रिएजेन्टको अभावका कारण भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ।
रिएजेन्ट माग गरिएको भएपनि प्राप्त नभएका कारण परीक्षण रोकिएको भरतपुर अस्पतालले जनाएको छ।
डेढ हप्ता देखि प्रयोगशालामा रिएजेन्टको अभाव हुँदै आएको छ।
आइतबारसम्म विभिन्न अस्पतालहरूबाट सापटी मागेर काम चलाइएपनि त्यसयता भने परीक्षण नै गर्न नसकिएको प्रयोगशालाले जनायो।
सोमबारदेखि संकलन भएका नमुनाहरू राष्ट्रिय प्रयोगशाला पठाउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीकाअनुसार केन्द्रबाट रिएजेन्ट नआउँदा हेटौंडास्थित प्रयोगशालाबाट रिएजेन्ट मागेर काम चलाइएको थियो।
प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीकाअनुसार सोमबारमात्रै २ सय भन्दा बढी स्वाबको नमुना संकलन भएको छ। तर केही दिन यता समयमै परीक्षण हुन नसक्दा नमूना थुप्रने क्रम बढेको छ।
भरतपुर अस्पतालले मंगलबारसम्म रिएजेन्ट आइनपुगे नमुनाहरू राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउनुपर्ने जनाएको छ।
रिएजेन्टको आवश्यकतासम्बन्धी पटक–पटक सम्बन्धित निकायमा जानकारी गराएको तर समस्याको समाधान हुन नसकेको अध्यक्ष डा.अधिकारीले बताए।