उनी डाक्टर त होइनन्, तर चन्द्रनगर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी उनको भर पर्छन्। उनी स्वास्थ्य स्वयंसेविका होइनन् न सुडेनी नै हुन्। तर स्थानीय गर्भवती महिलाहरू केही परे, उनी छन् भनेर ढुक्क हुन्छन्। स्वास्थ्यकर्मी पनि आफूले सुत्केरी गराउन सकेनन् भने उनैलाई बोलाउन जो पुग्छन्।
सर्लाही चन्द्रनगर गाउँपालिका-६ का ३० वर्षीय अमृत रहमानी कहार सानै हुँदा ठूलो भएपछि डाक्टर बन्ने सपना देख्थे। डाक्टर बन्ने कलेजमा त के उनले स्कुल पनि एसएलसीसम्म पढ्न पाएनन्।
तैपनि गाउँघरमा कसैलाई टाउको दुख्ने, रूघाखोकी र ज्वरो आयो भने दबाइ लिन मानिसहरू उनको दैलोमा पुग्छन्।
'अस्पतालमा स्वास्थ्यकर्मी नभएको बेला हामी भर पर्ने उनकै हो। राती कोही बिरामी भए अस्पतालभन्दा उनीकहाँ जान्छौं,' स्थानीय यशोदा देवीले भनिन्, 'स्वास्थ्यकर्मीले पनि कतै जानुपरे ज्वरो, रूघाखोकीका सामान्य औषधी अमृतलाई जिम्मा लगाएर जाने गर्छन्। उनले त सुइ लगाउन पनि जानेका छन्।'
उनले थपिन्,'स्वास्थ्य चौकीका कर्मचारीले पनि कसैलाई सुत्केरी गराउन परे अमृतलाई बोलाएर लग्छन्।’
चन्द्रनगर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य स्वयंसेविका शारदादेवीले पनि सो कुरा स्वीकार गरिन्।
‘कुनैकुनै बेला हामीलाई सुत्केरी गराउन गाह्रो भए अमृत दाइलाई बोलाएर लग्ने गरेका छौं,’ उनले भनिन् ‘उहाँलाई गाह्रो हुन्न। सहजै सुत्केरी गराइदिनुहुन्छ।’
सुत्केरी गराउने सीप भने आमाबाट सिकेको उनी बताउँछन्।
'पहिलाको जमानामा घरमै सुत्केरी गराइदिने चलन थियो। मेरी आमा सुत्केरी गराउन निकै पोख्त हुनुहुन्थ्यो,' उनले भने, 'मैले उहाँबाटै सुत्केरी गराउने जानेको हुँ। आमाले लिएर जानुहुन्थ्यो। मैले कसरी आमाले काम गर्नुहुन्छ हेरेर बस्थें।'
सानैमा आमाले सुत्केरी गराएको देखेका उनले सुत्केरी गराउन थालेको ७ वर्षमात्रै भएको छ।
७ वर्षअघि गाउँकै एकजना भाउजु नाता पर्ने महिलालाई व्यथा लागेको थियो। अस्पतालसम्म लैजाने अवस्था भएन। सुत्केरी छट्पटिएको देख्न नसकेका गाउँका काकीहरू केही मेसो नपाएर उनको अघि आए।
'तिम्री आमा भएको भए सजिलो हुन्थ्यो। उहाँले सुत्केरी गराउन जान्नुभएको थियो। तिमी त उहाँकै छोरा हौ। तिमीलाई पनि थोरबहुत आउँछ होला दर्दले छट्पटिँदै छिन्। हिँड तिमीले उद्दार गरिदेउ,’ काकीहरूले भने।
नगइ सुख दिएनन्। उनी त्यो दिन निकै डाराएका थिए।
‘डर र दबाब दुबैमा परेको थिएँ। उपाय नभएपछि मैले आँखा चिम्म गरेर आमाले कसरी काम गर्नुहुन्थ्यो भन्ने सम्झिएँ। मेरो आँखा र मस्तिष्कमा आमाका एक-एक क्रियाकलाप नाच्न थाले,' उनले भने, 'सम्झिँदै काम गर्दा बच्चा निकालिदिन म सफल भएँ।'
