चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष अघि गैंडा मारेको अभियोगमा बिहीबार एक व्यक्तिलाई पक्राउ गरेको छ।
निकुञ्जभित्रको सिसुवाघाट पारी भालुटापु भन्ने स्थानमा २०६२ साल असारको दोश्रो साता गोली लागेर एक सिंगे गैंडा मरेको थियो।
उक्त गैंडा मार्न पुगेका अन्य तीन जना पक्राउ गरेर पनि छुटिसकेका छन् तर गैंडालाई गोली हान्ने मूख्य अभियुक्त सूर्य महतो नामले चिनिने सुरज चौधरी भने बल्ल पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार उनीविरुद्ध २०६२ सालको असोज १२ गते गैंडा तस्करीको मुद्दा दर्ता भएको थियो। २०६४ पुष २० गते मुद्दाको फैसला गर्दै उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिमाना तोकिएको थियो।
निकुञ्जले २०६२ सालबाटै फरार अभियुक्तको सूचीमा राखेर उनको खोजी गर्दै आएपनि पक्राउ गर्न सकेको थिएन।
निकुञ्ज प्रशासनले सूर्य महतो नामले चिनेको ती व्यक्ति भने यो अवधिमा सुरज चौधरी नामको राहदानीमार्फत दुई पटक कतार पुरेर फर्किएको भेटिएको छ।
‘हामीलाई उसको नाम नै सूर्य महतो हो भन्ने थियो, त्यहीअनुसार खोजी हुँदै थियो तर उसको बोलाउने नाम र वास्तविक नाम फरक रहेछ। हामी एउटा नामले खोज्न थाल्यौं ऊ वास्तविक नामबाटै कतार पुगेर फर्किएछ,’ अधिकारीले भने।
अधिकारीकाअनुसार १५ वर्षको अवधिमा चौधरी तीन ठाउँमा घर सरेका छन्। सुरुआतमा साविकको गुञ्जनगर गाविस–३ सिमारा भन्ने ठाउँमा घर भएका उनी कतारबाट पहिलो पटक फर्किएपछि सोही क्षेत्रको राइगञ्ज भन्ने स्थानमा सरेका थिए।
पुनः कतार पुगेर फर्किएपछि अचेल उनी पूर्वी चितवनको खुरखुरे भन्ने ठाउँमा बस्दै आएका थिए। उनी लकडाउन अघिमात्रै कतारबाट फर्किएका थिए।
चौधरी नेपाली सेनाका भगौडा हुन्। निकुञ्जमा गैंडा मार्न सकृय गिरोहले पटक–पटक असफलता हात परेपछि ‘शार्प सुटर’ खोजीको क्रममा चौधरीलाई भेटेको थियो।
‘उनीहरूले पटक–पटक गैंडा मार्न प्रयास गरे। एक पटक गोली लाग्यो तर गैंडा मरेन, अर्को पटक गोली गैंडालाई लागेनछ। त्यसपछि उनीहरू गैंडा मार्न शार्प सुटर नै चाहिने निष्कर्षका साथ खोजी गर्दा चौधरीलाई भेटेछन्,’ अधिकारीले भने, ‘चौधरीले पहिलो पटकमै गैंडालाई सही निसाना लगाएछन्।’
गिरोहका अन्यलाई पनि समान सजाय तोकिएकोमा पुनरावेदन अदालतमा पुनरावेदन गरेर १० वर्षमा छुटेको जानकारी पाएको उनले बताए।
‘उक्त गिरोहमा चौधरी र अन्य तीन जना फिल्डमै खटिएको र उनीहरूलाई धेरैले सहयोग गरेको भेटिएको थियो’, उनले भने।
बिहीबार पक्राउ परेका चौधरीलाई कारागार पठाउने तयारी भएको अधिकारीले बताए।
पछिल्ला दिनमा चितवन निकुञ्जमा गैंडा तस्करी हुनेक्रम बढ्न थालेपछि निकुञ्ज प्रशासन सकृय हुन थालेको छ।
‘विगतमा फरार भएका देखि अहिलेका घटनाका संभावित अभियुक्तहरूको सूची तयार पारेर खोजी भइरहेको छ,’ चिफ वार्डेन अणनाथ बरालले भने, ‘हामी भएका स्रोत, साधनहरूको भरपुर उपयोग गर्दै संरक्षण तथा तस्करको खोजीमा लागेका छौं।’
यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्ज भित्र १७ वटा एक सिंगे गैंडा मरेका छन्। ती मध्ये ४ वटालाई सिकारीले मारेको भेटिएको छ।
चितवनमा गैंडा मर्नेक्रम बढेपछि निकुञ्जमाथि थप सक्रिय बन्न दबाब परेको छ।
केही दिनअघि मात्रै संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति यस विषयमा बुझ्न चितवन आएको थियो।