याबले पनि रिएजेन्ट सकिएको भन्दै बुधबार मात्र परीक्षण गरेको छ।
शुल्क लिएर कोरोनाको परीक्षण गर्ने अनुमति पाएको चितवन मेडिकल कलेजले दश हजार जनाको निशुल्क पिसिआर परीक्षण गर्ने घोषणा गरेको थियो । ‘तर रिएजेन्ट उपलब्ध नहुँदा समयमै गर्न नसकिएको हो’, अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले भने, ‘अहिले परीक्षण चलिरहेको छ।’
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले हेटौंडास्थित प्रयोगशालाबाट एक हजार थान किट सापटी मागेर बुधबारबाट काम थालेको अध्यक्ष अधिकारीले बताए।
‘केन्द्रबाट पनि केही आएको छ। अब तीन दिनलाई यतिले पुग्छ’, उनले भने, ‘थप आएन भने फेरी स्थगित गर्नुपर्ने हुन्छ।’ दुई परीक्षण बन्द हुँदा यहाँका ल्याबहरुमा ठूलो संख्यामा स्वाब थुप्रिएको छ।
चितवनमा कोरोना संक्रमितहरुको संख्या १ हजार ३ सय ७ पुुगेको छ।