चितवनका एक सय दश जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयअनुसार अहिलेसम्म १३ जना डाक्टर, ४७ जना नर्ससहित एक सय दश स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर पुनः काममा फर्किएका छन्।
यहाँका विभिन्न अस्पतालमा कार्यरत २५४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो।
३४ जना डाक्टर, ६४ जना नर्स तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत १ सय ६० जना अन्यमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन गिताञ्जली ढकालले जानकारी दिइन्।
बिहीबारमात्रै भरतपुर अस्पतालका २ जना नर्ससहितका ७ जना स्वास्थ्यकर्मीहरू संक्रमणमुक्त भएका थिए।
यस अस्पतालमा कार्यरत ९ जना डाक्टरसहित ५० जनालाई कोरोना पोजेटिभ देखिएको थियो। अब १७ जनामात्रै निको हुन बाँकी रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
चितवन मेडिकल कलेजमा कार्यरत् ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, बकुलहर रत्ननगर अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताललगायत अधिकांश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोरोना पोजेटिभ देखिएको थियो।
भरतपुर अस्पताल र रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्टलाई नै कोरोना संक्रमण भएको थियो।
उनीहरू दुवैजना संक्रमणमुक्त भइसकेका छन्। भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रहेका डा. श्रीराम तिवारीको संक्रमणमुक्त भएको केही दिनमै सरूवा भएको थियो।
उनको ठाउँमा आएका नयाँ मेडिकल सुपरिटेण्डेण्ट डा.राजन पाण्डे पनि केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका हुन्।
चितवनमा संक्रमण पुष्टि भएकाहरूमध्ये अधिकांशको अस्पतालबाटै स्वाब झिकिएको थियो। उपचारका लागि आएका बिरामी तथा शंका लागेर परीक्षणका लागि अस्पताल पुगेकाहरू धेरैमा संक्रमण देखिएको छ।