अनि त उनी गाउँमा हिट भए। गाह्रो भए सुत्केरी गराउन उनैलाई बोलाउन थाले।
गाउँघरका यस्तै उपचारमा कहिले स्वास्थ्यकर्मीलाई त कहिले गाउँलेलाई सहयोग गरेर अमृतले आफ्नो डाक्टर बन्ने सपनाको भोक मार्ने गरेका छन्। आफू भने कहिल्यै नचल्ने एक खुट्टा लिएर हिँड्छन, अर्को खुट्टा र लठ्ठीको सहारामा जिन्दगी धान्दै आएका छन्।
गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरेका उनी नामी चिकित्सक बन्ने सपना देख्दै हुर्किएका थिए। ठूलाबडाले पनि उनको सपनामा उकेरा हाल्दिँदै भन्थे- डाक्टर बन्न त धेरै पढ्नुपर्छ। उनी पढाइमा निकै मन लगाउँथे रे।
पढाइप्रति छोराको लगन देखेर उनका बुवाले भन्ने गर्थे- धेरै सकिनँ भने पनि डाक्टरी पढ्न योग्य हुने कक्षासम्म पढाउँछु।
यस्तो भनेर उनलाई पढाइमा मन लगाइरहने बुवा उनीसहित ३ जनाको परिवारलाई बीचैमा छोडेर बिते। त्यति बेला अमृत कक्षा ८ को परीक्षा दिएर बसेका थिए।
‘नतिजा आउन बाँकी नै थियो,’ अमृतले सेतोपाटीसँग भने, ‘बुवा बितेको केही दिनमा रिजल्ट आयो र म फस्ट डिभिजनमा पास भएँ। खुसी हुनलाई बुवा छेउमा हुनु हुन्थेन।’
बुवा बितेपछि उनले पढेर डाक्टर बन्ने बच्चैदेखिको सपना त्यागिदिए।
‘घरको ठूलो छोरा म नै थिएँ कान्छो भाइ सानै थियो, आमा एक्लै पर्नुभयो,’ उनले भने, ‘त्यसपछि मैले घरपरिवारसमक्ष आफू पढेर डाक्टर बन्ने इच्छा कसरी सुनाउनु?’
अमृतको घरमा त्यति बेला आमा र दुई भाइ गरी ३ जनाको परिवार थियो। उनी आफैं १२ र १३ वर्षजतिका थिए। भाइ पनि स्कुल जान थालेका थिए।
बुवा बितेको केही महिनामै उनीहरूलाई खाना लाउनका लागि समस्या हुन थाल्यो।
‘त्यसपछि गाउँकै साथीभाइसँग काम खोज्न भन्दै म जनकपुरधाम हिँडें।’
अब उनको एउटै सपना बनेको थियो-कमाएर भाइलाई पढाउने र आमाको लालनपालन गर्ने।
अमृतले पहिले त जनकपुरधामको एउटा टेलर्समा कटाइ-सिलाइको काम सिके। पछि उनले मेकानिकल काम पनि गरे। यसमै उनी पोख्त भए।
करिब ६ वर्षसम्म उनी जनकपुरधाममा बसे। अनि गाउँ फर्किए।
गाउँ फर्किंदा उनको सपनाले एउटा हाँगा हालेको थियो- उतै बसेर काम गर्छु र सानोतिनो व्यापार खडा गर्छु। गाउँमा उनले राइस मिलमा काम पाए। त्यहीँ उनले १२ वर्षसम्म काम गरे। यहीबीचमा उनकी आमा पनि बितिन्।
त्यसपछि उनको परिवारमा उनी र भाइमात्रै रहे। आफूले नपढे पनि भाइलाई पढाउने धोको पालेका थिए। त्यो पनि पुरा हुन सकेन।
‘उसलाई पढाउने धेरै प्रयास गरें,’ अमृत भन्छन् ‘खोई के भयो उसलाई! मसँग झुठ बोलेर होटलमा काम गर्न थालेछ। पछि त घरबाटै भाग्यो।'
