सरकारले केन्द्रीय अस्पताल घोषणा गरेको भरतपुर अस्पताल राजनीति गर्ने अखडा बन्दै गएको छ। जिल्ला अस्पताल भएर पनि धेरै जिल्लाका बिरामीको उपचारको केन्द्र बन्दै गएको भरतपुर अस्पताललाई केही वर्षअघि मात्रै सरकारले केन्द्रीय अस्पताल घोषणा गरेको थियो।
सरकार, मन्त्री परिवर्तनदेखि राजनीतिक दलभित्रको गुट विशेषका आधारमा हुने नेतृत्व परिवर्तनले अस्पताललाई अस्तव्यस्त बनाउँदै लगेको छ।
अस्पतालको सम्पूर्ण प्रशासकीय जिम्मेवारी मेडिकल सुपरिटेन्डेन्ट(मेसु)लाई दिने व्यवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको भरतपुर अस्पताल गठन आदेश २०७६ मा मेसु नभई निर्देशकको व्यवस्था गर्ने गरिएको छ। तर यो कार्यान्वयनमा आएको छैन।
यहाँ आउने अधिकांश मेसुले दुई-तीन महिनाभन्दा बढी काम गर्ने अवसर पाएका छैनन्। कुनै साल त यहाँ तीन जनासम्म मेसु फेरिएका छन्।
पछिल्लो पटक कोरोना महामारी बढ्दै गर्दा गत भदौ २४ गते नियुक्त भएर २८ गतेबाट अस्पताल हाजिर भएका मेसु डाक्टर राजन पाण्डेले दुई महिनामै पदबाट राजीनामा दिएका छन्। अस्पतालका अधिकांश कर्मचारीले उनलाई राम्रोसँग चिन्न पनि पाएका थिएनन्।
‘म कन्सल्टेन्ट फिजिसियन डाक्टर हुँ, यही पेशामा रमाउँछु। प्रशासनिक पद मेरा लागि उपयुक्त होइन कि भन्ने लाग्यो,' डा.पाण्डेले सोतोपाटीसँग भने, ‘मैले व्यक्तिगत कारणले गर्दा राजीनामा दिएँ।’
अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू उनी राजनीतिक दबाबकै कारण राजीनामा दिन बाध्य भएको दाबी गर्छन्।
यहाँ नियुक्त भएका कतिपय मेसुले भने कर्मचारीको असहयोगका कारण राजीनामा गर्न बाध्य भएको बताउने गरेका थिए।
‘काम गर्ने वातावरण नभएर उहाँ दुई हप्तादेखि राजीनामा पत्र खोल्तीमै बोकेर हिँडिरहनुभएको थियो’, एक कर्मचारीले भने, ‘पार्टीभित्रको अर्को गुटले उहाँलाई काम गर्नै दिएन।’
डा.पाण्डे नेकपाभित्रको पूर्वमाओवादी निकट मानिन्छन्।
डा.पाण्डे अघि १४ महिना काम गरेका मेसु डाक्टर श्रीराम तिवारीलाई स्वास्थ्य मन्त्रालयले कारबाहीको शैलीमा कोरोना महामारीबीच केन्द्रीय कारागार अस्पतालमा सरूवा गरेको थियो। जिल्लामा हजारौं संक्रमित देखिएको र आफैं कोरोनासँग लडेर भर्खर निको भएका तिवारीलाई सरूवा गर्दा ठूलो आलोचना भएको थियो।
डा.तिवारी आउनुअघि मेसु भएका डा.विश्वबन्धु बगालेले डेढ महिनाभन्दा पनि कम समय जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए।
२०१३ सालबाट सामान्य रूपमा सेवा सुरू गरेको यस अस्पतालको प्रशासकीय नेतृत्वमा ४१ जनाले काम गरिसकेका छन्।
उनीहरूमध्ये एक वर्ष बढी काम गर्ने अवसर २२ जनाले मात्रै पाएका छन्।
२०६० सालयता ७ जना मेसुले मात्रै एक वर्षभन्दा बढी काम गर्न पाएका थिए। उनीहरूमध्ये सबैभन्दा बढी डाक्टर केशवराज भुर्तेलले दुई पटक गरी २ वर्ष ८ महिनासम्म मेसु बनेर काम गरे। डाक्टर रूद्रप्रसाद मरासिनीले एकै पटकमा सबैभन्दा बढी समय(२ वर्ष ४ महिना) काम गरेका थिए।
