लगातारको वर्षाले भरतपुर जलमग्न बनेको छ। केही दिनयता यहाँका सडक, सरकारी कार्यालयदेखि बस्तीहरू जलमग्न बनेको छ।
सेवाग्राहीको चाप हुने अधिकांश सरकारी कार्यालय परिसर पानीले भरिएको छ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, जिल्ला अदालत, बार एसोसिएसनको कार्यालय, कृषि सामग्री विकास कम्पनीको गोदाम रहेको परिसर, जिल्ला कारागार लगायतका क्षेत्र जलमग्न बन्दा सेवाग्राहीले सास्ती पाएका छन्।
जिल्ला प्रशासन कार्यालय नजिकै रहेको पूर्व–पश्चिम राजमार्गमा पानी जमेपछि यात्रुहरूले सास्ती व्यहोरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालयको परिसर पानीले भरिएपछि पानी तान्नका लागि प्रयोग गरिने मोटरमार्फत् सडकमा पानी फालिएको छ।
सडकको पानी नजिकै रहेको गेष्टहाउस चौरमा तालिएको छ। विभिन्न सभा सम्मेलन तथा खेलकुदका लागि प्रयोग गरिँदै आएको गेष्टहाउस चौर पानी पोखरी बनेको छ।
यसले भरतपुर महानगरपालिकाको वडा नम्बर १० को कार्यालयको सेवासमेत प्रभावित बनेको छ।
केही वर्ष अघिसम्म यी सरकारी कार्यालयहरूको नजिकै नहर थियो। वर्षाको पानी सोही नहरमा निकास हुन्थ्यो। तर भरतपुरको बजार क्षेत्रमा खेतीयोग्य जमिन सकिन थालेपछि उक्त नहरको औचित्य नभएको भन्दै पुरियो।
पहिले नहर रहेको ठाउँमा अहिले सरकारी कार्यालयहरू बनेका छन्।
संरचना निर्माणको क्रममा पानीको निकासका लागि व्यवस्था नगरिँदा केही वर्षयता वर्षायाममा केही सरकारी कार्यालय सेवा दिनै नसक्ने अवस्थामा पुग्छन्।
भित्री सडकहरूको अवस्था पनि उस्तै छ। कतिपय सडकमा त माछा मार्नका लागि बिहानैबाट स्थानीयवासीको लाइन लाग्ने गरेको छ।
‘घर अगाडिकै बाटोमा माछा पाइन थाल्यो’, भरतपुर-१४ स्थित सडकमा माछा मार्दै गरेका श्याम खरेलले भने, ‘सडक बनाउँदा पानीको व्यवस्थापन हुनेगरी नाली नबन्दा सडकको पानी घरभित्रै पुगेको छ।’
भरतपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका भरतपुर–१० का वडाध्यक्ष अरुण पीडित भण्डारी सबै काम छाडेर पानीको निकासका लागि खट्नुपर्ने अवस्था आएको बताउँछन्।
उनले दीर्घकालीनरूपमा पानीको निकासका लागि योजना बन्दै गरेको भन्दै आगामी वर्ष बजेटमा पारेर काम अघि बढाइने बताए।
उनले भरतपुर अस्पतालदेखि केन्द्रीय बस टर्मिनल चोक सम्मको क्षेत्रमा आकासेपानी जम्ने गरेको भन्दै उक्त क्षेत्रमा पहिले रहेको नहरभन्दा पनि प्रभावकारी हुनेगरी ढल निकास बनाइने बताए।
उनले संघीय सरकारका योजनाहरू निर्माणका क्रममा ढललाई प्राथमिकतामा नराखिएका कारण यो अवस्था आएको बताए।
हाल भरतपुरको बाइपास रोडलाई फराकिलो बनाउने काम चल्दैगर्दा पनि ढलको राम्रो व्यवस्था गरिएको छैन।
भण्डारीले आगामी दिनमा हुने विकासका कार्यहरूमा यसलाई प्राथमिकतामा राख्न दबाव दिने बताए।
अहिले पानी जमिरहेको गेष्टहाउस चौरलाई पुरेर सडकको तहसम्म ल्याउने काम पनि केही समयमा सुरू हुने उनले बताए।
‘तर तत्कालका लागि भने समस्या भयो’, उनले भने, ‘मोटर लगाएर तान्ने र घाम लागेर सुकिहाले हुन्थ्यो भनि कामना गर्नेबाहेक विकल्प देखिएन।’