केही वर्ष पञ्जाव बसेर फर्केपछि भाइले बिहे गरे। छुट्टै बस्न थाले। अमृत भने एक्लिए।
अमृतले आफूलाई कहिलै कसैले बिहे गर्लान् भनेर सोचेका पनि थिएनन्। छोरीसँग विहे गरिदिन भन्दै उनलाई हेर्न आउनेहरू चुपचाप फर्किन्थे।
'लठ्ठी नहुँदा हिँड्न त के बसेको ठाउँबाट उठ्न पनि सक्दैन भन्ने लाग्थ्यो होला नि त हेर्न आउनेहरू हेरेरै फर्किन्थे,' उनले भने।
एकदिन नसोचेको कुरा भयो। क्रान्तिदेवीका बुवा उनलाई हेर्न आए। उनलाई भने अमृत मन परेछ।
मन मात्रै पराएनन् क्रान्तिदेवीको बिहे उनीसँगै गराइदिए। अहिले घर उनै क्रान्तिदेवीले धानेकी छन्। उनीहरूका ३ छोरा छन्।
जेठो छोरो भने राम्ररी बोल्न र हिँड्न सक्दैनन्।
उनीहरूको सम्पत्तिका नाममा १ धुर ५ कन्मा जग्गामा बनेको बाँस र माटोको एककोठे घर छ। त्यो पनि बर्षा लाग्नेबित्तिकै चुहिन थाल्छ।
‘घरै राम्रो छैन, तीन जना बच्चा लिएर जसोतसो दिनरात काट्दैछौं,’ अमृतले भने ‘कमाइ राम्रो भएपछि बनाउँला नि।’
अचेल उनको सपनाले फेरि अर्को हाँगा हालेको छ- कमाएर घर बनाउने र छोराहरूलाई १२ कक्षासम्म पढाउने। पसल खडा गर्ने सपना त छँदै छ।
जब बुवा बिते उनको काँधमा पैसा कमाउने जिम्मेवारी आइलाग्यो। त्यो बेला उनले कसैको आस गरेनन्। आफैं काम गर्न सकिहाल्छु नि भन्ने सोचे। गरेर पनि देखाए।
अचेल भने उनलाई गाउँपालिकाले प्रदान गर्ने अशक्तताको कार्ड बनाइदिएर पाइने सुविधाको आश लागेको छ। कार्डले दिलाउने सुविधाको आश लागेको। आफूलाई नभए पनि छोरालाई त हुन्थ्यो भनेर पनि सरकारबाट पाइने सुविधाका लागि बारम्बार उनले जनप्रतिनिधिलाई भन्ने गरेका छन्।
तर गाउँपालिकाले आफूमाथि भेदभाव गरेको उनको गुनासो छ।
‘हाम्रो घरमा दुई जना अपांगता भएका व्यक्ति छौं। आजसम्म मैले कहीँ कतैबाट भत्ता पाएको छैन्,’ उनले भने ‘ज्यादै अशक्त भएका व्यक्तिलाई रातो कार्ड दिनुपर्ने हो।'
उनीहरूले सेतो कार्डमात्र पाएका छन्। गाउँमा शरिर थोरैमात्र असक्त भएपनि सबै किसिमका काम गर्न सक्ने अरू मानिसलाई भने रातो कार्ड दिइएको उनको गुनासो हो।
उनलाई अपाङ्गता भएका व्यक्तिले पाउनु पर्ने हक र अधिकारबारे लगभग सबै जानकारी छ। उनले आफ्नो गुनासो र हकअधिकारको माग गाउँपालिकाका अध्यक्ष वा वडाध्यक्षलाई पटक-पटक सुनाइसकेका छन्।
‘मलाई थाहा छ हाम्रो लागि भत्ता आउँछ,’ उनले भने ‘तर मैले आजसम्म एकसुको पाएको छैन। अधिकार खोज्ने क्रममा पटक-पटक अध्यक्ष र वडाध्यक्षसँग वादविवाद भएको छ।’
उनका अनुसार दलित परिवारको लागि घर बनाइदिने सरकारी योजना अन्तर्गत नै आफ्नो पनि नाम टिपेर स्थानीय सरकारका पदाधिकारीले लगेका थिए।
अरू दलितको घर बन्यो उनको भने जस्ताको त्यस्तै छ।
