भरतपुर अस्पतालमा ५० शैयाको आकस्मिक कक्ष र ५० शैयाको सरुवा रोग अस्पताल भवन शिलान्यास गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मान्त्री भानुभक्त ढकालले सोमबार यी दुवै भवनको शिलान्यास गरे।
२०१३ सालमा स्थापना भएको भरतपुर अस्पतालमा २०२० सालबाट आकस्मिक सेवा सञ्चालनमा ल्याइएको थियो। यहाँ रहेको १० शैयाको आकस्मिक कक्षले बिरामीको चाप थेग्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैयाको नयाँ आकस्मिक कक्षका लागि भवन निर्माण गर्न बजेट उपलब्ध गराएको हो।
अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीका अनुसार १० शैयाको आकस्मिक कक्षले अहिले वर्षमा ४१ हजार भन्दा बढी बिरामीको उपचार गर्दै आएको छ। ‘६०० शैयाको अस्पतालमा १० शैया मात्रको आकस्मिक कक्ष हुँदा बिरामीले सहज रुपमा सेवा पाउन सकेका थिएनन्,’ उनले भने, ‘यसै वर्ष भित्रमा नयाँ भवन बनाइसक्ने लक्ष्य छ।’
आकस्मिक भवन निर्माणका लागि सरकारले ९ करोड रुपैयाँ उपलब्ध गराएको उनले बताए। सरकारले ३९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने घोषणा गरेअनुरुप यो योजना सञ्चालनमा आएको हो।
त्यस्तै सोमबार नै शिलान्यास गरिएको सरुवा रोग अस्पतालको भवन तीन वर्ष भित्रमा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ।
उक्त भवन निर्माण गर्नका लागि यस वर्ष ८ करोड रुपैयाँ प्राप्त हुने सुनिश्चितता भइसकेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। अस्पताल निर्माणका लागि त्यसपछिका दुई वर्ष पनि ८÷८ करोड रुपैयाँ बजेट छुट्याउन मन्त्रालयले प्रतिबद्धता जनाएको उनले बताए।
भरतपुर अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्दो क्रममा रहेका कारण यही अस्पतालमा सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए। ‘प्राप्त भएका योजनाहरुका काम अघि बढाउनुहोला हामी पैसाका कारण काम रोकिन दिँदैनौं,’ उनले भने, ‘अस्पताललाई आवश्यकताअनुसार स्तरीय बनाउँदै लैजान मन्त्रालय तयार छ।’
मन्त्री ढकालले भरतपुर अस्पतालमा सोमबार नै हाई डिपेन्डेन्सी यूनिट (एचडियू) को पनि शुभारभ्भ गरे। कोरोना संक्रमितको उपचारका लागि तयार गरिएको २५ शैयाको एचडियू कक्षमा अहिले १५ शैया तयार भएका छन्।
एचडियु निर्माणका लागि सरकारले अस्पताललाई तीन करोड रुपैयाँ उपलब्ध गराएको थियो।