२०१७ सालको फागुनमा भरतपुर विमानस्थल सुरू हुँदा ६२ विघा जमिन निकै फराकिलो थियो। राप्तीदुन उपत्यका विकास समितिमार्फत् चितवनमा बस्ती बसाल्न थालिएको केही वर्षमै यहाँ विमानस्थल स्थापना भएको थियो।
अहिलेको व्यस्त बजार नारायणगढ, भरतपुर क्षेत्रमा त्यतिखेर सामान्य चहलपहल सुरू हुँदै थियो। काठमाडौं, विराटनगर, पोखरा, राजविराज, जनकपुरजस्ता ठूला सहरमा मात्रै त्यसअघि विमानस्थल चलेका थिए।
६ दशकपछि भरतपुर विमानस्थल साँघुरोमात्र भएको छैन वरपर बनेका अग्ला संरचनाले दुर्घटनाको जोखिम बढेको छ।विमानस्थलको सीमासँगै जोडेर बनेका संरचनादेखि नजिकैका ठूला रूखले जोखिम बढाएको विमानस्थल प्रमुख योगेन्द्र कुँवर बताउँछन्।
त्यसो त यो विमानस्थलको विस्तारको प्रसंग चल्न थालेको पनि दशक नाघ्यो। उत्तरतर्फ रहेको नेपाली सेनाको ब्यारेक र सेनाकै घोडा प्रजनन् केन्द्रलाई कतै स्थानान्तरण गरेर विस्तार गर्ने बहस धेरै पहिला सुरू भएको थियो।
बढ्दो जोखिमलाई मध्यनजर गरेर २०७० साल फागुन ९ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले विमानस्थल वरपर मापदण्डविपरीत निर्माण भएका भवनहरूको लगत संकलन गरी प्रतिवेदन पेश गर्न प्राविधिक समिति निर्माण गरेको थियो। उक्त समितिले विमानस्थलको प्रभावित क्षेत्रमा ३१३ वटा अस्थायी तथा स्थायी संरचना निर्माण भएकोमा २५७ वटा संरचना मापदण्डविपरीत रहेको प्रतिवेदन पेश गर्यो।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ को भावन विपरीत विमानस्थल वरपर भवन बनिसकेको, ती भवनका कारण विमानको उडान, अवतरणमा गम्भीर असर परिरहेको र भविष्यमा झनै अप्ठ्यारो अवस्था आउन सक्ने देखिएकाले मापदण्डविपरीत बनेका संरचना हटाउनु पर्ने सुझाव प्रतिवेदनमा थियो।
स्वर्गीय रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा यस विमानस्थललाई विस्तार गर्दै रात्रिकालीन उडान पनि गर्न मिल्नेगरी स्तरोन्नति गर्ने उद्घोष गरेका थिए। अधिकारीको घोषणालाई अहिलेका मन्त्री योगेश भट्टराईले पनि साथ दिँदै आएका छन्।
‘विमानस्थलको पूर्वतर्फ रहेका अग्ला-अग्ला घर र उत्तरतर्फ सेनाको ब्यारेक क्षेत्रमा रहेको जंगलका कारण उडान र अवतरणमा समस्या हुँदै आएको छ,’ भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख कुँवरले भने, ‘हरेक पटकको उडान र अवतरण जोखिम मोलेर गर्नुपर्ने बाध्यता छ, तराई क्षेत्रका विमानस्थलमध्ये सबैभन्दा जोखिममा यहीँ पर्छ।’
उनकाअनुसार यी संरचनाकै कारण हाल रहेको १२०० मिटर लम्बाइको ‘रन वे’मा अवतरणका क्रममा विमानले करिब ३०० मिटर वर पुगेरमात्रै भुइँ छुन्छ। जबकी विमानले रन वेभन्दा परबाटै आफ्नो उचाइ घटाउँदै जानुपर्छ। उडानका क्रममा पनि उस्तै समस्या हुन्छ।
‘ती संरचनाका कारण विमानले आवश्यक उचाइ कायम गर्न सक्दैन, विमानस्थल सुरू भएपछि बल्ल उचाइ घटाउनु पर्ने बाध्यताले भएको रन वे पनि पूर्ण रूपमा प्रयोग हुन पाएको छैन,’ उनले भने, ‘यो असाध्यै जोखिमको अवस्था हो।’
उनकाअनुसार तापक्रम बढ्दा यहाँको अवरोधसमेतका कारण विमानको यात्रु बोक्ने क्षमता ह्वात्तै घट्ने गरेको छ।
हाल १२०० मिटर लम्बाई रहेको रन वेलाई विस्तार गरी १७०० मिटर पुर्याउने तयारी रहेको उनले बताए। यसो गर्दा भरतपुरको चौबीसकोठीबाट रामपुरतर्फ जाने मुख्य सडक र सेनाको ब्यारेक तथा घोडा प्रजनन केन्द्र हट्नुपर्छ।
विमानस्थलको विस्तारका लागि भरतपुर महानगरपालिकाले पनि अग्रसरता लिँदै आएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अनुसार सेनाका संरचनालाई अन्यत्र सार्न तीन वटा विकल्प दिइएको छ।
दियालो बंगला दरबार रहेको नेपाल ट्रष्टको ३२ विघा, भरतपुर-१ ठिमुरास्थित नारायणी नदी किनारको ५८ विघा वा गणेशस्थान मन्दिर उत्तरतर्फ वन कार्यालयअन्तर्गतको जमिनमा सेनाका संरचना सार्न विकल्प दिइएको उनले बताइन्। सेनाले हाल ७२ विघा जमिन प्रयोग गर्दै आएको छ।