६० साल यताका २१ जनामध्ये दुई तिहाइ मेसुहरू कर्मचारीहरूसँग राम्रोसँग परिचय पनि नहुँदै बिदा भए। यो क्रम अहिले पनि चलिरहेकै छ।
अस्पताल राजनीतिक अखडा बन्दै गर्दा यसको असर यहाँ उपचारका लागि आउने विपन्न नागरिकहरूले भोगिरहेका छन्।
‘अस्पतालमा सहज रूपमा उपचार पाइँदैन, डाक्टर भेट भए पनि सबै परीक्षण यहाँ नहुँदा निजी अस्पताल नधाई हुँदैन,' राप्ती–१० का सीताराम तामाङले भने, ‘विपन्नको अस्पताल भन्छन् तर खै के-के नमिलेर हो उपचार पाउन असाध्यै गाह्रो छ।’
चितवनमा दुई वटा मेडिकल कलेजसहित करिब दुई दर्जन निजी अस्पतालहरू सञ्चालनमा रहे पनि ती अस्पतालमा विपन्न वर्गको आर्थिक पहुँचभन्दा बाहिर छन्।
भरतपुर अस्पतालले चितवन र आसपासका ८ जिल्लाका ३५ लाख जनालाई प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको दाबी अस्पतालको छ। तर राजनीतिक खिचातानीका कारण सधैँ अस्तव्यस्त रहँदा अस्पतालबाट स्तरीय सेवा पाउन नसकेको गुनासो बढ्दो क्रममा छ।
करिब ९ महिना अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका प्रा.डा.कृष्णप्रसाद पौडेल केन्द्रले चलखेल र हस्तक्षेप कायम राख्नका लागि आफू अनुकूलको नीति बनाउँदा अस्पताल विकासमा समस्या हुँदै आएको बताउँछन्। सरकारले भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाए पनि यो कागजमा मात्रै सीमित भएको उनको भनाइ छ।
‘मन्त्रालयले आफू अनुकूलका व्यक्तिलाई अस्पतालको प्रमुखमा नियुक्त गर्छ तर उसलाई पनि आफ्नो योजना कार्यान्वयन गर्ने अवसर दिने गरेको छैन’, डा.पौडेल भन्छन्, ‘छोटो अवधिमा मेसु परिवर्तन भइरहँदा अस्पताललाई प्राप्त भएको बजेटअनुसारको योजना कार्यान्वयन गर्नै सकिँदैन।’
उनले केन्द्रीय राजनीति, गुटदेखि स्थानीय राजनीतिको प्रत्यक्ष प्रभाव अस्पतालमा पर्ने गरेको बताए।
पूर्वमेसु डा.बगाले भरतपुर अस्पतालमा जस्तो अस्थिर नेतृत्व देशभर कुनै अस्पतालमा पनि नदेखेको बताउँछन्।
‘आर्थिक अवस्था असाध्यै कमजोर भएका अस्पतालसमेत लामो कार्यकालको नेतृत्व पाइरहेका छन् तर यहाँ नेतृत्व टिक्नै नसक्ने अवस्था छ’, उनी भन्छन्, ‘यसको अन्त्य नगर्दासम्म बिरामीले राम्रो सेवा पाउन सक्दैनन्।’
मेसु रहँदा पनि मन खोलेर काम नहुने गरेको उनी बताउँछन्।
‘कोरोना महामारीका समयमा जति काम हुनुपर्ने हो त्यो हुन सकेन भन्ने लाग्छ’, उनी भन्छन्, ‘कामको बोझ मेसुलाई मात्र बढी भएर पनि हुन सक्छ, मेसु रहँदा पनि त्यति प्रभावकारी काम हुन सकेको छैन।’
केन्द्रीय राजनीतिको असर तुरून्तै पर्नु, कर्मचारी तथा विभागीय प्रमुख अस्पतालप्रति कम उत्तरदायी हुनु, आर्थिक पारदर्शीतामा कम ध्यान पुर्याइनुलगायतका कारण अस्पतालमा अस्थिरता बढेको उनको ठम्याइ छ।
अस्पताल गठन आदेशलाई कार्यान्वयन गरी निर्देशक पदमा अवधि तोकेर नियुक्ति गरिँदामात्रै अस्पताल सहज तरिकाले अघि बढ्न सक्ने उनी बताउँछन्।
अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले पनि मेसु छोटो अवधिका लागि मात्रै रहँदा काम गर्न असहज भएको बताए।
‘केही दिन अघिमात्रै अस्पतालले केही महत्वपूर्ण निर्णय गरेको छ तर त्यसलाई कार्यान्वयन गर्ने पदमा मान्छे नहुँदा तत्कालै समस्या आइसक्यो’, उनले भने, ‘काम गर्न चाहँदा-चाहँदै पनि नीतिगत कारणले बाधा भइरहेको छ।’
उनकाअनुसार अस्पताल विकास समितिले भरतपुर अस्पतालमा ५० शैयाको आकस्मिक कक्ष, ५० शैयाको सरूवा रोग उपचार केन्द्र, नयाँ रक्त सञ्चार केन्द्र र स्पाइनल इन्ज्यिुरी वार्ड निर्माणको निर्णय गरेको छ। साथै विपन्नका लागि नि:शुल्क आकस्मिक सेवा दिने निर्णय पनि गरेको छ।
त्यस्तै अस्पतालमा एसचडियू(हाई डिपेन्डेन्सी युनिट) सञ्चालनका लागि सरकारले ३ करोड १२ लाख रुपैयाँ पठाएको छ।
‘तर यी योजनालाई कार्यान्वयनमा ल्याउने बेलामा मेसुको राजीनामा आयो, नयाँ मेसु कहिले आउने हो, कति दिन काम गर्ने हो भन्ने कुराले योजनामा असर गर्छ’, डा.अधिकारीले भने, ‘सरकारले यस विषयमा ध्यान दिनुपर्छ।’
उनले नयाँ योजना माग्न जाँदा मन्त्रालयले पहिलेको योजना किन पुरा भएन भनेर सोध्ने गरेको बताए।
‘निमित्त मेसुबाट योजना कार्यान्वयन गर्न मिल्दैन’, उनी भन्छन्, ‘केन्द्रीय अस्पतालका लागि योग्य मेसु भएन भने अस्पतालको विकास गर्न गाह्रो हुन्छ।’
उनले अस्पताल गठन आदेश २०७६ ले अस्पतालमा अध्यक्षको कार्यकाल ३ वर्ष तोके पनि मेसुको नतोकेका कारण नीतिगत निर्णय नहुँदासम्म यही अवस्थामा काम गर्नुपर्ने बाध्यता रहेको बताए।
उक्त गठन आदेशपछि पहिलो पटक डा.अधिकारी अस्पतालको अध्यक्ष बनेका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट हुन्। यसअघि उनी सोही अस्पतालमा फिजिसियन डाक्टरका रूपमा काम गर्दै आएका थिए।
स्वास्थ्य क्षेत्रलाई राम्रोसँग बुझेको र जिल्लामा लोकप्रिय डाक्टर अधिकारी अस्पतालको अध्यक्ष हुँदा कार्यकारी भूमिका जस्तो देखिएका कारण उनी भन्दा वरिष्ठ तहका डाक्टर मेसु पदमा रहेर काम गर्न अनिच्छुक रहने गरेको अस्पताल स्रोत बताउँछ।
डा.अधिकारी भने अध्यक्षको काम समन्वय गर्ने भएकाले मेसुको जिम्मेवारी विगतमा जस्तै रहेको बताउँछन्।
कोरोना महामारीका सुरू हुँदाका बखत सुरूमा भरतपुर महानगरपालिका र पछि भरतपुर अस्पतालले सञ्चालनमा ल्याएको कोरोना अस्थायी अस्पताल राजनीतिक खिचातानीकै कारण अहिले पनि बन्द अवस्थामा छ।
महानगर र भरतपुर अस्पतालकै समन्वयमा सञ्चालन गरिएको कोभिड १९ परीक्षण प्रयोगशाला पनि बेला–बेलामा विवादमा आइरहने गरेको छ। सुरुआतमा फ्रन्टलाइनमा काम गर्नेलाई २०० प्रतिशतसम्म कोरोना भत्ता दिने घोषणा गरिए पनि अहिले त्यो वाचा बिर्सिएको गुनासो स्वास्थ्यकर्मीले गर्दै आएका छन्।
हाल ६०० शैया सञ्चालन गर्दै आएको यस अस्पताललाई मेडिकल कलेजका रूमा विकास गर्ने लक्ष्य छ। तर त्यो अनुरूपमा स्थायित्व भने अस्पतालले पाउन सकेको छैन।