मस्तिष्कमा विभिन्न खालका समस्या देखिन्छन्। तीमध्ये एउटा समस्या 'ब्रेन ट्युमर' हो। मस्तिष्कको कोषिका असामान्य रूपले बढ्नुलाई ब्रेन ट्युमर भएको भनिन्छ।
ब्रेन ट्युमर भयो भने सबैभन्दा पहिलो लक्षण उच्च रक्तचाप देखिन्छ। त्यस्तै टाउको दुख्नु, बान्ता हुने, बेहोस हुने, स्वभावमा परिवर्तन, आँखामा समस्या लगायत हुन्छ। ब्रेन ट्युमर भएको छ भने छारे रोग पनि देखिन सक्छ।
यस्ता लक्षणहरू देखिएका छन् भने ब्रेन ट्युमर भयो कि भनेर आशंका गर्नुपर्छ। ब्रेन स्ट्रोक हुँदा एकैचोटि लक्षण देखिन्छ भने ब्रेन ट्युमरमा विस्तारै देखिन्छन्।
कतिपय अवस्थामा बोलीमा समस्या आयो भने पनि शंका गर्नुपर्ने हुन्छ।
सुरूमा फिजिसियनसँग आफ्ना समस्या बताएपछि न्युरोलोजिष्टलाई रिफर गर्ने गरिन्छ। कतिले एकैचोटि न्युरो सर्जन या न्युरोलोजिष्टलाई देखाउँछन्।
लक्षणहरू देखिएपछि सुरूमा सिटी स्क्यान र आवश्यक परेमा एमआरआई गरिन्छ। यसबाट ब्रेन ट्युमर भए/नभएको र भएको भए कुन चरणमा छ भनेर हेर्न सकिन्छ।
अधिकांश ब्रेन ट्युमरको उपचार अपरेसनबाटै हुन्छ। क्यान्सर रहेछ भने औषधि, रेडियो थेरापी र किमो थेरापी पनि जरूरी पर्छ।
ब्रेन ट्युमर उपचारको सफलता दर बढ्दै गएको छ। जति चाँडो थाहा भयो यसको सफलता पनि उति धेरै हुन्छ।
ट्युमर क्यान्सर छैन भने पूर्ण रूपमा निकाल्न समेत सकिन्छ। ब्रेन ट्युमरको स्क्रिनिङ जापानमा सुरू भएको छ तर नेपालमा आइसकेको छैन।
ब्रेन ट्युमर वंशानुगत समस्या हो। परिवारका कसैलाई भएको छ भने अरूलाई पनि हुने खतरा हुन्छ।
प्लाष्टिक कम गर्ने, प्रदूषण नगर्ने, धूमपान नगर्ने लगायतका केही रोकथामका उपाय पनि छन्। तर वंशानुगत कारण मुख्य भएकाले जोखिममा रहेकाहरूले बेला/बेलामा परीक्षण गर्नु नै यसबाट जोगिनु हो। किनकि बेलैमा थाहा भयो भने ब्रेन ट्युमरको समस्या पूर्ण रूपमा निको हुन्छ।
(ब्रेन ट्युमर किन हुन्छ, यसका लक्षण अनि उपचारबारे हामीले भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ न्युरो सर्जन डा.आइप चेरियनसँग भिडिओ कुराकानी गरेका छौं।)