‘दलित र पछि पारिएका वर्गहरूका लागि सरकारले घर बनाइदिने कुरो चलेपछि सबैको नाम टिपेर लगियो,’ उनले भने ‘पहिलो पटक नाम लेखेर लगेको दुई वर्ष भयो र यसपालि लेखेर लगेको पनि करिब १ वर्ष भइसक्यो सबैको घर बन्यो मेरो भने बनेन।’
वडा नम्बर ६ का वडाध्यक्ष रामचन्द्र कापरले अमृतमामथि भेदभाव भएको स्वीकार गरे।
‘कार्डको मामिलामा पक्षपात भएको हो,’ उनले भने ‘जसलाई रातो कार्ड दिइनु पर्ने हो उनलाई सेतोकार्ड दिइएको छ। जो शरिरले अशक्त छैनन् उनीहरूलाई रातोकार्ड दिइएको छ। यसका लागि हामीले विरोध पनि गरेका थियौं।’
यसबारे कुरा गर्न बैठक बोलाइएको तथा बैठकपछि सच्याइने वडाध्यक्ष कापरको भनाइ रहेको छ। अब यो वर्ष अमृतको घरपनि बनाइदिने उनले बताए।
‘पहिलो सालमा मुसहर जातिको मात्रै नाम लेखिएको थियो,’ उनले भने ‘यस वर्ष लेखिएको नामहरूमा अमृतको नाम पनि समेटिएको छ। यसपालि उनको घर बन्ने छ।’
अमृत अहिले गाउँमा राइस मिल चलाउँछन्।
त्यतिमात्र होइन साइकल वा मोटरसाइकलको पञ्चर बनाउने काम पनि गर्छन्। गाउँको कुनै मेशिनरी सामान बिग्रियो भने मर्मतका गर्न गाउँलेले उनैलाई डाक्छन्।
ती सबै काम गरेको कमाईले उनी पाँच जना परिवारको जीवन निर्वाह गर्छन्। छोराहरू पढाउँछन्। मिलमा काम गरेबापत दिनको ७ सयदेखि १ हजारसम्म कमाइ हुन्छ।
‘पुँजीको पैसा कटाएर दैनिक पाँच सयदेखि ६ सय रूपैयाँसम्म बच्छ, त्यही बचेको पैसाबाट घर खर्चका साथै बावुहरूका लागि कापी कलम व्यवस्था गर्ने गर्छु,’ उनले भने।
अमृत दिनभर काममा हुन्छन् भने उनकी पत्नी क्रान्तीदेवी घर सम्हाल्छिन्। पति शारिरिक रूपले अपाङ्ग भए पनि घरखर्च धान्न र खानपानमा कहिल्यै कुनै कमी हुन नदिएको क्रान्तिले बताइन्।
‘अरू भएको भए के गर्थे कसरी परिवार चलाउँथे थाहा भएन,’ क्रान्तिले भनिन् ‘उहाँले भने खाना लाउन र छोराहरूलाई पढाउन सक्दिन कहिल्यै भन्नुभएन। म यसैमा गर्व गर्छु।’
जन्मिएदेखि नै अमृतको एउटा खुट्टाले काम गर्दैन्थ्यो रे। आफूले जानेदेखि नै एउटै खुट्टाले काम गरेको उनले सम्झिन्छन्।
'तैपनि आफू अशक्त छु भन्ने महसुस मलाई कहिल्यै भएन,’ मुस्कुराउँदै अमृत भन्छन्,'आफूले सकेजतिको काम गर्न भ्याएकै छु। एउटा खुट्टा नचलेर के भो त! खासै फरक पर्दैन।'
अमृतको सबैलाई एउटै आग्रह -अशक्त भनेर कोही कसैले उनीलगायतका व्यक्तिलाई हेला वा दयाको दृष्टिले नहेरोस्।
'बरू सहयोग गर्नु नै छ भने मानिसहरूले हौसला दिऊन्,त्यस्तो हौसलाले मजस्ता व्यक्तिलाई आफू बोझ हुँ भन्ने लाग्न दिने छैन। मेरो पनि परिवार समाजमा जिम्मेवारी छ भन्ने ठान्न सक्ने बनाउँछ,' उनले भने।