‘हामीले यस विषयमा नेपाली सेनासँग पटक-पटक छलफल गरेका छौं, रक्षा मन्त्री र पर्यटन मन्त्रीलाई सँगै राखेर पनि छलफल भएको छ। उहाँहरू सर्न तयार हुनुहुन्छ,’ दाहालले भनिन्, ‘सेनालाई आवश्यक जमिन उपलब्ध गराएर विमानस्थल विस्तार गर्नुपर्छ भन्नेमा सरोकारवाला सबै एकमत छौं।’
महानगरपालिकाकै प्रयासमा विमानस्थलको पूर्व र पश्चिम क्षेत्रमा नयाँ घर निर्माण र बनिसकेका संरचनाहरूलाई थप उचाइ दिनमा रोक लगाइएको छ। तर मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने काम भने सुरू भएको छैन।
‘पूर्वतर्फको सडकमा टाँगिएको विद्युतीय तारका कारण विमान अवरणमा समस्या देखिएपछि तारलाई अण्डरग्राउण्ड गरिएको छ,’ कुँवरले भने, ‘अबको मूख्य चुनौती भनेको अग्ला घर भत्काउने नै हो।’
विमानस्थलका कारण आफूहरू जाखिममा पर्नसक्ने भयमा स्थानीयहरू पनि रहेका कारण मापदण्डविपरीतका संरचना हटाउन असहज नहुने बुझाइ विमानस्थलको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले विमानस्थल विस्तारको विकल्प नभएको बताए।
‘अन्तर्राष्ट्रिय संस्थाहरूले चासोका साथ निगरानी गरिरहेको नेपालका केही विमानस्थलमा यो पनि पर्छ, यहाँका अवरोधका कारण उडानमा जोखिम रहेको भनेर उनीहरूले भनिरहेका छन्,’ मन्त्री भट्टराईले भने, ‘त्यसैले अहिलेको अवस्थालाई सुधारेर सुरक्षित बनाउनै पर्छ।’
उनले सुरूमा भरतपुरको विकल्प मेघौली विमानस्थल हुन्छ कि भनेर बुझ्दा निकुञ्ज, वन, सडक, डुबानलगायतका कारण सम्भव नदेखिएको बताए। मेघौलीमा सन् १९६६ मा विमानस्थल सञ्चालनमा आएको थियो। चितवन निकुञ्जभित्र रहेको होटल टाइगर टप्स बन्द भएसँगै उक्त विमानस्थल पनि बन्द भयो।
उनले विस्तार गर्नै पर्ने बाध्यताका कारण आफू मन्त्री भएको एक महिनामै कार्यदल बनाएर काम अघि बढाएको बताए।
‘अवरोध हटाएर विस्तार गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय निकायदेखि पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डसम्मको दबाब आएपछि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले यसलाई प्राथमिकता राखेको छ,’ उनले भने।
मन्त्री भट्टराईले गत वर्षको माघमा कार्यदलले बुझाएको प्रतिवेदनले दिएका सबै सुझाव कार्यान्वयन गरिने बताए।
‘सेनाको ब्यारेकको भएको केही स्थानमा सेनाको एयर बेस राख्नेगरी विमानस्थल विस्तार हुन्छ,’ उनले भने, ‘विमानस्थल पनि विस्तार गर्ने र वरपरका मान्छेले घर पनि अग्लो बनाउन पाउने भन्ने हुँदैन। अग्ला घरमा बस्न चाहने अन्यत्र जानुपर्छ, होइन भने विस्तार हुन सक्दैन।’
उनले प्रतिवेदनको सुझावअनुसार घरहरुको उचाइ घटाउने काम अब सुरू गर्नुपर्ने बताए।
नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थलसँग अब विस्तार गर्ने वा हट्ने दुई विकल्पमात्रै रहेको जनाएको छ।
भरतपुर प्राधिकरणका प्रमुख कुँवरले जोखिमपूर्ण संरचना हटाएर विस्तार नगर्ने हो भने चितवनबाट विमानस्थल नै हट्ने अवस्था आउनसक्ने बताए।
प्राधिकरणले भरतपुर विमानस्थल विस्तारका लागि विस्तृत प्राविधिक अध्ययन गरिसकेको छ। साथै यसको नयाँ डिजाइन पनि अन्तिम चरणमा पुगेको छ। अहिले विमानस्थलको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेका कारण अब महानगरले मापदण्डविपरीतका घर हटाउने काम सुरू गर्नुपर्ने प्राधिकरणले जनायो।
भरतपुर विमानस्थल भएर दैनिक ५०० यात्रुहरू ओहोरदोहोर गर्छन्। यहाँबाट काठमाडौं र पोखरा उडान हुने गरेको छ। बुद्ध एयरले ४७ सिट र यति एयरले २७ सिटको विमानमार्फत् उडान भर्दै आएका छन्।
रन वे विस्तार भए ७२ सिटसम्मका विमानले अवतरण गर्न सक्ने विमानस्थलका प्रमुख कुँवरले बताए।
‘विमानस्थल विस्तार भएपछि ठूला जहाज आउँछन्, एयरलाइन्सका बीचमा प्रतिष्पर्धा बढेर भाडा घट्दै जान्छ,’ कुँवर भन्छन्, ‘यसबाट बढी फाइदा लिने त स्थानीयले नै हो।’
अहिले भरतपुर–काठमाडौं उडानको भाडा २ हजार ८०० देखि ३ हजार ४०० सम्म पर्छ। विमानस्थल विस्तार भए विराटनगर, नेपालगञ्ज, भैरहवालगातका शहरमा पनि उडान हुनसक्ने कुँवरले बताए।