घाइते तथा बिरामी वन्यजन्तुको उपचारका लागि नेपालमै पहिलोपटक वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ।
चितवनको सौराहामा शुक्रबार वन्यजन्तु अस्पतालको उद्घाटन गरिएको हो। उक्त अस्पताल निर्माण र सञ्चालनका लागि विगत छ वर्षदेखि तयारी सुरु भएको थियो।
अहिलेसम्म वन्यजन्तुलाई चोटपटक लाग्दा, बिरामी हुँदा उपचार गर्न सहज थिएन। पशुचिकित्सकहरू रहे तापनि उनीहरुलाई उपचारको काम गर्न असहज हुने गरेको थियो। अस्पताल सञ्चालनसँगै अब बिरामी, अशक्त,
घाइते वन्यजन्तुले समयमै उपचार पाउने विश्वास चितवन राष्ट्रिय निकुञ्जले लिएको छ।
दुई तल्लाको पक्की अस्पताल निर्माण गर्न ३ करोड ९० लाख ८४ हजार रुपैयाँ खर्च भएको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। अस्पतालका लागि आवश्यक पर्ने सबै उपकरणहरु उपलब्ध भएसँगै सञ्चालनमा ल्याइएको कोषले जनायो।
अस्पतालमा चारजना चिकित्सक र सातजना प्राविधिक बस्ने कोठा, ओपिडी, एक्स–रे कक्ष, प्रयोगशाला, अप्रेसन कक्ष, डिस्पेनसरी, पोर्टएवल एक्स रे, अल्ट्रा साउण्ड मेसिन, रगतको परीक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव, रसायन परीक्षण गर्ने मेसिन, माइक्रोस्कोपसहितको ल्याब उपकारण, ग्यासबाट लठ्याउने सुविधासहितको अप्रेशन कक्ष रहेको छ। चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अस्पतालले हात्ती, बाघ, गैंडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि ‘होल बडी’ परीक्षण गर्नेछ।
बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने निकुञ्जले जनायो। राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुगांनाले अस्पताल सञ्चालनसँगै संरक्षणमा नयाँ आयाम थपिने बताए।
उक्त अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली उद्धघाटन गरेका थिए।
सचिव ओलीले अस्पताल सञ्चालनमा आएसँगै वन्यजन्तुले उपचार नपाउने समस्याको अन्त्य भएको बताए। उनले उक्त अस्पताल सौराहामा आउने पर्यटकहरूका लागि आकर्षणको थप विषय पनि बन्ने विश्वास लिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक वेदकुमार ढकालले वन्यजन्तुका रोगहरूको विषयमा अनुसन्धान गर्ने केन्द्रका रुपमा पनि अस्पताललाई अगाडि बढाइने बताए।
यस अस्पतालको शिलान्यास २०७१ सालको फागुन २० गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन वनमन्त्री महेश आचार्यले गरेका थिए।